देशव्यापी मतगणनाको प्रारम्भिक रुझान

कांग्रेसको अग्रता सबैभन्दा बढी स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनपेक्षित मत

नारायण भण्डारी
Read Time = 10 mins

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । केही स्थानमा मतपरिणाम पनि सार्वजनिक भइसकेका छन् । अझै पनि धेरै स्थानमा मतगणना जारी छ भने केही स्थानमा गणनाको काम सुरु हुन सकेको छैन । मतगणनाको सुरुवाती रुझानले नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जित्ने संकेत गरेको छ । यसपटकको मतपरिणामले संसदीय अंकगणितमा नयाँ समीकरणको निर्माण हुने देखिएको छ । नयाँ पार्टीहरूमा जनताको आकर्षण र पुरानो पार्टीप्रतिको वितृष्णाबाट जनमत व्यापक उथलपुथल देखिएको छ । अनुमान गरेभन्दा निकै भिन्न किसिमको नतिजा आइरहेको छ । यसले गठबन्धन गरेका दल र एकल प्रतिस्पर्धामा रहेका पुराना दललाई आश्चर्यमा पारिदिएको छ ।

सोमबार राति ११ बजेसम्म देशभरका झण्डै १०० स्थानमा मतगणना सुरु भएको छ । यो समाचार पार्ने बेलासम्म प्रतिनिधिसभाको तीन स्थानको नतिजा समेत सार्वजनिक भइसकेको छ । जसमा मनाङ र मुस्ताङमा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने ललितपुर-२ मा एमालेले खाता खोल्न सफल भएको छ । अन्य कतिपय स्थानको मतगणना अन्तिम चरणमा पुग्न थालिसकेको छ भने केही ठाउँमा अत्यन्तै थोरै मतगणना मात्र गरिएको छ यसले नतिजा यहीँ नै हुन्छ भनेर ठोकुवा गर्न नसकिए पनि कांग्रेसको सबैभन्दा बढी नतिजा आउने संकेत बलियो देखिएको छ । पाँच दलीय गठबन्धनका विरुद्धमा अधिकांश ठाउँमा एक्लै चुनावमा उत्रिएको एमाले भने तुलनात्मक रूपमा कमजोर देखिएको छ । तर पनि कतिपय स्थानमा नयाँ दल स्वतन्त्र उम्मेदवारको प्रभावले चुनावी नतिजा अनुमानभन्दा निकै फरक देखिएको छ ।

खासगरी कांग्रेस र एमालेको प्रतिस्पर्धा भएका अधिकांश ठाउँमा एमाले उम्मेदवार पछि परेका छन् भने एकीकृत समाजवादी र माओवादी केन्द्रसँग प्रतिस्पर्धा गरेका आधाजसो ठाउँमा एमालेले अग्रता लिइरहेको छ । अर्कोतिर एमाले उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रबाट उठेका उम्मेदवारले केही ठाउँमा राम्रै टक्कर दिइरहेका छन् । यो समाचार तयार पार्ने बेलासम्मको विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत नेपाली कांग्रेसले ३७ स्थानमा अग्रता लिइरहेको छ भने दुई स्थानमा उसले जित हात पारिसकेको छ ।

त्यस्तै दोस्रोमा रहेको नेकपा एमालले २९ स्थानमा अग्रता कायम राख्दा एउटा सिट आफ्नो पक्षमा ल्याउन सफल भएको छ । यसैगरी माओवादी केन्द्रले १० स्थानमा अग्रता लिँदा नेकपा (एस) नौ स्थानमा अगाडि छ । यसैगरी अनपेक्षित रूपमा मत बटुल्न सफल देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आठ स्थानमा अग्रता देखाइरहेको छ । यीबाहेकका अन्य पार्टीहरू आठ स्थानमा अगाडि देखिएका छन् ।

मतपरिणामको सुरुवाती संकेत हेर्दा गठबन्धनबाट कांग्रेसलाई लाभ देखिए पनि खासगरी शहरी क्षेत्रमा माओवादी केन्द्र र नेकपा समाजवादीले त्यसको लाभ उठाउन नसकेको देखिएको छ । गठबन्धनका कारण नेकपा एमाले कांग्रेसभन्दा निकै पछाडि पर्ने संकेत अहिलेसम्मको मतपरिणामले देखाएको छ । अर्कोतर्फ मधेशमा सिके राउतको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले मधेशमा आफ्नो प्रभाव बढाएको देखिएको छ । त्यसको नकारात्मक असर लोसपा र जसपालाई परेको देखिन्छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म नौ हजार ७०६ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेकपा एमालेले आठ हजार ६१६ मत ल्याएको छ । तेस्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले ६ हजार ४१३ मत प्राप्त गरेको छ । चौथो स्थानमा माओवादी केन्द्र छ । माओवादी केन्द्रको तीन हजार ३०० मत छ । पाँचौ स्थानमा राष्ट्रय प्रजातन्त्र पार्टी छ । उसले तीन हजार २८७ मत ल्याएको छ । अन्य दलहरूले हजार मत कटाएका छैनन् । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सँगसँगै समानुपातिकतर्फ पनि मतगणना गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको थियो ।

प्रमुख दलका शीर्ष नेताहरू फराकिलो मतान्तरले अगाडि
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झण्डै १०० बढी स्थानको मतगणना जारी भइरहेको छ । यो समाचार तयार पार्दासम्म शीर्ष दलका शीर्ष नेताहरूको क्षेत्रमा पनि मतगणना भइरहेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा आफ्नो प्रतिस्पर्धीभन्दा झन्डै दोब्बर मतले अगाडि हुनुहुन्छ । उहाँलाई स्वतन्त्रका सागर ढकालले पछ्याइरहनुभएको छ । यसैगरी झापा क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले अग्रता लिनुभएको छ । झापा ५ बाट प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार ओलीले गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई भारी मतान्तरले पछि पार्नुभएको छ । गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्ड पनि फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ । उहाँले एमालेका अब्दुस मियाँलाई झण्डै चौगुणा मतान्तरले पछाडि पार्नुभएको छ । रौतहटबाट चुनावी प्रतिस्पर्धामा गरिरहनुभएका नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको पनि परिणाम अनुकुल हुने देखिएको छ ।

एमालेका पाँच पदाधिकारी पछाडि
प्रतिनिधिसभाको सुरुवाती परिणाम आइरहँदा नेकपा एमालेका पाँचजना पदाधिकारीहरु पछि परेका छन् । प्रारम्भिक मतगणनामा एमालेका ५ पदाधिकारीले आफ्नो पक्षमा नतिजा ल्याउन नसकेको देखिएको छ । पछिल्लो परिणामअनुसार काठमाडौं क्षेत्र नम्बर-५ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नेपाली कांग्रेसका प्रदीप पौडेलले पछि पार्नुभएको छ । त्यसैगरी एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि रूपन्देही क्षेत्र नम्बर २ मा पछि पर्नुभएको छ । उहाँलाई त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछि पार्नुभएको छ । इलाम क्षेत्र नम्बर-२ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि पछि पर्नुभएको छ । पूर्वसभामुख समेत रहेका उहाँलाई नेपाली कांग्रेसका डम्बर खड्काले सुरुबाटै पछि पार्नुभएको हो । उता दाङ क्षेत्र नम्बर २ मा पनि एमाले महासचिव शंकर पोखरेल पछि पर्नुभएको छ । दाङ-२ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले सुरुवातदेखि नै अग्रता लिँदै आउनुभएको हो । उता चितवन क्षेत्र नम्बर १ मा अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे पछि पर्नुभएको छ । त्यहाँ कांग्रेसका विश्व पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ठूलो मतान्तरले पछाडि पार्नुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?