✍️ ज्ञानप्रसाद भट्टराई
सिक्किम सरकारबारे सुनेका र पढेका कुराले एकपटक सिकिम पुग्ने इच्छा धेरैअगाडि देखिको थियो । समय बलवान हुन्छ । विद्यालयको वार्षिक कार्यतालिका अनुसार यस वर्ष सिक्किमको भ्रमणमा जाने कुरा शिक्षक साथीहरूबाट सुनेँ । खुशी लाग्यो । आफ्नो प्रतीक्षित इच्छा पूरा हुने, पढेका र सुनेका कुरालाई प्रत्यक्ष देख्न, भोग्न र छुन पाइने र मनका तृष्णा मेट्न पाइने इरादाले म खुसी थिएँ । मन र मस्तिष्कमा पोको परेका खुलदुलीलाई मेट्न २०७९ साल असोज २८ गते दिनको ३ बजे भक्तपुरलाई बाई बाई गर्दै हामी २३ जना शिक्षक सिकिमतर्फ हुइँकियौँ । साँगामा रहेको भगवान् शंकरको विशाल मूर्तिलाई बाँया र काभ्रेभङ्ञ्ज्याङमा रहेको मदन भण्डारीको सालिकलाई दायाँ पार्दै अगाडि बढ्यौँ ।
नेपालटार पुग्दा नपुग्दै झमक्क साँझ पर्यो । हाम्रो यात्रा गाडीभित्र मात्र रहृयो । बिहान ५ बजे काँकडभिटा पुग्यौँ । रोटी तरकारीसहितको हल्का नास्तापछि तीनवटा गाडीमा हामी मेची नदी पार गर्दै सिकिमतर्फ लाग्यौँ । ड्राइभर राजवंशी रहेछन् । नेपाली भाषा राम्रो जान्ने । हाम्रा लागि भने यो यात्रा नौलो थियो । गाडी चालकले बाटोमा पर्ने नयाँ ठाउँको नाम र त्यहाँका विशेषता बताउँदै गए । बाटामा शहरका बीचमा उभिएका रूखमा नम्बर लागेका थिए । यहाँ रूख काट्न नपाइने रहेछ । यसले शहरलाई सधैँ हरियाली र स्वच्छ वातावरण दिएको छ । वातावरण संरक्षणमा यहाँको सरकार सचेत रहेछ । दर्बिलो कानुन । म भक्तपुरसँग मनमनै तुलना गर्दैथिएँ ।
केही घण्टाको यात्रापछि मेरो नजर एउटा ठूलो नदीमा पर्यो चालकले भने ‘यो टिष्टा नदी हो’ । मलाई याद आयो गाउँछ गीत नेपाली गीतको अंश ‘पूर्वमा टिष्टा पुुगेथ्यौँ’ । सुगौली सन्धिपूर्वको हाम्रो टिष्टा नदी अहिलेको मेची र महाकाली जस्तै । हामी टिष्टालाई आफ्नै नदी सम्झी किनारै किनार अधि बढ्यौँ । नदीले आफ्नै सम्झी हामीलाई शीतलता दिइरहेको थियो । टिष्टा नदीको किनारमा सानो तार्कुला बजार रहेछ । हामीले बिहानको खाना त्यही खायौँ । होटेलवालाले खाना तयार भयो भने, अर्कोले बस्नुस् भने । अचम्म लाग्यो नेपाली भाषामा बोले । सोधेँ, सबैको बोल्ने भाषा नेपाली रहेछ ।
मनमा टिष्टाप्रति माया जाग्यो, धुलो टिपेर शिरमा लगाऔँ जस्तो लाग्यो । वीर नेपालीको सम्झना आयो । मेरो शिर झुक्यो, वीर योद्धाप्रति । पीडा भयो टिष्टा छोड्नु परेकोमा । छोड्नुपर्दाको पीडा मलाई भन्दा ती वीरलाई भयो होला जसको रगत त्यहाँसम्म बगेका थियो ।
गर्व लाग्यो नेपाली हुनुमा । भात दिनुस् भनेँ खाना थपी थपी खाएँ । खाना झन् मिठो भयो । नेपालमै खाए जस्तै । केही समयको यात्रापछि चालकले दोभानलाई देखाउँदै भने यही हो टिष्टा । एकोहोरो हेरिरहेँ । मनमा टिष्टाप्रति माया जाग्यो, धुलो टिपेर शिरमा लगाऔँ जस्तो लाग्यो । वीर नेपालीको सम्झना आयो । मेरो शिर झुक्यो, वीर योद्धाप्रति । पीडा भयो टिष्टा छोड्नु परेकोमा । छोड्नुपर्दाको पीडा मलाईभन्दा ती वीरलाई भयो होला जसको रगत त्यहाँसम्म बगेका थियो । एकपटक पुनः नमन गरेँ टिष्टालाई, कैद गरेँ मनमा, कहिल्यै नमेटिने गरी । यात्रा पुनः निरन्तर अगाडि बढिरहृयो ।
अग्ला अग्ला पहाडको बीचबाट, नदी किनारै किनार । रम्पु चेकपोष्ट पुग्यौँ । यो एउटा सानो सुन्दर बजार, केही अग्ला भवन, नदीको किनारमा अवस्थित । यात्रा अगाडि बढ्यो, गाडीको तीव्र गतिसँगै । मैले कहिले मोबाइलबाट त कहिले आँखाबाटै भएपनि रोड किनाराका ससाना बस्तीलाई कैद गर्दैरहेँ । ठाडो भीर अनकन्टार जंगल, बीचमा ठिंग उभिएका घर ।
लहराले ढपक्कै ढाकिएका । बेहुलीले घुम्टो हालेजस्तै । कतिपय घर त करेसाबारीविहीन देखिन्थे । त्यहाँ प्रकृतिको संरक्षण गर्दै, प्रकृतिमा रमाउँदै बाँचेको जीवनको अनुभूति भयो । सबैमा खुशी छाएको । हामी बेलुका ५ बजे गान्तोक पुग्यौँ । बसपार्कभित्र पस्यौँ । आँखाले गान्तोक बजार देख्यो, सबै देखेन । साँझ झमक्क परिहाल्यो । बेलुका स्टार लिग होटेलमा बस्यौँ । अघिल्लो रातभरि र दिनभरिको यात्राले सबै थाकेका थियौँ, सबै निन्द्रादेवीको बसमा परिहाल्यौँ । बिहान उठेपछि थाहा पाएँ होटेल मालिक पनि नेपाली नै रहेछन् । यसले आत्मीयता बढायो । एक त म हिन्दी बोल्न त्यति नरुचाउने व्यक्ति । बिहान हामी शहरको परिक्रमामा निस्कियौँ ।
पहाडको बीचमा रहेको प्राचीन शहर । साँघुरा बाटा भए पनि कतै जाम थिएन । महात्मा गान्धी रोड पुग्यौँ । प्रवेशद्वारमा नै महात्मागान्धीको पूर्णकदको सालिक रहेछ । आत्माबाटै नमन गरेँ । गान्धीको सालिक र पढेको गान्धीवादलाई जोडेँ । गान्धीवाद जीवन दर्शन । काठमाडौंमा घरबाट निस्किने बित्तिकैदेखि जाममा पर्ने गरेको म । जाम नदेख्दा पनि अनौठो लाग्यो । सडकमा कहीँ फोहोरको थुप्रो, चुरोटबिँडीका ठुटा, प्लाष्टिकका टुक्रासम्म देखिएनन् । सडकमा कहीँ मासुका पसल र भट्टी पसल भेटिएनन् । सडकमा गन्ध आएन । नाकलाई अनौठो लाग्यो गन्ध सुग्न नपाएर ।
काठमाडौंमा सगरमाथा जस्ता अग्ला फोहोरका थुप्रा देखेको मान्छे, प्लाष्टिकमा चिप्लिएर लडेको मान्छे, सडकभरि मासु पसल र भट्टी पसल देखेको मान्छे तर त्यहाँ केही नदेख्दा अचम्मै लाग्नु स्वाभाविकै हो । किनकि त्यो सिक्किम यो नेपाल । चेतनामा फरक । गरे के हुँदोरहेनछ र ? भन्ने शिक्षा पाएँ, पायौँ । त्यहाँ जनतामा चेतनाको स्तर उच्च रहेछ । त्यहाँ आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारमा ठोस पुग्नु हुँदैन भन्ने मान्यताको विकास भएको रहेछ । सबै जातिको साझा फूलबारी सिकिम । अधिकांशको मातृभाषा नेपाली । सरकारी कामकाजको भाषा नेपाली पनि रहेछ ।
विद्यालयमा नेपाली भाषाको अध्ययन अध्पापन हुँदोरहेछ । दशैँ, तिहार साझा चाडपर्व रहेछन् । सिकिम र नेपालबीचको काँडेतार भनेको १८७२ को सुगौली सन्धि रहेछ । विसं १८७२ को सुगौली सन्धिले मात्र हामीलाई छुट्यायो, टक्र्यायो तर एउटै भाषा र एउटै सामाजिक रहनसहनले हाम्रा मनहरूलाई झनै कसिलोसँग कस्दै लगेको रहेछ । सिकिमको अधिकांश भूभाग पहाडै पहाडले ढाकिएको रहेछ । फाँट र मैदान देखेनौँ । पहाडहरू शिरमा रहेको हिमाललाई भेट्न ठडिएका छन् । प्रकृतिको सुन्दरता नबिग्रिने गरी मानव बस्ती बसेको छ । गान्तोकले शिरमा गणेश र हनुमानलाई राखेको छ । टावरको नजिकै रहेको बुद्धको विशाल गुम्बाले हजारौँ तिर्थयात्रीको ध्यान तानेको देखिन्छ ।
काठमाडौंमा सगरमाथा जस्ता अग्ला फोहोरका थुप्रा देखेको मान्छे, प्लाष्टिकमा चिप्लिएर लडेको मान्छे, सडकभरि मासु पसल र भट्टी पसल देखेको मान्छे तर त्यहाँ केही नदेख्दा अचम्मै लाग्नु स्वाभाविकै हो । किनकि त्यो सिक्किम यो नेपाल । चेतनामा फरक ।
गान्तोकको मध्यभागबाट झरेका झर्नाले थप सौन्दर्यता र शीतलता प्रदान गरेको छ । छोटो बसाइमा गान्तोकलाई चिन्न सक्ने कुरा त नै भएन । सरसर्ती रूपमा घुम्दा भेटेका विद्यार्थी, सर्वसाधारण व्यक्तिसँगको कुराकानीबाट केही कुरा जानकारी लिएँ । धेरै कुरा देखेर, अनुमान गरेर थाहा पाएँ । सरकार जनताप्रति उत्तरदायी रहेछ । सरकारले एक परिवार एक रोजगारको सुनिश्चितता गरेको रहेछ । प्रतिव्यक्ति ५ केजी चामल दिने, कक्षा आठसम्म पूर्णनिःशुल्क शिक्षा, स्वास्थ्य उपचारमा सरकारको पूर्णसहयोग गरेको रहेछ र यो जनताको हकका रूपमा तिनले प्राप्त गरेका रहेछन् ।
संस्कृतिको संरक्षणमा सरकार नै लागिपरेको छ । चारधाम यसैको उदाहरण हो । सिक्किमभित्र सिक्किमको नागरिकले मात्र जग्गा किन्न पाउने व्यवस्था हाम्रा लागि अनौठो लाग्यो । सिक्किम बजार सधैँ पाउनाहरूले खचाखच भरिँदो रहेछ । वास्तवमा पर्यटन नै यहाँको विकासको आधार रहेछ । दुई दिनको सिक्किमको भ्रमणबाट हामीले केही कुरा सिक्यौँ । सरकार कस्तो हुनुपर्नेरहेछ त्यो पनि बुझ्यौँ तर हाम्रो बुझाइको अर्थ रहँदैन । राष्ट्रको सम्पत्ति लिएर विदेशमा सयर गर्ने राजनीतिक नेता, मन्त्री र कर्मचारीले यो कुरा बुझ्न आवश्यक हुन्छ । सिक्न युरोप र अमेरिका होइन सिक्किमकै कुरा सिकेर नेपालमा लागू गरे पनि नेपाल स्वर्ग बन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका