Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

कथा : गोक्ते कान्छो

हिमालय टाइम्स
Read Time = 18 mins
A A- A+

✍️ राजेश अधिकारी

‘ए गाँठे ! यो गोक्ते त घोडा जस्तै उभिएरै पो उँघ्न थालेछ त !’ घाँसे मचानमा बसेर गाईगोठको खाँबोमा टाउको अड्याई भाते निद्रामा परेको कान्छोको गालामा प्याट्ट पार्दै गाउँघरको बिहेमा खाँडो जगाउन र सिलोक भन्न खप्पिस पल्लाघरे सिलोके बाजे उसलाई अर्धनिद्राबाट उठाउँछन् । त्यति नै खेर पुच्छर हल्लाइरहेको छेवैको गाईले गहुँतगोबर लत्पतिएको पुच्छरले बाजेको गालामा झ्याम्म हान्छ । बाजेको जिस्क्याइले तन्द्रा टुटेको कान्छो उनको हाँस उठ्दो हुलिया देखेर खुच्चिङ खुच्चिङ गर्दै खितिती हाँस्न थाल्छ । आफ्नो हरिबिजोकमा कान्छो हाँसेको देखेर ‘गोक्ते मोरा ! जिस्क्याउँछस् म बुढालाई ?’ भन्दै दौराको फेरोले गालाको गोबर पुस्दै कान्छालाई लखेट्न थाल्छन् ।

बाजे र कान्छाको मुसोबिरालो खेल देखेर घुरेनको सागगोडिरहेकी वल्लाघरे भुन्टी बज्यै पनि मुर्छा परुन्जेल हाँस्छिन् । उनीहरूको भागदौड बारीको तोरीबारी हुँदै पँधेरोसम्म पुग्छ । यो चोरपुलिस जस्तो खेल देखेर पधेर्नीहरू पनि गलल हाँस्छन् । भागदौडमा कान्छो अम्रिसाको बुटामा अल्झिएर कान्लामुनि डंगै लड्छ । बाजेको रिस कान्छो खदारिएर घुँडा पिल्सिई रक्ताम्मे भएको दृश्य देखेपछि मात्र साम्य हुन पुग्छ । कान्छाको दुर्दशा देखेर बाजेले खुइय गर्दै उसको रगत बहिरहेको घुँडामा तितेपातीको झोल दली ओखतीमुलो गर्छन् ।

घरमा गोक्ते कान्छाको औकात गोठालोसरह हुन्छ । नियतिको खेलले खातेपिते परिवारको सदस्य कान्छोलाई लाउनेखाने उमेरमा घाँसदाउरा र गाईवस्तु चराउनु पर्ने बाध्यताबाट गुज्रिरहेको हुन्छ । आमाबाट अटुट माया पाए पनि कान्छाले बाबुबाट अरू पढालेखा छोराहरूसरह माया पाएको हुँदैन ।

साँझपख खुट्टा खोल्च्याङ खोल्च्याङ गर्दै कान्छो गाईगोठै छेउको आफ्नो घर आइपुग्छ । उसलाई देखेर गाईवस्तुहरू ड्वाँ ड्वाँ गर्छन् । कान्छालाई देख्नेबित्तिकै पिंढीमा बसी हुक्का तानिरहेका उसका बाबु डिठ्ठा भुत्भुताउँदै मुर्मुरिन थाल्छन् ‘खोलेभकारा गर्न छोडेर यत्रो बेर कहाँ मुन्टेको थिइस हँ गोक्ते ?’ गाँठी कुरै नबुझी बाबुले आपूmमाथि हप्कीदप्की गरेको देखेर आँखाभरि आँसु टल्पल पार्दै कान्छो घरभित्र छिर्छ । उता छोराको आँसु देखेर पनि हेपाहा प्रवृत्तिका जुँगामुठे पोइका डरले मौन बस्न बाध्य दमरोगी डिठ्ठिनी भित्रभित्रै कुँडिन्छिन् ।

पञ्चायतकालमा डिठ्ठा भएर गाउँमा हैकम जमाएर बसेक षडानन्दलाई सबै डिठ्ठाको उपनामले चिन्दछन् । जसतसलाई मान्छे नगन्ने अहमी डिठ्ठाका तीन छोरामध्ये जेठो छोरो अमेरिकामा डाक्टरी गर्छ भने माहिलो बेलायतमा इन्जिनियर छ र उतै कुहिरेनीसँग घरजम गरेर बसेको छ । लट्यांग्रो कान्छो डिठ्ठाको अन्तिम सन्तान हुन्छ जसको बोलीब्यवहारमा गोक्तेपन झल्किने भएकाले उसलाई चिनेजानेकाहरू गोक्ते कान्छो भनेर बोलाउने गर्दछन् । पढाइमा कमजोर र तोते बोली भएको कान्छो दाजुहरू झैँ इलम गर्न सक्दैन । फलस्वरूप ऊ परिवारमा अवहेलित हुन पुग्छ ।

घरमा उसको औकात गोठालोसरह हुन्छ । नियतिको खेलले खातेपिते परिवारको सदस्य कान्छोलाई लाउनेखाने उमेरमा घाँसदाउरा र गाईवस्तु चराउनुपर्ने बाध्यताबाट गुज्रिनुपर्ने बनाउँछ । पतिपीडित आमाबाट अटुट माया पाए पनि कान्छाले आफ्नै बाबुबाट अरू पढालेखा छोराहरूसरह माया पाएको हुँदैन । एक दिन डिठ्ठा मुद्दाको तारेख खेप्न घोडा चढेर शहरतिर जान्छन् र त्यो रात उतै बस्छन् । त्यही ठिहिलो रात कान्छालाई निद्रामा ऐंठन हुन्छ र ऊ अर्धनिद्रामै कहालिएर चिच्याउँछ । छोरो एक्कासि चिच्याएको सुनेर अर्को कोठामा पल्टेर चुरको सर्को तान्दै ख्याङख्याङ खोकिरहेकी डिठ्ठिनी कान्छाको कोठामा आउँछिन् र उसलाई झक्झकाउँछिन् । तन्द्रामै असिनपसिन भएको कान्छो बलिन्द्र आँसुको धारा बहाउँदै आमाको छातीमा टाँसिएर सुक्सुकाउँन थाल्छ । छोरो रोएको देखेर उसकी ममतामयी आमा पनि भावबिहृवल हुँदै रुन्छिन् । चिसो मध्यरातमा तड्पी तड्पी रोइरहेको कान्छो आमाको न्यानो काखमा भुसुक्कै निदाउँछ र छोराको बिहृवलता देखेर भक्कानिएकी आमा उसको टाउको मुसार्दै उग्न थाल्छिन् ।

कान्छाका विदेशवासी दाजुहरू सपरिवार दशैँ मान्न गाउँ आउँछन् । खाइलाग्दा नातिनातिना, विदेशी बुहारी र ठूलाठूला बाकस लिएर जन्मघर आएका छोराहरू देखेर डिठ्ठाडिठ्ठिनी गर्वले फुल्छन् । उनीहरूलाई हेर्न आँगनमा गाउँलेहरूको भीड लाग्छ । लामो अन्तरालपछि दाजुहरूलाई देखेर प्रफुल्ल भएको कान्छो उनीहरूका सरसामान घरभित्र थन्क्याउन थाल्छ । टाउकामा भारी बाकस बोकेको कान्छो अचानक ठेस लागेर भुइँमा लड्छ । बाकस उछिट्टिएर पहिलो पटक पतिघर आएकी विदेशी भाउजूको खुट्टामा बज्रिन्छ । ‘रास्कल, वाट एन इडियट सर्भेन्ट’ बाकसले लागेर दुखेको खुट्टा सुम्सुम्याउँदै घरको नोकर झैँ देखिने अपरिचित देवरलाई अंग्रेजीमा हर्कार्दै कुहिरेनी पड्किन थाल्छिन् ।

‘थुक्क भातमारा ! एउटा काम पनि ठीकसँग गर्न सक्दैनस् गोक्ते ! ? ‘यो घटना देखिरहेका डिठ्ठा गालीगलौज गर्दै कान्छोको गालामा चड्कन हान्छन् । ग्वाँजे भाइमाथि भएको जुलुम देखेर पनि उसका दाजुहरू उसको बचाउ गर्नुको साटो ऊमाथि नै खनिन्छन् । आफ्नो छोरोमाथि भएको अत्याचार देखेर डिठ्ठिनीका आँखा रसाउँछन् । आफन्तहरूद्वारा अवहेलित भएर बिहृवल भएको निर्धो कान्छो घुँक्क घुँक्क गर्दै गाईगोठमा गएर रुन थाल्छ । कान्छाको पीडामा उसकी आमा र एकाध छिमेकीबाहेक उपस्थित कसैको पनि करुणा भेटिँदैन ।

चाडबाड सकिएसँगै डिठ्ठाका परदेशी छोराहरू सपरिवार विदेश फर्कन्छन् । एकदिन बार्दलीमा बसेर अखबार पढिरहेका डिठ्ठा अचानक मुर्छा पर्छन् र त्यहीँ ढल्छन् । ‘बा ! ते भो तिमीलाई ? उथ उथ’ बा लडेको देखेर रोइरहेको लट्याङ्ग्रो कान्छो बाबुलाई झक्झकाउँछ । कान्छो कराएको सुनेर डिठ्ठिनी हस्याङफस्याङ गर्दै बार्दलीमा आउँछिन् र श्रीमान्को हालत देखेर चिच्याउँछिन्, ‘गुहार गुहार ! लौ न नि के भो मेरा बुढोलाई ?’ कोलाहल सुनेर गाउँलेहरू डिठ्ठाको घरमा भेला हुन्छन् । गाउँलेहरूको सहायतामा बिरामीलाई शहरको अस्पातलमा लगेर भर्ना गरिन्छ । डाक्टरी जाँचपछि डिठ्ठाका दुवै मृगौला बेकामे भएको पत्ता लाग्छ ।

‘तेरा बा अस्पतालाँ भर्ना भाछन् । मुख हेर्ने भा चाँडै घर आएस् है ठुले’ कुरुवा बसेका सिलोके बाजे समुद्रपारि बस्ने जेठो डिठ्ठापुत्रलाई फोनद्वारा बिरामीको नाजुक स्वास्थ्यअवस्थाबारे जानकारी दिन्छन् । ‘अहिले जागिरमा छुट्टी नै मिल्दैन । सो आई कान्ट कम होम रिसेन्ट्ली । बरू म उपचारका लागि खर्चबर्च पठाइदिउँला ।’ उताबाट अंग्रेजी मिसिएको आवाजमा उत्तर आउँछ । ‘तेरा बा सिकिस्त छन् । चाँडै घर आइज छोरा ।’ रुँदै डिठ्ठिनी माइला छोरासँग फोनमा कुरा गर्छिन् । माइला छोराबाट पनि कार्यव्यस्तताले गर्दा तत्काल घर आउन नसक्ने उत्तर आउँछ । आफ्नै छोराहरूबाट यस्ता गैरजिम्मेवार उत्तर सुनेर आमाको मन भाँचिन्छ र उनीलाई आफूमाथि बज्रपात भएको महसुस हुन्छ ।

डिठ्ठा अस्पताल बसेको पनि महिना दिन बित्छ । रोगले च्यापेर बीसको उन्नाइस नभएका डिठ्ठा जीवनमरणको दोसाँधमा उभिरहेका हुन्छन् । बिरामीको सेवामा अहोरात्र खटिरहेका आमाछोरा बिगतमा उनीद्वारा दिइएका पीडाहरू बिर्सेंर ईश्वरसँग उनको जीवन रक्षाका लागि प्रार्थना गर्छन् । ‘आमा ! तपाईंको श्रीमान्को एउटा मृगौला प्रत्यारोपण गर्नैपर्छ । जतिसक्दो चाँडो अपरेसन खर्च र मृगौलादाताको व्यवस्था गर्नुस् अन्यथा हामी उहाँलाई बचाउन असमर्थ हुनेछौँ । ‘बिरामी बुढाको पाउ मिच्दै झोक्राइरहेकी डिठ्ठिनीलाई उपचारमा संलग्न एउटा ठिटौले डाक्टर आएर भन्छ । डाक्टरका कुरा सुनेर डिठ्ठिनी बिचलित हुन पुग्छिन् ।

गैरीखेत बन्दकी राखेर ल्याएको लाखौं रुपैयाँ पनि डिठ्ठाको उपचारमै सकिन्छ । एकातिर खर्चबर्च कसरी जुटाउने भन्ने चिन्ता भने अर्कोतिर मृगौलादाता फेला पर्ला कि नपर्ला भन्ने भयले डिठ्ठिनी साह्रै चिन्तित हुन्छिन् । यस्तैखाले पिरोलोहरू पोख्न उनीले छोराहरूलाई फोन गर्छिन् । आमाको कुरालाई जेठो खासै वास्ता गर्दैन । त्यस्तै माइलो पनि पन्छिन खोज्छ । स्वार्थी छोराहरूको कृतघ्नता र बिवश बुढाको रुग्ण अनुहार देखेर डिठ्ठिनी पिल्पिलाउन थाल्छिन् । ‘नलोऊ आमा ! म थु नि मेलो बालाई मृदौला दिने ।’ भाबुक कान्छो आमालाई सान्त्वना दिन्छ । कान्छोको कुरा सुनेर सबैजना चकित हुन्छन् । डाक्टर ‘उच्च विचार’ भन्दै उसलाई धाप मार्छन् । डिठ्ठिनीको मुहारमा पनि आशाका लहरहरू दौडिन्छन् । जाँचपड्तालपछि कान्छाको मृगौला उसका बाबुकोमा प्रत्यारोपण गर्न योग्य ठहरिन्छ ।

अपरेसनका लागि छिमेकीहरू गाउँमा रिनपान खोजी खर्चबर्चको जोहो गरिदिन्छन् । छोराको अंग बाबुकोमा प्रत्यारोपण गरिसकेपछि बेहोस् हालतका दुवैलाई सघन उपचार कक्षमा राखिन्छ । यस्तो गम्भीर हालतमा डिठ्ठाका पुगिसरी आएका छोराहरू परिवारलाई सहयोग गर्न त परै जाओस् फोनसम्म पनि गर्दैनन् । एकातिर अस्पातलकै ध्यान आफूतिर तान्न सफल डिठ्ठाको होस् अपरेसन गरेको चौबीस घण्टापछि खुल्छ तर अर्कोतिर हप्तादिन बितिसक्दा पनि कान्छाको होस खुल्दैन । डाक्टरहरूले कान्छोलाई होसमा ल्याउन अथक प्रयास गर्छन् तर उनीहरूको प्रयास निरर्थक बन्छ र अन्तत कान्छो कोमामा जान्छ । यता नयाँ जीवन पाएका डिठ्ठा बिसेक हुन्छन् र अस्पातलले उनीलाई डिस्चार्ज गर्छ र उनी कुरुवा पत्नी र बेहोस् छोरालाई अस्पातलमै छोडी शहरकै एकजना आफन्तकोमा बस्न जान्छन् ।

अस्पताल प्रशासनले डिठ्ठिनीलाई मनोचिकित्सा वार्डमा भर्ना गर्छ भने कान्छाको लासलाई नजिकैको घाटमा दाहसंस्कार गर्ने निर्णय गर्छ । अभागीको अन्त्येष्टिमा न कोही आफन्त उपस्थित हुन्छन् न दागबत्ती दिन कोही परिवारका सदस्य आउँछन् ।

‘क्षमा गर्नुस् आमा । अब तपाईंको छोरो यो संसारमा छैन ।’ भेन्टिलेटरबाट झिकेर कान्छाको लासलाई स्ट्रेचरमा राखी कपडाले छोप्दै गरेकी एउटी नर्स दुःखी हुँदै डिठ्ठिनीलाई जानकारी दिन्छे । लासको छोपिएको अनुहार उघारेर आमालाई छोराको अन्तिम दर्शन गराइन्छ । ‘मेरो गोक्ते ! मलाई छोडेर नजा । बरु मलाई पनि तँसँगै लैजा ।’ लासलाई ग्वाम्लाङ्ग अँगालो हालेर डिठ्ठिनी चिच्याउँदै रुन्छिन् र मुर्छा परेर भुइँमा लड्छिन् । मुर्छित डिठ्ठिनीलाई तत्काल आकस्मिक कक्षमा लगिन्छ र गोक्तेको लासलाई मुर्दाघरमा राखिन्छ । एकातिर मुर्छाबाट बौरिएकी विक्षिप्त डिठ्ठिनी पागल झैँ कृयाकलाप गर्न थाल्छिन् भने अर्कातिर मरेको तीनदिन बितिसक्दा पनि कान्छाको मृतदेह बुझ्न उसका कोही पनि आफन्त आउँदैनन् ।

अस्पताल प्रशासनले डिठ्ठिनीलाई मनोचिकित्सा वार्डमा भर्ना गर्छ भने कान्छाको लासलाई नजिकैको घाटमा दाहसंस्कार गर्ने निर्णय गर्छ । अभागीको अन्त्येष्टिमा न कोही आफन्त उपस्थित हुन्छन् न दागबत्ती दिन कोही परिवारका सदस्य आउँछन् । फगत घाटमा दुई जना र अस्पातलका दुई जना कर्मचारीद्वारा साँझपख गोक्ते कान्छोको अन्त्येष्टि गरिन्छ । लास चितामाथि चटट गर्दै जल्न थाल्छ । चितामा आगोको मुस्लो दन्किन्छ । कालो धुँवा अट्टहास गर्दै आकाशतिर नाच्न थाल्छ । झमक्कै साँझ पर्छ । सिमसिम पानी पर्छ । नजिकैको बनमा स्याल र हुँडारहरू कराउन थाल्छन् । आकाशमा गिद्दहरू कावा खेल्न थाल्छन् । पोडेहरू जल्दाजल्दैको लास छोडेर घरतिर लाग्छन् । एकछिनमा चिताको आगो शान्त हुन्छ । आफू मरेर बाबुको ज्यान बचाउन सफल अवहेलित गोक्ते कान्छोको लास खरानी भएर सकिन्छ । इति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?