मतगणनाका प्रारम्भिक संकेतहरू

आमनिर्वाचन २०७९ समाप्त भएको छ । अस्तिसम्मको कौतुहल अब भिन्न कौतुहलतामा परिणत भएको छ । जनतामा जागृत भएको पुराना राजनीतिक दलप्रतिको वितृष्णा र त्यसबाट पैदा भएको विद्रोहको विष्फोट उनीहरूबाट मतदानप्रति देखाइएको उदासीनतामा पुगेर समाप्त भएको छ । यसपूर्वका निर्वाचनमा कतै कतै ९० प्रतिशत र सालाखाला ७० प्रतिशतभन्दा माथि नै मतदान हुँदै आएकोमा यसपटक सम्पन्न निर्वाचनमा त्यो प्रतिशत निकै तल झरेको छ । गत स्थानीय निकायको निर्वाचनमै पहिलेको भन्दा कम मतदान भएको थियो । हुन त मतदान गर्ने उमेरका युवायुवतीको ठूलो संख्या नेपालबाहिर भएकाले यस्तो हो भन्ने गरिएको छ तर त्यतिले मात्र यति कम मतदान भएको हुन सक्दैन । मतदाताहरूको मतदानप्रतिको उदासीनता यसको कारक हुनसक्छ ।

नेपालमै भएकाहरूबाट मतदानको पँहुच हुँदाहुँदै पनि मतदान भएको छैन । केही यस्ता घटनाहरू पहिले पनि देखिन्थे । २०४८ सालको आमनिर्वाचनमा तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आफैँले नियुक्ति गरेको सार्वजनिक पद धारण गरेको व्यक्ति मतदान गर्न नगएको र पछि प्रधानमन्त्री भट्टराईले उसलाई यो कुरा सम्झाएको सन्दर्भ त्यसबेला निकै चर्चामा आएको थियो । यस्ता सन्दर्भ व्यक्तिगत कारण हुन सक्छन् तर विस्तारै निर्वाचनप्रतिको मोहभंग हुने क्रम बढिरहेको छ । बीचको सशस्त्र विद्रोहको कारण संसदीय प्रणालीमा हुने आवधिक निर्वाचन एक दशक जति प्रभावित हुनपुग्यो । त्यसपछि मओवादी शान्ति प्रक्रियामा आए पनि दुई पटक संविधानसभाको र यसपालिसमेत दुई पटक संघीय संसद्को र प्रदेशसभाको निर्वाचन भएका छन् ।

गत स्थानीय निकायको निर्वाचनमा केही ठाउँका स्वतन्त्र उम्मेदवारहरू विजयी भएका कारण जनताले केही नयाँपन खोजेको हो कि जस्तो देखिनपुग्यो । यसपटकको निर्वाचनमा पनि कम मत खस्नु, केही मतदाताले प्रदेशको र समानुपातिकको मतपत्रमा मतदान नगर्नु, नयाँ र स्वतन्त्रप्रति आकर्षण देखाउनुले पुराना परम्परागत पार्टी जो २०४८ सालदेखि यो ३१ वर्षसम्म नेपाली राजनीतिको मूल प्रवाहमा रहेका छन् तीप्रति वितृष्णा व्यक्त गरेका हुन् कि जस्तो देखिएको छ । यो परिदृश्य मतदानका समयमा देशैभरि नै देखिन पुग्यो । अब त परिणाम पनि आउन थालेको छ । ठूला पार्टीहरूप्रति जनताको असन्तुष्टि देखिएको भए पनि तिनको विकल्प नदेखेर तिनैलाई मतदान गर्नुपर्ने बाध्यता जनतामा देखियो । ठूला दलका विकल्पमा आएका केही नयाँ दल र स्वतन्त्रहरूलाई पनि भरोसा गर्न जनताले सकेनन् ।

जसले गर्दा मतदानस्थलमा पुगेका मतदाताले तिनै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र वा एकीकृत समाजवादीको गठबन्धनको भागबण्डामा परेका निर्वाचन चिहृनमा मतदान गरेर फर्किए । पछिल्लो प्राप्त मतगणनाले यस्तै संकेत गरेको छ । केही स्थानको मत परिणाम आइसकेको छ भने केही ठाउँमा गणना अन्तिम चरणतर्फ पुगेको छ । यी परिणमलाई हेर्दा अग्रपंक्तिमा पुरानै दल रहेका छन् । केही ठाउँमा स्वतन्त्र र नयाँ दलहरूले राम्रै उपस्थिति देखाएका छन् तर तिनले धेरै ठाउँमा विजय हासिल गर्न सक्ने अवस्था छैन । यस अर्थमा फेरि नेपाली कांग्रेस एमालेलगायत पुरानै दलहरू नेपालका स्थापित राजनीतिक शक्तिका रूपमा अझै केही कार्यकाल रहन सक्ने देखिन आयो ।

कतिपय स्थानहरूमा नेपालका ठूला पार्टीहरूबाट फुटेर गएका र कोही स्वतन्त्र रूपमा र कोही विभिन्न नामका पार्टी खोलेर निर्वाचनमा होमिएकाहरूले अग्रता लिएका र केहीले अग्रता लिन नसके पनि आफ्ना पक्षमा राम्रै मतसंख्या हात पारिरहेका छन् । यसबाट यदि ती पार्टी वा व्यक्ति मूलधारमै रहिरहेका थिए भने निश्चिय पुराना पार्टीहरू पहाडसरि मजबुत रहने रहेछन् भन्ने थाहा हुन्छ । केही कारणबाट उछिट्टिएर ती व्यक्तिहरू गएका हुँदा ठूला पार्टीलाई केही न केही आघात चाहिँ परेकै छ, तैपनि समग्रमा पुरानै शीर्ष पार्टीहरू नै यसपटकको निर्वाचनबाट पनि ठूला दलको पहिचानबाट पछाडि हट्नु नपर्ने देखिन्छ तर आगामी दिनहरूमा भने आलोचना, विरोध र नजआक्रोशलाई मध्यनजर राखी यिनले पाइला चाल्नुपर्ने आवश्यकता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?