पराजय व्यहोरे पनि देश र जनताको हितमा सदा समर्पित रहन्छु : राजन भट्टराई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं–४ मा नेकपा एमालेका उम्मेदवार रहनुभएका राजन भट्टराईले निर्वाचनमा लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको जय–पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताउनु भएको छ । उहाँले संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको अथक, लामो र निरन्तरको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने बताउनु भएको छ । यही मान्यताका साथ आफू राजनीतिमा सक्रिय रहने बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत जारी मन्तव्यमा उहाँले भन्नुभएको छ–मेरो राजनीतिक सक्रियता आगामी दिनमा पनि यथावत् रहने छ । म पूर्ववत् मतदातासँगको साक्षात्कारमा रहिरहने छु । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु ।

उहाँले काठमाडौँ क्षेत्र नम्बर ४ मा एमाले विजयी हुन नसके पनि देशका अन्य कतिपय ठाउँमा विजय हासिल गरिरहेको बताउनु भएको छ । यस्तै, समानुपातिक मतमा एमाले यसपटक पनि सर्वाधिक अग्रस्थानमा रहने दाबी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘विभिन्न शक्ति केन्द्रको एमालेविरोधी गठबन्धनको अवस्थामा पनि हाम्रो पार्टीलाई नेपाली जनताले भरपर्दो साथसहयोग दिएको यथार्थ हाम्रासामु छर्लङ्गै छ । यसस्थितिमा पार्टीका आमकार्यकर्तालाई धैर्य, निष्ठा र भरोसाका साथ सक्रिय रहनसमेत हार्दिक आग्रह गर्दछु ।’

उहाँले काठमाडौं–४ बाट विजय कांग्रेसका गगन थापालाई बधाई दिनुभएको छ । यस्तै, मतदाता, निर्वाचन परिचालन कमिटीका सदस्य सबैलाई धन्यबाद दिनुभएको छ ।

newskarkahna-news406080

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?