दोहा । साउदी अरेबियाले कतारमा जारी फिफा विश्वकप २०२२ को पहिलो खेलमा अर्जेन्टिनामाथि सनसनीपूर्ण जित हात पारेको छ । समूह ‘सी’अन्तर्गत मंगलबार साझ सम्पन्न खेलमा उपाधि दाबेदार अर्जेन्टिनामाथि साउदीले दुई-एकको जित हात पारेको हो । लुसेलमा समूह ‘सी’अन्तर्गत भएको खेलमा दुईपटकको विश्वविजेता अर्जेन्टिनामाथि साउदीको यो जितलाई विश्वकप इतिहासकै स्तब्धपूर्ण नतिजामध्ये एक मानिएको छ । फुटबलको विश्व वरीयतामा अर्जेन्टिना तेस्रो स्थानमा हुँदा साउदी ५१औँ स्थानमा थियो ।
लियोनल मेस्सीले पहिलो हाफमा पेनाल्टीमार्फत् गोल गर्दै सुरुवती अग्रता दिलाउनुभएको थियो । तर, अर्जेन्टिनाले गरेको तीन गोलले अफसाइडका कारण मान्यता नपाउनु उसको हारको मुख्य कारण बन्यो ।
तर, दोस्रो हाफको १० मिनेटमा सनसनीपूर्ण दुई गोल गर्दै साउदीले अर्जेन्टिनालाई स्तब्ध पार्यो । सालेह अल सेहरीले बराबरी गोल फर्काउँदा सालेम अल दुवारीले उत्कृष्ट गोल गर्दै साउदीको जित निश्चित गर्नुभयो ।
साउदीले अर्जेन्टिनाको अपराजित यात्रामा पनि ब्रेक लगाइदिएको छ । २०२१ को कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिना पछिल्लो ३६ खेलमा अपराजित थियो । सोही कारण अर्जेन्टिनालाई सन् १९८६ पछि उपाधि जित्न सक्ने आँकलन गरिएको थियो । तर, अन्तिमपटक विश्वकप खेलिरहेका मेस्सीको टोलीको पक्षमा भने नतिजा रहेन ।
खेलको १०औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनुभएको थियो । त्यसपछि अर्जेन्टिनी खेलाडीले गरेका दुई गोलले अफसाइडका कारण मान्यता पाएनन् । २९औँ मिनेटमा र ३५औँ मिनेटमा भएका दुई गोललाई रेफ्रीले अफसाइड घोषणा गर्नुभएको थियो ।
दोस्रो हाफमा भने साउदीले उत्कृष्ट पुनरागमन गर्यो । ४८औँ मिनेटमा अल सेहरीले डी बक्सको एक छेउबाट पोस्टको अर्को छेउमा सानदार गोल गर्नुभयो । ५४औँ मिनेटमा अल डावेसारीले दोस्रो गोल गर्दा अर्जेन्टिना स्तब्ध बन्यो । अब अर्जेन्टिनाले समूहको दोस्रो खेलमा शनिबार मेक्सिकोको सामना गर्नेछ भने साउदी अरेबियाले पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच