Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

समानुपातिकमा एक लाख मत कटाउने पहिलो दल बन्यो एमाले

अनिल क्षेत्री
Read Time = 8 mins
A A- A+

काठमाडौं । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ । प्रारम्भिक मत परिणामअनुसार एमाले समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बनेको छ । मंगलबार साँझ प्रकाशित मत परिणामअनुसार अहिलेसम्म एमालेले प्रतिनिधि सभाअन्तर्गत समानुपातिकतर्फ एक लाख ५२ हजार २९१ मत पाएको छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले १ लाख ३२ हजार ९०० मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ६७ हजार ६८८ मत पाएको छ । नेकपा माओवादी केन्द्र ६५ हजार ३०० मतसहित चौथो स्थानमा छ । पाँचौँ स्थानमा रहेको राप्रपाले ३५ हजार २३६ मत पाएको छ । प्रदेश सभातर्फ पनि नेकपा एमाले नै अग्रस्थानमा देखिएको छ भने कांग्रेस दोस्रो स्थानमा छ ।

राष्ट्रिय दल बन्न कति मत चाहिन्छ ?
निर्वाचन आयोगले आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको अनुमान गरेको थियो । आयोगको अनुमान समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने देखिन्छ । कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदातामध्ये ६१ प्रतिशत मतदानमा सहभागी हुँदा देशभरबाट एक करोड नौ लाख ७० हजार बढी मतदान भएको देखिन्छ । अघिल्लो निर्वाचनमा भएको बदर मतको संख्याको आधारमा निर्वाचन आयोगले यसपटक पनि तीन प्रतिशतकै हाराहारीमा मत बदर हुनसक्ने अनुमान गरेको छ । आयोगले अनुमान गरेजस्तै तीन लाख हाराहारी मत बदर भएको अवस्थामा एक करोड ६ लाख मतको तीन प्रतिशत मत ल्याउने दलले समानुपातिक प्रणालीबाट संसद्मा आफ्नो उम्मेदवार निर्वाचित गराउन सक्छ । बदर भएको मत घटाएर कुल सदर मतको तीन प्रतिशत मत तीन लाख २० हजार आसपास हुन्छ ।

तर, प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा तीन प्रतिशतभन्दा कम मत ल्याउने दलहरूको मत दलले प्राप्त गरेको कुल मतमा गणना नगरिने व्यवस्था छ । त्यसकारण तीन प्रतिशत नपु¥याउने कैयौँ दलहरूले प्राप्त गरेको मत गणना हुँदैन । निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ४८ वटा दलले भाग लिएका छन् । अघिल्लो निर्वाचनमा तीन प्रतिशत मत कटाउने दलहरूले ७७ हजार सात सय मत बराबर एक सिट पाएको देखिन्छ । प्रदेशसभातर्फ भने समानुपातिकमा एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलबाट प्रदेशसभामा प्रतिनिधित्व गर्न पाउने व्यवस्था छ । समानुपातिक प्रणालीमा तीन प्रतिशत मत कटाए पनि प्रत्यक्षमा एउटा क्षेत्र पनि नजितेका दलहरूले समेत समानुपातिक प्रणालीबाट मात्रै सांसद पठाउन पाउँछन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘दुवै प्रणालीबाट निर्वाचित हुनुपर्ने आवश्यकता राष्ट्रिय दल बन्नका लागि मात्रै हो । समानुपातिक प्रणालीमा तीन प्रतिशत कटाएपछि उक्त दलले मतअनुसार पाउने सिट पाउँछ ।’ राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था गरेको छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, तत्कालीन संघीय समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी गरी जम्मा पाँच वटा दलले मात्रै समानुपातिकतर्फ तीन प्रतिशतभन्दा बढी मत ल्याएका थिए । तर, ती पाँचवटा दल विभाजन र एकताका कारण पछि चुनावसम्म आइपुग्दा ६ वटा बन्न पुगे । थ्रेस होल्डको यही व्यवस्थाका कारण प्रत्यक्षमा एक सिट ल्याएका नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेमकिपाले २०७४ पछिको संसद्मा राष्ट्रिय दलको मान्यता पाएका थिएनन् ।

राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २ र ३ गते नै समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए । दलहरूले प्रतिनिधिसभाका लागि बढीमा ११० र प्रदेशसभाका लागि बढीमा २२० जनाको सूची बुझाएका थिए । मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक कोटाबाट आउँछन् ।

समानुपातिक उम्मेदवार चयन गर्दा दलहरूले समावेशी सिद्धान्तको निश्चित मापदण्ड पूरा गरेको हुनुपर्छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका लागि उम्मेदवारको बन्दसूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जना उम्मेदवारको नाम सूचीकृत गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभाका लागि अधिकतम र न्यूनतम संख्या प्रदेशअनुसार फरक-फरक छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ अनुसार उम्मेदवारको बन्दसूची तयार गर्दा दलले समावेशी सिद्धान्तअनुसार तयार गर्नुपर्ने हुन्छ । आयोगले यसका लागि दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको संख्यामा प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने जनाएको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?