कांग्रेसको सबैभन्दा बढी स्थानमा जित र अग्रता, पछ्याउँदै एमाले

नारायण भण्डारी
Read Time = 6 mins
A A- A+

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभर प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना भइरहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका एक दर्जन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा सात क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस्तै एमालेका तीन र जनमुक्ति पार्टीले एक स्थानमा जित हासिल गरेको छ ।

प्रतिनिधिसभाका १० स्थानमा भने मतगणना कार्य अझै पनि प्रारम्भ हुन सकेको छैन । यो समाचार तयार पार्ने बेलासम्म नेपाली कांग्रेस प्रतिनिधिसभाका सात स्थानमा विजयी भइसकेको छ भने उसले ४७ स्थानमा अग्रता कायम राखेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालले तीन सिटमा जित हात पार्दा ४२ स्थानमा अग्रता कायम राख्न सफल छ । त्यस्तै माओवादी केन्द्रले १६ स्थानमा अग्रता कायम राख्दा राष्ट्रिय स्वतन्त्र पार्टी पनि आठ ठाउँमा अगाडि देखिएको छ । उता नेकपा (एस) पनि आठ स्थानमा अगाडि आएको छ । नागरिक उन्मुक्ति पार्टीले एक स्थानमा जित हासिल गर्दा तीन ठाउँमा अग्रता कायम गरिरहेको छ । जसपा पाँच र लोसपा तीन स्थानमा अगाडि देखिएका छन् । मतगणनाको नतिजाले नेपाली कांग्रेसले आफ्नो उम्मेदवार उठाएका धेरै स्थानमा सफलता हासिल गर्न सक्ने देखिएको छ भने नेकपा एमाले चाहिँ कांग्रेससँग प्रतिस्पर्धा गरेका स्थानमध्ये निकै कम स्थानमा मात्र अगाडि छ । तर, भन्दा नेकपा एस र माओवादी केन्द्रसँग प्रतिस्पर्धा गरेका ठाउँमा एमालले तुलनात्मक रूपमा बढी सफलता पाएको छ ।

समानुपातिकमा एमाले पहिलो
प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ । मंगलबार साँझसम्मको मतपरिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले एक लाख मत कटाएका छन् । माओवादी केन्द्र भने चौथो स्थानमा रहेको छ । यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहँदा राप्रपा पाँचौ र जनता समाजवादी पार्टी छैटौँ स्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार एमालेलाई एक लाख २४ हजार ३५४ र कांग्रेसलाई एक लाख पाँच हजार छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५४ हजार ३१४ मत प्राप्त हुँदा माओवादी केन्द्रलाई ४७ हजार ६४१ मत प्राप्त भएको छ । यस्तै राप्रपाले २९ हजार ४८६, जसपाले ९ हजार ३७७, जनमत पार्टीले ८ हजार ७३७ र नेमकिपाले ७ हजार ८२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ती पार्टीलाई ६ हजार ४२२ मत प्राप्त भएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले ५ हजार ९०२ मत प्राप्त गर्दा अन्य पार्टीले २४ हजार २७३ मत प्राप्त गरेका छन् ।

यी उम्मेदवार जसले चुनाव जिते
नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य रसुवाबाट निर्वाचित हुनुभएको छ उहाँले एमालेका छोवाङ तेन्जिङ तामाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्नुभएको हो । उदयपुर-२ मा नेकपा (एस) का महासचिव जगन्नाथ खतिवडालाई साढे दुई हजार मतान्तरले पराजित गर्दै एमालेका अम्मरबहादुर रायमाझी प्रतिनिधिसभाका लागि निर्वाचित हुनुभएको छ । काठमाडौं -९ मा एमालेका कृष्णगोपाल श्रेष्ड निर्वाचित हुनुभएको छ उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र पार्टीका टेकबहादुर बस्नेत हुनुहुन्छ । काठमाडौँ ४ मा कांग्रेसका गगन थापाले एमालेका राजन भट्टराईलाई सात हजार बढीको मतान्तरमा पारजित गर्नुभएको छ । उता कैलाली-३ मा उन्मुक्ति पार्टीका गंगाराम चौधरी फराकिलो मतसहित निर्वाचित हुनुभएको छ । काठमाडौं १ बाट प्रकाशमान सिंहले राप्रपाका रवीन्द्र मिश्रलाई १३२ मतान्तरले पराजित गर्नुभएको छ । उता मनाङ र मुस्ताङमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?