हिटा विशेष टिप्पणी : अस्थिर संसद्को पुनर्जन्म

प्रा. पुरुषोत्तम दाहाल
Read Time = 11 mins
A A- A+

काठमाडौं । महानिर्वाचनको परिणामले नेपाली राजनीतिलाई थप अन्योलग्रस्त बनाउने संकेत दिएको छ । पहिलो चरणमै प्राप्त परिणामका आधारमा निश्चित रूपमा भद्रगोले संसद्को पुनर्जन्म गराउने ठोकुवा गर्न सकिनेछ । अनुहार नयाँ भए पनि अबको संसद्मा प्रवृत्ति पुरानै भएकाहरूको बलियो प्रवेश र प्रभाव स्पष्ट देखिन्छ ।

(क) अति महत्वाकांक्षीहरूको उपस्थिति
संसद्मा आफ्नो दलको अवस्था के हुने हो त्यसको कुनै आँकलन नै नगरी आफूलाई प्रधानमन्त्रीको दाबेदार घोषणा गर्ने अतिमहत्वाकांक्षी युवा र पुरानो पुस्ताका अनुहारहरूको उपस्थिति आउने संसद्को रोचक पक्ष हुनेछ । हात सुर्काउँदै र मुख उध्याउँदै प्रधानमन्त्रीको लस्करमा उभिनेहरूको स्वार्थ सत्ताको चास्नीमा डुब्नेबाहेक अरू कुनै परिवर्तनका लागि हो भनेर भन्न सकिँदैन । तिनै प्रधानमन्त्रीका आकांक्षीहरूको पिठ्युँमा बसेर केही भए पनि लाभ लिन खोज्ने आशामुखीहरू चुनावको परिणाम आउनु अघिदेखि नै महात्वाकांक्षाको आगो बाल्न र त्यही आगो ताप्न तल्लीन देखिएको अवस्था छ । जजसले देशको नेतृत्वको दाबी गरिरहेका छन् र पदको घोषणा गरिरहेका छन् तिनीहरूबाट उत्पन्न सत्ताको भोक र तृष्णाको आयतन कति छ थाहा हुन्छ । बहुरंग, बहुरूप र बहुस्वार्थको माला पहिरेर उपस्थित नयाँ संसद् यथार्थमै नेपाली राजनीतिका लागि कुनै परिवर्तनकारी हुनेछ भनेर विश्वास गर्ने आधार देखिँदैन । संसद्का लागि विजयी अनुहारहरू र तिनीहरूका अभिव्यक्तिहरूले नै भोलिको तस्बिरको धुमिल छाया देख्न सकिने भएको छ ।

(ख) आफैँमा परिवर्तन हुन सक्ने भएमा
राष्ट्रलाई हाँक्ने राजनीतिकर्मीहरूमा सही आदर्श अनुशीलन भएमा माथिको आशंकाको अर्थ रहँदैन । राजनीतिले राज्यको संयन्त्र निर्माण गर्ने, यसलाई परिचालन गर्ने काम गर्दछ । राष्ट्रको मूल मियो नै राजनीति हो । तर, राजनीति आफैँमा केही पनि हुँदैन । राजनीति राजनीतिकर्मीहरूमा निर्भर हुन्छ । राजनीतिकर्मीहरूमा सिद्धान्तका अतिरिक्त कम्तीमा चार विषयहरू अनिवार्य मानिन्छ । पहिलो राजनीतिक नेताको स्वभाव, दोस्रो उसको आचरण, तेस्रो उसको व्यवहार र अन्तिम हो- सक्रियता, योग्यता र विवेकपूर्ण सामथ्र्य । तर, सांसदका अधिकांश नेतृत्वदायी अनुहारमा त्यो लक्षण अत्यन्त कम छ भन्ने सबैलाई थाहा छ । नेतृत्व कति संयम, सहिष्णु र सान्दर्भिक भन्ने प्रकट व्यवहारका आधारमा यी गुणहरूको मूल्यांकन हुने गर्दछ । सिद्धान्त पहिलो आधार भएको हुनाले सिद्धान्तच्यूत सत्ताको खेतीबाट नेतृत्वमा अनिवार्य गुण हुनेछ भनेर विश्वास गर्नु निकै कठिन छ । यो पटकको चुनावी गठबन्धनको अभ्यासले नेपाली राजनीतिलाई सिद्धान्तहीन वनाएको छ । जो जो गठबन्धनबाट विजयी वा पराजित भए उनीहरू सबै नै अवसरवादी राजनीतिका संवाहक हुन् भनेर भविष्यको इतिहासमा अध्ययन हुनेछ । किन यस्तो भयो ? केका लागि यसरी सिद्धान्तलाई नै महाभारतका विशिष्ट पात्र युधिष्ठिरले आफ्नी श्रीमती र भाइहरूलाई नै जुवाको खालमा थापे जस्तो गरी सत्ताको खालमा थाप्ने काम भयो ? अध्ययनको विषय भएको छ ।

यसैकारण गठबन्धनबाट विजयीहरू सैद्धान्तिक जनताको शक्तिमा नभएर फरक विचार र संगठनको वैशाखीमा उभिएका पात्र भएका छन् । विजयीहरू समेतले अवलम्बित विचार र सिद्धान्तको विजय भन्न सकेका छैनन् र व्यक्तिको विजयका रूपमा परिभाषित गर्दै व्यक्तिलाई नै देवत्वकरण गरी प्रचार गरिरहेका छन् । यथार्थमा गठबन्धन भित्रका उम्मेदवारले विजयको रातो टीका र सयपत्री फूलको मालाले अनुहार छोपे पनि सिद्धान्त र विचार पराजित भएको छ यो निर्वाचनमा । अर्थात् सत्तालाई प्रधान मान्ने व्यक्तिको विजयमा लोकतन्त्रको मर्यादा, मूल्य र विचार पूर्णतः स्खलित भएको छ ।

(ग) परिणामले नै जन्माएको अविश्वास
गठन हुने संसद् निर्वाचन परिणामसँगै गठबन्धनभित्र गम्भीर अविश्वासको कारक हुने भएको छ । खासगरी नेपाली कांग्रेसले सहयोगी दलहरूका लागि प्रत्यक्ष मत प्रदान गर्न सकेको देखिएन । नेपाली कांग्रेसका मतदाताहरूको पीडा नबुझेको सत्तामुखी नेतृत्वको निर्णयविरुद्ध तमाम मतदाताहरू असहमत देखिए र सार्वभौम जनताको सार्वभौम अधिकारलाई बन्धक राख्ने निर्णयविरुद्ध नेपाली कांग्रेसका हजारौँ मतदाताहरूले स्वःस्फूर्त स्वतन्त्र निर्णय गरेको देखिएको छ । अनेक स्थानमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार र माधवकुमार नेपाल नेतृत्वका उम्मेदवारहरूको पराजय हुने लक्षण निर्वाचन परिणामको आरम्भदेखि नै अनुभव भएको छ । यति मात्रै होइन नेपाली कांग्रेसले समेत दण्डस्वरूप समानुपातिक मतमा यसअघि कहिल्यै नबेहोरेको क्षति भोग्नुपर्ने देखिन्छ । केही महिना पहिले गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको समानुपातिक मत नै उल्लिखित अवस्थाको प्रमाण हुन सक्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ पाएको मत पनि अधिकांशतः नेपाली कांग्रेसको संयुक्त गठबन्धन विरुद्धको प्रतिक्रिया हो भन्न नसकिने होइन । पुराना दल र नेता विरुद्धको असन्तोष र नयाँ सम्भावनाको खोजी नै रास्व पार्टीले पाएको जनसमर्थन हो । यद्यपि, यसका अध्यक्ष युवा पत्रकार रवि लामिछानेले केही वर्षयता कमाएको ख्याति पनि यसका लागि विशेष हुन सक्छ । तर, रविको उदय र प्रभावले सबैभन्दा बढी क्षति नेपाली कांग्रेसले भोग्नुपर्ने देखिन्छ । त्यसको बाछिटाले नेकपा एमाले पनि अछुत रहेको छैन ।

(घ) नयाँ लोकतान्त्रिक शक्तिको सम्भावना
निर्वाचनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उत्साहजनक परिणाम दिए पनि यो पार्टी लोकतान्त्रिक विकल्प हुने सम्भावना देखिँदैन । विगतमा लोकतान्त्रिक विकल्पको प्रयासमा उदाएको विवेकशील साझा पार्टी आफैँ धराशायी हुन पुग्यो भने नेपाली कांग्रेस बिपीले आफ्नो प्रारम्भिक परिचय दिने सामथ्र्य नै राखेन । ००७ सालदेखि लोकतन्त्रको एकछत्र मियो रहेको नेपाली कांग्रेस आजको चरणमा आइपुग्दा सिद्धान्तहीन, लोकतान्त्रिक मूल्यहीन फगत सत्ताको खेलमा समर्पित भएको छ । यस अवस्थामा रहेको पार्टीका हरेक निर्णयलाई बाध्यात्मक ठान्नुपर्ने र शिरोपर गर्नुपर्ने जमात प्रचुर छ कांग्रेसमा । लोकतन्त्रको सैद्धान्तिक, वैचारिक मूल्य स्थापित गर्न आफ्नो सम्पूर्ण वय, ऊर्जा, श्रीसम्पत्ति, र ज्यानसमेत गुमाएकाहरूमा यसैकारण निराशा व्याप्त छ । नेपाली कांग्रेसमा जतिसकै नयाँ अनुहार आए पनि चरित्र, संस्कार, व्यवहार आचरण स्वभाव पुरानो निरन्तरता हो भन्ने अनुभव सबैमा छ । अरू साना राजनीतिक दलहरू पनि छरपस्ट छन् । वस्तुतः बलियो लोकतान्त्रिक राजनीतिक वैकल्पिक दलको उदय भएमा अहंकारी, अविवेकी, घमण्डी, सिद्धान्तहीन नेतृत्वलाई पाठसमेत हुनेछ । तर, के रविले पाएको समर्थन र जनमतले त्यस्तो विकल्प प्रदान गर्न सक्छ र ? कि विवेकशील साझाहरू जस्तै निराशा भँजाउने भाँडो मात्रै हुने हो ? भन्न सकिँदैन । आगामी संसद्को अवधि पूरा हुनेमा परिणामले नै संशय खडा गरेको छ । सिद्धान्तहीन विचारका संवाहकहरूलाई निरस्त गनुपर्र्ने समयको माग भएको छ । तर, सम्भव असम्भव अहिल्यै नै भन्न सकिँदैन । यदि स्थायित्व दिने सोच र सामथ्र्य देखायो र राष्ट्रको आवश्यकता र जनताको मागलाई सम्बोधन गर्न सक्यो भने यही चौमुखी संसद्को उपादेयता पनि निरर्थक हुने छैन । जुन आजका दिनमा असम्भव कल्पना मात्रै लाग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?