दुर्गा सापकोटा : जसले ‘रातो पहिरन’ का लागि विद्रोह गरिन्

हिमालय टाइम्स
Read Time = 9 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । ‘जीवनलाई दृष्टिकै सुन्दर फूल भनेर अर्थाइदिएँ, अहिले मैले । खै मलाई थाहा छैन, अर्थाएको जीवन सुन्दर फूलभित्र पर्छ कि पर्दैन ।’ मदन पुरस्कार विजेता झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ पुस्तकको प्रारम्भको वाक्यांश हो यो । घिमिरेले जीवनलाई सृष्टिकै सुन्दर फूल भन्नुभयो । आफू भने आजीवन एक अशक्त जीवन बाँचिरहनुभएको छ । घिमिरेले भने जस्तै जीवन काँडा र फूलमात्रै होइन भन्ने उदाहरण हुनुहुन्छ, दुर्गा सापकोटा ।

जीवनप्रति उहाँको आफ्नै विश्लेषण छ, ‘जीवन भगवान्को वरदान हो । एकल महिलाको जीवन भयानक हो । जीवन भोगाइको अर्को प्रमाण हो ।’ झलक र दुर्गा दुवै महिला हुन् । उहाँहरूका जीवन भोगाइ भने भिन्न छन् । झलकले बालापनदेखि अशक्त जीवन बाँचिरहनुभएको छ । दुर्गाले कलकलाउँदो उमेर एकल महिलाको रूप सामाजिक संस्कारले उपहार दियो । २०१९ सालमा पोखरामा जन्मिनुभएकी दुर्गा सापकोटाको २० वर्षको उमेरमै मागी विवाह भयो । विवाह भएको चार वर्षमै उहाँको सिउँदो पुछियो । पति कृष्णप्रसाद सापकोटाको क्यान्सरका कारण मृत्यु भयो ।

श्रीमान्को निधन हुँदा दुर्गाको कोखमा उहाँको नासो हुर्किरहेको थियो । नियतिले उहाँलाई केवल २३ वर्षको उमेरमा एकल महिला बनाइदियो । सेतो पहिरनमै छोरीलाई जन्म दिनुभयो । समय बित्दै गयो । युवा अवस्थामै सिउँदो पुछिँदाको भयानक क्षण उहाँलाई मात्रै थाहा छ । भोगाइ र अनुभवबीच धेरै अन्तर हुन्छ । त्यो भोगाइ दुर्गाले भोगिरहनुभएको छ ।

बाचुञ्जेल शिरमा सिन्दुर, निधारमा रातो टीका र हातमा चुरा, गलामा पोते र रातै सारी लगाउने सपना टुट्यो । श्रीमान्को मृत्यु हुँदा आफू मरेतुल्य भएको निर्मम सत्य सुनाउनुहुन्छ, उहाँ । दुर्गा भन्नुहुन्छ, ‘जीवन काँडा र फूल दुवै हो । त्योभन्दा पनि महिलाका लागि निकै अप्ठ्यारो सत्य हो, जीवन । जहाँ जीवन जिउन आफू हार्नुपर्छ । पलपल मर्नुपर्छ ।’ श्रीमान्को मृत्यु हुँदा सिउँदोको सिन्दुर पखाल्दा जीवनको रंगीन रङ पुछिएको आभास गर्नुभयो । चुरा फुटाउँदा जीवनको अर्थ । सेतो सारी लगाउँदा ‘अभागी’ नारी । सृष्टिको नियमभन्दा पनि यी कुरा पितृसत्तात्मक सोच र समाजको कुरूप सत्य रहेको उहाँको ठम्याइ छ । उहाँ सोच्नुहुन्छ, पुरुष मर्दामात्रै महिलाले आजीवन किन सेता लुगा लगाउनुपर्छ ? किन रातो चुरा लगाउनुहुँदैन : एकल महिलाले फेरि चुरापोते लगाउनु पाप हो ?

बर्दियाको बढैयाताल गाउँपालिका-३ की दुर्गाले त्यही भएर सुरु गर्नुभयो, ‘रातो अभियान ।’ यो अभियान २०५७ सालतिर सुरु भएको हो । सचेत महिलाको परिचय बनाउनुभएकी उहाँ सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । एकल महिलाले पनि फेरि रातो पहिरन लगाउनुपर्छ भन्ने अभियानको सुरुवात उहाँले आफैंबाट सुरु गर्नुभयो । जुन कुरा एक बुहारी र एकल महिलाका रूपमा फलामको चिउरा चपाउनुभन्दा कम्ती कठिन थिएन । दुर्गाले आँट र साहस गर्नुभयो ।

संसार बदल्नु छ भने सुरुवात आफैंबाट गर्नुपर्छ भनेझैँ रातो चुरापोते लगाउने अभियान आफैंबाट सुरु गर्नुभएको हो । उहाँले सबैभन्दा पहिला घरमा सासूलाई भन्नुभयो । दुर्गाकी सासूसमेत एकल महिला हुनुहुन्थ्यो । उहाँले बुहारीको आग्रहलाई नकार्न सक्नुभएन । ‘मैले घरमा कुरा राखेँ । सबैजना सहमत हुनुभयो । सासूले म लगाउदिनँ तिमी लगाऊ भन्नुभयो,’ उहाँ भन्नुहुन्छ । दुर्गालाई संसार जिते जस्तो भयो ।
एकल महिला भएको १६ वर्षपछि उहाँले रातो चुरापोते लगाउनुभयो । त्यतिबेला उहाँले आफ्नो विवाह भएको दिन सम्झिनुभयो । स्वर्गीय श्रीमान् सम्झिनुभयो । ठूलै युद्ध जितेजस्तो अनुभव भएको उहाँले बताउनुभयो । त्यसपछि सुरु भयो, ‘रातो चुरापोते अभियान ।’ त्यो अभियानलाई उहाँले टोलगाउँ हुँदै जिल्लासम्म पु¥याउनुभयो । अन्य एकल महिला आफैं उहाँको अभियानमा काँधमा काँध मिलाउन थाले । त्यतिमात्रै होइन सरकारी निकायले समेत त्यो अभियानमा चासो राखे । बर्दियामा पहिलोपटक सरकारी निकायकै आयोजनामा एकल महिलाहरूलाई सम्मान कार्यक्रम गरियो । पछि दुर्गाले सुरु गरेको अभियान चितवन, काठमाडौं हुँदै विभिन्न जिल्लामा फैलियो । नेपालका अधिकांश जिल्लामा अभियानकै रूपमा सुरु भएको उहाँले सुनाउनुभयो । ‘मैले सुरु गरेको सानो काम अभियानका रूपमा सञ्चालन भयो । जिल्ला–जिल्लामा फैलियो । महिलाहरू आफैं जागरुक हुन थाले । त्यसले मलाई सबैभन्दा धेरै खुसी दियो,’ उहाँ संघर्षका दिन सम्झिँदै भन्नुहुन्छ ।

दुर्गाले पछि संस्थागतरूपमा अभियान सञ्चालन गर्नुभयो । अहिले पनि उहाँ एकल महिलाहरूको अधिकारका विषयमा वकालत गरिरहनुभएको छ । हाल कोहलपुर-२ मा बसिरहनुभएकी उहाँ व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्नुहुन्छ । समाजमा एकल महिलालाई हेर्ने नजर अझै पनि बदलिएको छैन । पहिलाभन्दा अहिले केही दृष्टिकोण फेरिए पनि राज्यले उहाँहरूलाई राज्यको मूल प्रवाहमा ल्याउन नसकेको देखिन्छ । उहाँ भन्नुहुन्छ, ‘राज्यले भत्तामात्र दिने होइन । एकल महिलालाई रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।’

छोरी, आमा र एकल महिलाका रूपमा जीवनमा धेरै आरोह-अवरोह बेहोर्नुभएकी दुर्गाको अब एउटै माग छ, ‘राज्यका निर्णायक तहमा महिला सहभागिता अनिवार्य हुनुुपर्छ । महिला र पुरुषमाथि हुने विभेदको अन्त्य हुनुपर्छ ।’ महिलाले समाजमा एकल भएकै कारण बारबार आफ्नो सपना दबाएर बस्ने वातावरण नहोस् भन्ने उहाँको चाहना छ । स्थानीय सरकारले समेत एकल महिलाका बारेमा गम्भीररूपमा सोच्नुपर्छ ।

अरूकी आमालाई सधैं रातो पहिरनमा देख्नुभएकी सन्ध्याले पनि सधंै आमालाई रातो लगाउन उत्प्रेरणा दिनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘आमा, मेरा लागि भए पनि कोठाभित्रै रातो पहिरन लगाइदिनूस् । रातो पहिरन लगाउँदा तपाईंको रूप कस्तो हुन्छ म हेर्छुँ ।’ यतिमात्र होइन, उहाँको घरपरिवारले रातो अभियानमा साथ, सहयोग र हौसला प्रदान गरेको छ । यही अभियानमा दुर्गा विभिन्न तालिम, गोष्ठीमा सहभागी हुनुभयो । जसले रातो अभियानमा ठूलो मद्दत पुग्यो । यो अभियानमा विभिन्न अवरोधहरू सिर्जना भए । तर, उहाँले अवरोधलाई सामना गर्नुभयो र अहिले सफलता प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?