घुलनशीलता र राजनीति

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 20 mins

प्रसंग :
विज्ञानले भन्छ पदार्थ तीन प्रकारका हुन्छन् ठोस, तरल र ग्यास । यीमध्य एकथरी घुलनशील हुन्छन् भने अर्काथरी अघुलनशील हुन्छन् । घुलन पनि दुई प्रकारका देखिन्छन् । आफ्नो मौलिक स्वरूपलाई त्यागेर जोसँग अनुघुलित हुने हो त्यसैको स्वरूप ग्रहण गर्ने । यो घुलन सामथ्र्य भएको पदार्थ हो नुन, चिनी, दूध । अर्को एउटा यस्तो घुलन हुन्छ जो आफ्नो स्वरूप र गुण कायम राखेर घुलित भएपछि घुलनका निमित्त प्रमुख भूमिका निर्वाह गर्ने तत्वको शक्ति समाप्त भएर घुलित हुन जाने तत्वमा रूपान्तरण भए पनि शक्तिसामथ्र्यमा अगणित वृद्धि हुने विचार, दर्शन, संस्कार, संस्कृति, मानवसमाज यिनलाई घुलन भएको भने मानिँदैन । घुलन, मिलन, परिवर्तन र विकास भन्नु समानान्तर कुरा हुन् ।

भाषाविज्ञानमा समीभवन भन्ने एउटा भाषिक परिवर्तनको प्रक्रिया छ । यसमा पहिलाले पछिल्लालाई, पछिल्लाले अघिल्लालाई र दुवैले दुवैलाई बराबरी प्रभाव पारेर आफूजस्तै बनाउने गर्दछन् । पतत्+अञ्जलि=पतञ्जलि, वाक्+हरि=वग्घरि, वर+लो=वल्लो, पर+लो=पल्लो, परकाले पहिलेकालाई आफूजस्तो बनाउने । अग्नि+अग्गि=आगो, पिपिलिका, किपिलिका=कमिला परस्पर दुवै परिवर्तन भएर तेस्रा रूपमा पुग्ने । यो पछिल्लोलाई पारस्परिक परिवर्तन भनिन्छ । पानी र सिमेन्ट÷पानी, रङहरू, आत्म र ब्रहृम पारस्परिक समीभवनका कुरा हुन् ।
यस प्रकारको शक्ति सामथ्र्य भएका पदार्थलाई घोलक पनि भनिन्छ । पानी सारा कुरालाई घोल्ने घोलक तत्व हो । दुई तत्वलाई घोल्ने तेस्रो वस्तुलाई पनि घोलक भनिन्छ । घुलन स्वाभाविक र अस्वाभाविक दुवै हुने गर्दछन् । विज्ञानले प्राकृतिक घुलनलाई मात्रै स्वीकार्दछ भने समाज र संस्कार संस्कृतिले अप्राकृत घुलनलाई पनि बोकेर अगाडि पाइला चाल्नुपर्ने अवस्था सिर्जना भएको देखिँदोरहेछ । संस्कृतिका पण्डित यसलाई संस्कृतिको विकास या विस्तार भन्लान् । दशैँ, तिहार, छठ, केही समय पहिले सबै नेपाली समाजले मान्दैनथ्यो ।

अब सिंगो नेपाली समाजलाई यसले प्रभावित पारेको छ । राजनीति शास्त्रले कल्पना गरेभन्दा बाहिरको घुलन स्वार्थी नेता या घमण्डी नेताले हाम्रोजस्तो अल्पशिक्षित, अद्र्धबेरोजगारी, अल्पज्ञानी र अवसरको व्यग्रतापूर्वक खोजी गर्दैगरेका व्यक्तिको बहुल उपस्थिति भएका समाजमा एकातपटक होइन पटकपटक अति आवश्यक जस्तोगरी जनतामा, समाजमा लाद्ने काम गर्दारहेछन् । राजाको नचाहिँदो क्रियाकलाप र समग्र मानवीय व्यक्तित्वको पुञ्ज राजारानी र राजपरिवारमात्रै ठानिने प्रथा परम्परा बनाउने प्रयासले नेपालका एकाधिक वैचारिक धरातलमा उभिएका दल, समूह र व्यक्तिलाई एकआपसमा घोलेर राजाले चलाएको निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध सडकमा उभ्यायो ।

राजनीतिमा के हुन्छ भने एउटा शासक शक्ति हुन्छ अरू त्यसलाई वरिपरिबाट घेरेर बसेका चापबद्र्धक समूह हुन्छन् । सत्तामा बसेका समूहका ज्यादतीले सीमा पार गर्‍यो भन्ने भएपछि राजनीतिक दर्शन मिल्न नसकेका समूहहरू मूलस्वार्थलाई समातेर सानातिना कुरापछि मिलाउने गरी एकत्रित हुन्छन् ।

राजनीतिमा हुन्छ के भने एउटा शासक शक्ति हुन्छ । अरू त्यसलाई वरिपरिबाट घेरेर बसेका चापबद्र्धक समूह हुन्छन् । सत्ता र शक्तिमा बसेका समूहका ज्यादतीले सीमा पार ग¥यो भन्ने भएपछि राजनीतिक दर्शन, कार्यक्रम, आर्थिकनीति आदिका कारणले मिल्न नसकेका समूहहरू मूलस्वार्थलाई समातेर सानातिना कुरा पछि मिलाउने या अवलम्बन गर्नेगरी एकत्रित हुन्छन् । २०४७ सालको परिवर्तनपछि पनि स्थापित राजनीतिक पद्धतिले समुचित प्रकारले काम गर्न नसकेको फलस्वरूप सिद्धान्त, विचार, राजनीतिक दर्शनै नमिल्नेलाई पनि आआफ्नो अस्मिता कायम राखेर नै पारस्परिक अनुघुलनका स्थितिमा ल्याइदिएको पनि देखियो ।

२०६२/०६३ का आन्दोलनले त घुलन हुनै नसक्नेलाई पनि अनुघुलित गराएर भए पनि देश र जनताका समस्या समाधान गर्न उद्यत् रहेका नेता र दलहरू देखिए । यो राष्ट्रिय परिस्थितिको आवश्यक्ताले निम्त्याएको अवस्था थियो । राज्यका प्रहरी प्रशासन, सरकार पूर्णरूपमा सशस्त्र विद्रोहीका सामु असफल भइसकेका थिए । यो समाधान नभए ब्यारेकका बन्दुक र वनका बन्दुक मिलेर ठूलो उथलपुथल ल्याएर देशमा लामो समयसम्मै अमनचयन कायमै हुन नसक्ने परिस्थितिको जबर्जस्त दबाब थियो । यस्ता खालका परिस्थितिलाई राजनीति शास्त्रले जनविद्रोह, जनक्रान्ति, जनआन्दोलन, जनदबाब जस्ता शब्दले सम्बोधन गर्ने गरेको देखिन्छ र यस्तै परिस्थितिका चापबाट युगनायक जन्मन्छ ।

एकैजातका कुरा मिसिँदैनन् मिल्छन् :
आज म नेपाली राजनीतिमा देखिएको विपरीत धर्मी घुलन या मिलनको कुरो गर्न खोज्दै छु । गोरुगोरुको रथमिलेका हलबाट खेती गरिन्थ्यो, गोरु र राँगो नारेर तराईतिर जोतेको मैले देखेँ । आसामतिर घुम्न जाँदा मैले खड्कुलोजत्रो फाँचा भएका गाई जोतेको पनि देखेँ । काभ्रेतिरको कुनै गाउँमा एकजना किसानले मियामा एउटा गोरु बाँधेर घुमाएर दाइँ गरेको पनि देखेँ । यो भने अति अविश्वासिलो कुरो हो । एउटा गोरुका पैताला (खुर) का प्रहारबाट धान झर्न समय लाग्ने हुनाले यो पीडाको क्रियाजस्तो लाग्यो । निरीहपनाको पराकाष्ठा । गाउँघरमा पर्मअर्मसम्म पनि नपाउने अवस्थाको दुःख । सरकार केका लागि ? देशवासीको यस्तै निरीह र एकाकी अवस्थाको अन्त्य गराउने प्रयत्नका निमित्त । अभिभावकत्वका लागि ।

जनप्रतिनिधि भत्ता खान र ठूलाठालु गनिन, रक्सीका बोतल र कुखुराका भाले स्यालले बोके झैँ गाउँ पसेर हसुर्नमात्र होइन । डा. बाबुरामले मुसाको मासु र भात खाएका घरका मुसहरको आर्थिक अवस्था सुध्रियो ? यदि सुध्रेको छैन भने यो शोषण हो या प्रदर्शनमात्रै हो । यस्ताले राम्रो गरे भन्ने ठाउँ छैन । ओलीले आफू प्रधानमन्त्री भएका बेला सबै सरकारी ओहदामा रहेकालाई गाउँगाउँका आर्थिक दृष्टिले निरीह गरिबका छोराछोरी कुनै एउटा लिएर अभिभावक बन्ने भनेर लाए तर छ महिनापछि म एउटा गाउँमा गएर बुझ्दा साउनका खहरेमा बाढी आए झैँ डिग्डिगी मच्चाइयो, भर्ना गराइयो, पछि उनीहरू जस्ताको तस्तै अवस्थामा पुगेछन् । यो केबल ठस्सा हो । असल देखिने र गर्न खोजेको देखाउने दम्भ ।

शेरबहादुरले मुक्त गरेका मुक्त कमैयाको दूरदशा त्यसभन्दा दर्दनाक छ । थेग्न नसकिने, हुन नसक्ने काममा अगिसरा भएर यी गिदीबोसे किन जान्छन् ? प्राविधिक लाएर दशौं वर्षसम्म टिकाउन र लक्ष्यमा पुर्‍याउन सकिने देशको जुनसुकै सरकारले अघि बढाउन सक्नेलाई योजनाका रूपमा लागू गर्ने गराउने यिनका गिदीमा कसले हाल्दिने ? यी कुरा त मैले सामान्य उदाहरणका निमित्तमात्रै अघि सारेको हुँ । यस्ता क्षेत्र खोज्ने हो भने अनगन्ती छन् । पैरो पीडित, बाढीपीडित, सुकुम्बासी आदिका समस्या जहिले पनि जस्ताको त्यस्तै देखिन्छन् । काभ्रेका एउटा गाउँका २ सय घरले यसपटकको चुनावै बहिष्कार गरे ।

तर, चासो कसैले पनि देखाएको देखिएन । ‘सर्वस्वार्थं समीहते’ । यी सबै गराउने मूलतत्व कमाउने लोभ हो । रुवाखोले माइँलो आज खर्बपति कसरी भयो ? पाँचथरे टुहुरो आज खर्बाैंपति भएर गड्कने बनेको देशमा मौलाएको ताकछोपुवा, आर्थिक भ्रष्टाचरण, जालझेल ठगप्रवृत्ति राजनीतिमा मौलाएका कारणले हो । अस्ति बितेको मंसिर ४ गतेको आम निर्वाचनका निमित्त तत्कालीन गृहमन्त्रीले ७७ वटै प्रजिअलाई निर्वाचनका लागि यति यतिका दरले भनेर (क, ख र ग) लाई आर्थिक भार लाएछन् सहयोगका नाममा । देशको गृहमन्त्री यसरी खुलेआम भ्रष्टाचारका निमित्त प्रमुख जिल्ला अधिकारीलाई उपयोग गर्छन् भने सुशासनको आस गर्न सकिएला ? मंसिर १ गतेदेखि ३ गते रातिसम्ममा नेपालको सुदूरपश्चिमको कुनै पहाडी जिल्लामा सुरक्षाकर्मीलाई बोकाएर सात करोड पु¥याइएको हल्ला व्याप्त रहेको छ ।

देशको सर्वोच्च शासक नै चुनाव जित्नका निमित्त यसरी धनबल, डनबल, पदबलको दुरुपयोग गर्दछ भने जनताले सुशासन सुकर्मको अपेक्षा गर्न मिल्छ कि मिल्दैन ? अदालतसँगको सेटिङ देखियो, संवैधानिक परिषद्को सेटिङ पनि देख्यौँ हामीले । गैरसंवैधानिक कदम चालेको पनि देखियो । ज्यानमारा प्रधानमन्त्री बनेको पनि देखियो । अब नेपाली जनताले के देख्न बाँकी रहृयो भनेर अनुसन्धान निकाय खोल्नमात्रै बाँकी छ जस्तो लाग्छ । ‘किं चातिवीर्यमसुरस्य विजयकारीनीतिः’ अर्थात् दुर्जनको विजय गराउने यसभन्दा गतिलो नीति कुनै हुन्छर ?

बाज र परेको मिलन सम्भव छैन :
मानव मस्तिष्कले पत्तालाएको बहुलवादी दर्शनमा आधृत पवित्रतम राजनीतिक पद्धति हो संसदीय प्रजातान्त्रिक पद्धति । यो पद्धति भनेको आफू मर्यादित बनेर अरूबाट मर्यादा पाउने पद्धति थियो । यसलाई खशीको टाउको राखेर कुकुरको मासु बेच्ने ठाउँ हो संसद भनेको भनेर नथाक्नेसँगको सहयात्राले यो साँच्चिकै अचम्मको बच्चो या ऊँटजस्तो स्वरूपको बनेको देखिन्छ । अहिले त हाम्रा महान सत्तादूरदर्शी, पावरक्रेजी गरिबप्रवर श्री ३ जुद्धका अवतारस्वरूपले बाज र ढुकुर या परेवालाई एकै गञ्जकमा सुताएर स्वार्थ र सत्ताको गुन्द्रुक खाँदिदिनुभयो । तोरीको सागको मीठो गुन्द्रुक हुन्छ । मुलाको मीठो सिन्की पनि हुन्छ तर उहाँले त मुला, कोभिका डाँक्ला, काँचोपात (सुर्ती) का डाँठ, तामा पनि मिलाएर सत्ताको सिन्की खाँद्नुभएको छ ।

यो उहाँबाहेक कसले खानसक्ने ? कस्तो होला यो ? राजनीतिमा मिल्दाजुल्दा चरित्रका राजनीतिक दल एक ठाउँमा आउन सक्छन् । बन्दुक बोकेकालाई पनि वार्ताका माध्यमले शान्तिपूर्वक समाजमा स्थापित गर्न सकिन्छ । भारतमा चम्बल घाँटीका सशस्त्र डाकालाई जयप्रकाशनारायणले एक्लै गएर केही सर्तका आधारमा बन्दुक राज्यलाई बुझाउन तयार गराएका थिए । हाम्रै देशमा पनि नेपाली कांग्रेस र श्री ३ हरूका बीचमा समझ्दारी भएको थियो । श्रीगिरिजाप्रसाद कोइरालाले सशस्त्र द्वन्द्वबाट राज्यसत्ता कब्जा गर्नै लागेको माओवादीलाई वार्ता, सहमति र राष्ट्रिय एकताका सूत्रमा सहमत गराएर ल्याएकै हुन् ।

संसद् छाडेर बाहिर जान लागेका मधेसवादी दललाई सुशील कोइरालाले आफूलाई रसातल पु¥याएर पनि संसद्भित्रै राखेको हामी सबैले देखेकै हो । अहिले ओलीको प्रवृत्तिविरुद्ध शेरबहादुर, पुष्पकमल, माधव नेपाल र झलनाथलाई साथ दिँदा भने राजनीतिक र वैचारिक दृष्टिले देश र जनताका निमित्त हानी नोक्सानी भएको छ भने वैयक्तिक रूपमा शेरबहादुर, पुष्पकमल, माधव नेपाल र झलनाथलाई ठूलो फाइदा भएको देखिन्छ । बाघ र बाख्राको मिलन, बाख्राले आफ्नो अस्तित्व छाडेमात्रै हुन्छ । बाज र परेवा एकै वृक्षमा वास बस्न सक्दैनन् । घोडा र घाँसले मित लाए भने घोडा बाँच्छर ?

योग र राजनीति भिन्न कुरा हुन् :
अहिंसा प्रतिष्ठायां तत्सन्निधौ वैरत्यागः । यो पातञ्जल योगसूत्रको सूत्रपाठ हो । यदि कुनै तपस्वीले तप र समानताको अवधारणाका माध्यमले त्यहाँको निश्चित आकाश, भूमि, अग्नि, वायु, रनवन सर्वत्र अहिंसामय बनायो र त्यहाँ बस्ने सारा जीवमा हिंसा (डर) तिरोहित भएर गयो भने त्यो अवस्थामा बाजले ढुकुर या परेवा खाँदैन । बाघले बाच्छी मार्दैन । वशिष्ठाश्रम, व्यासाश्रम, मुद्गलाश्रममा यस्तो भएको उपनिषदादि र पुराणमा वर्णित छन् । आजकै युगमा पनि शिवपुरी बाबाको आश्रम र खप्तडस्वामीका आश्रमका सम्बन्धमा यस्ता लोककथन सुनेको थिएँ मैले । यो त्यागप्रधान योगको कुरो हो ।

यसमा मानव सत्वगुणमा अधिष्ठित हुन्छ । राजनीति प्राप्तिप्रधान रजोगुण आव्याप्त मनस्थितिको कुरो हो । संग्रहको कुरो हो । राजनीति भनेको आफैँ हिंसा नै हो । यस सम्बन्धमा बिपीले राजनीतिका हिंसावृत्तिलाई नियन्त्रण गर्नका लागि ‘अति आवश्यक नभइकन राज्यले हिंसा गर्नु हुँदैन । नगरी नहुने अवस्थामा शान्तिकायम गर्नका लागि मात्र हतियार इस्तेमाल गरोस् राज्यले र भरसक मान्छे नमरून् जीवको नोक्सान नहोओस्’ । भनेर लेखेका छन् । भोलि प्रचण्ड आफ्नो साम्यवादी दर्शन जसले शक्ति र सत्ता बन्दुकका नालबाट प्राप्त हुन्छ भन्ने सिद्धान्त मान्छ त्यो गान्धीवादमा आउनसक्छ ?

कांग्रेस जो मानवभित्र अनन्त आयाम पत्रपत्र भएर खापिएर बसेका हुन्छन् । कुन बेला कुन चाहिँ आयाम उद्घाटित भएर संसारलाई नयाँ समानता, स्वतन्त्रता र विश्वभ्रातृताका दुनियाँमा पुर्‍याउँछ भन्ने दर्शनलाई मान्छ त्यो बन्दुकका नालबाट छुटेका गोलीले नयाँ विश्व बनाउँछ भनेर विश्वास गर्नसक्छ ?

कांग्रेस जो मानवभित्र अनन्त आयाम पत्रपत्र भएर खापिएर बसेका हुन्छन् । कुन बेला कुन चाहिँ आयाम उद्घाटित भएर संसारलाई नयाँ समानता, स्वतन्त्रता र विश्वभ्रातृताका दुनियाँमा पुर्‍याउँछ भन्ने दर्शनलाई मान्छ त्यो बन्दुकका नालबाट छुटेका गोलीले नयाँ विश्व बनाउँछ भनेर विश्वास गर्नसक्छ ? हो सुरुमा मैले घुलनशीलताका कुरा गरेजस्तै बाज परेवा र परेवा बाजमा या मृग बाघ र बाघ मृगमा रूपान्तरित या घुलिदियो भने देउवा, दाहाल, नेपाल र खनालमात्रै होइन केपी ओली पनि यो विश्वमा नयाँ सिद्धान्त प्रतिपादक भनेर मानिने छन् ।

लोकले पूजा पनि गर्नेछ । सिक्काका दुई पाटा भएजस्तै कुनै पनि घटना प्रतिघटनाका अनेकौं आयाम हुन्छन् तर ती खुल्नुपर्छ/देखिनुपर्छ अनिमात्रै त्यसको दर्शन स्थापित हुन्छ । अन्यथा यी सत्ता लिप्सुमात्रै ठहरिने छन् । ऐतिहासिक न्यायका कठघरामा यिनले एक वाक्य बोल्न सक्नेछैनन् । यिनको कल्पना र गुड्डी सोम शर्माको सातु साबित हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?