पारिवारिक प्रबन्ध

Read Time = 12 mins

✍️ सुरेशकुमार भट्ट

श्रीमती/श्रीमान् धेरै थरिका होलान् तर यहाँ तीन थरिको मात्र कुरा गरौँ :
१. स्वास्नी
२. सुभास्नी
३. श्रीमती

१. स्वास्नी :
स्व-आफू, आश्-आशा भरोसा, नि भरपरिने, आड भएकैले सायद ‘स्वास्नी’ भनिएको होला । त्यसैले आफूले आशा गर्न, भर गर्न, भरोसा लिन, भरोसा दिन, विश्वास गर्न, आफू नै उनी बन्न सक्ने लोग्नेले म भनेकै उनी हुन् उनी भनेकै म हो भन्ने आडभरोसा गर्न सकिने स्वभाव र कार्यकुशलताकी खानी छिन् भने तिनी स्वास्नी हुन् त्यो शिवको नारीश्वर रूपको श्रीमती हो श्रीमान् र श्रीमतीमात्र होइन परिवार छरछिमेकको समेत त्यो घरपरिवार आदर्श स्कुल हो । ती सुखी र अरूलाई समेत खुशी दिने हुन्छन् ।

२. सुभास्नी :
स्वास्नीमा हुनुपर्ने सारा गुणले पूर्ण भई बोलीवचन, स्वागत सत्कार, घरव्यवहार, वरव्यवहार सबै कुरामा आतुरभाव राखेर साना ठूलालाई यथोचित मर्यादा राख्ने मीठो र नरम बोलीकी धनी कसैलाई पनि नबिझाउने सबैकी मानसम्मानकी पात्र सुलक्षणा सुभाषिणी नारी हुन् । सुभास्नी श्रीमान् घरपरिवार वंश समुदाय सबैतिरकी प्रशंसनीय जसको चर्चा पार्वतीसँग जोडेर गरिन्छ ती नारी सबैकी पूज्य हुन् । यस्तै नारी समुदाय समाज परिवर्तनका भरोसायोग्य सभ्य र आदर्श नारी यस युगका पार्वती सती सावित्री हुन् ।

पारिवारिक झगडाको मूल कारण पनि पतिपत्नी अथवा ‘प’ नै हो तर प्रयाश गरे गल्ती चिराफारा गरी सुधारे ‘प’ बाटै सुध्रिन्छ, सुध्रिएको पनि पाइएकै छ । त्यसैले फेरि पनि प्रयाश र प्रायश्चित्त नै पहिलो जडौषधि हो पारिवारिक कलहको ।

हुन त राक्षस्नी पनि श्रीमती, स्वास्नी र शुभाष्नीकै नामले पुकारिन्छन् तर जसरी ब्राहृमण भनिएको छ ब्रहृम ज्ञानको रत्तिभर ज्ञानै छैन जन्मदैमा ब्राहृमण हुने अरे यो सरासर एक जातीय संस्कार हो । किनभने ‘जन्मना जायतो शुद्र कर्मणा द्विज उच्चते ।’ ‘ब्रहृम ज्ञान जानाति ब्रहृम । ब्रहृमज्ञान नजानेको के ब्राम्हण ?’ श्रीमतीको गुणै छैन स्वास्नीको चरित्रै छैन भने त्यो के श्रीमती ? त्यसैले श्रीमतीको नाममा हुने राम्रा नराम्रा कुराले परिवारको सन्ततिको भविष्य निर्धारण गर्दछ ।

३. श्रीमती 
श्री-लक्ष्मी र मति-बुद्धि लक्ष्मी जस्तै बुद्धिबर्कत भएकीले श्रीमती भनियो । गृहको आधार नै ग्रिहिणी भएकोले गृहलक्ष्मी नाम दिइयो होला । हर नारीहरू भगधारण गर्ने ‘सबै भगवती हुन्’ तर रूप र कर्म फरक-फरक हुन सक्छ । त्यसैले नाम पनि फरक फरक कर्म/कामअनुसार दिइएको बुझिन्छ । श्रीमती/स्वास्नी/ गृहिणी/गृहलक्ष्मी भनिनलाई तत् तत् गुण पनि हुनपर्‍यो नि । कर्कशा भए कलंकिनी सुभाषित भए सुभाषिणी रूप होइन गुणबाट पुकारिन्छन् यी मात्रृशक्ति रूपिणी भगवतीहरू । नत्र पुरुष र नारी दश परिको विवाहबन्धन अपनाउन सक्छन् लोग्नी स्वास्नी हुनसक्छन् । उमेरले पूर्ण र सक्षमहरू बाबुआमा हुनसक्छन् तर सक्कली बाबुआमा हुन र सक्कली श्रीमान् श्रीमती हुन सहज र सरल छैन जसमा सफल दाम्पत्य जीवनको कसीमा घोटिनलाई ।

स्वास्नी श्रीमान् दुवैमा ‘स’ आउँछ तर ती स/श/श्र मा फरक छ आफैँ सरल बन्दैन बनाउनुपर्छ जसमा स कै खाँचो हुन्छ त्यो के ? ‘समझदारी’ हो । समझदारीको सार नै सफल घरबार हो । कतिको खट्पट हुनुको पछाडि यही समझदारी सहनशीलता, सद्भाव र सम्मानको अभावको कारण देखिन्छ । किनकि यी चार स को अभाव भए संबेग, आवेग, इष्र्या, डाह, निन्दा अविश्वास जस्ता छ कुराले स्थान लिन्छन् र सधैँ परिवार छचल्किरहन्छ पत्नीपतिको नाता खट्पटिने र छट्पटिने अनि सधैँ छारष्ट परिरहन्छ तर दुवैले आआफ्ना कमजोरी पटक्कै स्वीकार्दैनन् । अनि त्यो परिवार तहसनहस भइरहन्छ, नसोचेको दुर्घटना पनि आबेगमा नहोला भन्न सकिँदैन ।

त्यसैले पारिवारिक झगडाको मूल कारण पनि पतिपत्नी याने ‘प’ नै हो तर प्रयाश गरे गल्ती चिराफारा गरी सुधारे ‘प’ बाटै सुध्रिन्छ, सुध्रिएको पनि पाइएकै छ । त्यसैले फेरि पनि प्रयाश र प्रायश्चित्त नै पहिलो जडौषधि हो पारिवारिक कलहको । तर, वास्तविक लोग्ने हुन याने पति हुन जसरी पति/मालिक/अगुवा/संरक्षक/सबैकुराको पूर्ण जिम्मेवारी लिन सक्ने गुणको हुनुपर्छ त्यसैगरी वास्तविक स्वास्नी हुन श्रीमतीकै गुण हुनुपर्छ । नत्र देखावटी र आँखा छल्ने सम्बन्ध पारिवारिक अभिशाप हो मन्द विष हो जसले परिवारै जिउँदै मार्छ, धुलोमा मिलाउँछ, जिउँदै जलेर सकिन्छ । बाँच्ने र मर्नेको ठेगान हुँदैन ।

अहिले नेपालमा मात्र होइन नेपाली पुगेका कुनै पनि कुनामा यी विकृतिले स्थान लिन थालेका छन् । जुन नेपाली समुदायकै लागि कलंक हो । यसले कंकाल बनाउँछ । रात दिनै तर्काउने र तर्साउने गर्दछ । परिवारमा मानसिक असन्तुलनले दुर्घटना कतिखेर निम्त्याउँछ भन्नै सकिँदैन । सबैमा चेतना आउनु जरुरी छ ।

भित्री बाहिरी-
मेरो पाँच सात वर्षको अमेरिका आउने जाने क्रममा अमेरिकनहरूको बारेमा त उतै केही सुनेर बुझेर आएको थिएँ भने पाताल पसेपछि युरोपमा बेलायत बस्ने र अमेरिका बस्ने नेपाली समुदायमा जसरी भारतीयहरूमा बेलायती र अमेरिकी प्रभावले केही परिवारको तहसनहस हँुदै आएको देखेँ सुने त्यसरी नै त्यही सिको र नक्कल नेपाली समुदायमा यदाकदा देख्नुपर्दा र सुन्नुपर्दा अति दुःख लागेकाले कनिकुथी अल्पअल्प यी हरफ कोर्ने धृष्टता गरेँ । हुन सक्छ जसका श्रीमान्श्रीमतीबीच खटपट भइरहन्छ तिनले यी हरफबाट दुःख मान्नुभन्दा होसियारी अपनाएर परिवार सुखी बनाऊन् भन्ने मेरो चाहना हो ।

आगे आफ्नो परिवार सुखी र दुःखी बनाउने आआफ्नो मर्जी तर गलतलाई गलत र सहीलाई सही भन्ने मानसिकताको विकास गरौँ र आफूले आफैँलाई सोधेर र सोचेर गलत प्रवृत्तिबाट मुक्त होऔँ अनि सकारात्मक सोचको विकास गरौँ नकारात्मक टिप्पणी गर्नुको सट्टा राम्रोमा स्याबासी र नराम्रोमा सुधारका लागि सुझाव र सहयोग गरौँ । भुल स्वीकार गर्नु कुचो लाउनु जस्तै हो, फोहर भए नि बढारे सफा भइहाल्छ, भुल स्वीकार गरे सच्चिइहाल्छ ।

अर्काको खोट र दोष देखाएर आपसमा रोष पैदा नगराँै । गल्ती सबैले गर्छन् । कामै नगर्नेको के गल्ती हुन्छ र त नि, जसले काम गरेकै छैन केमा गल्ती हुनु । गरेको भए पो देखिन्छ गल्ती भन्ने पनि हेक्का सबैले नै राख्नैपर्छ । तब सन्धि र सुलह भइहाल्छ । शान्ति आइहाल्छ । परिवार सुखी र खुशीयालीमा अगाडि बढ्छ । जहिले नि जहाँ नि जोसँग पनि रिसानी माफ रहोस् ।

अर्काको खोट र दोष देखाएर आपसमा रोष पैदा नगरौँ । गल्ती सबैले गर्छन् । कामै नगर्नेको के गल्ती हुन्छ र त नि, जसले काम गरेकै छैन केमा गल्ती हुनु । गरेको भए पो देखिन्छ गल्ती भन्ने पनि हेक्का सबैले नै राख्नैपर्छ ।

कसैको पनि भित्री बाहिरी कुचक्र नचलोस् जे छ खुलस्त होस् धोकाधडी नभए सबै शान्त र सुन्दर हुन्छन् । आज कतै पारिवारिक खट्पट छ भने त्यो त्यही भित्री बाहिरी मनोवृत्ति र धोकाधडी हो जबकि दुवैले लुकाइँदैन र लुकेर केही गरिँदैन भने शंका र अविश्वास उत्पन्न हुने कुरै हँुदैन । स्फटिकमा दाग लाग्दैन, गलत नगर्ने हड्बडाउँदैन । सामान्यतया गल्ती छिपाउन झुट बोलिन्छ, चर्को स्वरमा बोलिन्छ, रिसाउने वा रुने गरिन्छ सपथ खान्छ/किरिया हाल्छ तर जीउको कुनै न कुनै भाग थरथराउँछ वा लरबरिन्छ ।

बोलीमा साविककोभन्दा फरक आवाज निस्कन्छ । मुख सुक्छ वा दुईतिर गाज देखिन्छ किनकि त्यस्को आँत डराएको हुन्छ । यी सब कुरा नाची, खाई, खेली ठाडा भएका र समाजलाई नै मिचिसकेका साँढाहरूमा नदेखिन सक्छ । तर, यिनै चालामाला देखा पर्ने बित्तिकै शंका जन्मन्छ र खटपट सुरु हुन्छ । जबकि तपाईंमा इमान भए इमानदारीको प्रमाणपत्र चाँहिदैन । सिंगो तपाईंको इमान नै छर्लंग प्रमाण हो । राम चाहनेले सीता बनुन्, सीता चाहनेले राम अनि त सधैँ सीताराम गृह नै हुन्छ शान्ति धाम । (हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनुभएका भट्ट हिमालय टाइम्सका नियमित लेखक हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?