सिन्धुली क्षेत्र-२ को प्रदेशसभामा गठबन्धनका बम्जन र श्रेष्ठ निर्वाचित

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को दुबै प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा नेपाली काँग्रेसका छेत्रबहादुर बम्जन र (२) मा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

कांग्रेसका बम्जनले १६ हजार ८३५ मत पाउँदा नेकपा एमालेका विनोदकुमार खड्काले ११ हजार ६३३ मत प्राप्त गर्नुभएको छ । पाँच हजार २०२ मतान्तरले खड्का पराजित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयोे ।

बम्जन २०७४ को प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर २ को प्रदेश (२) मा माओवादी केन्द्रका बुद्धिमान माझीसँग पराजित हुनुभएको थियो । एमालेका खड्का २०७४ को प्रदेशसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

यसैगरी, प्रदेशसभा (२) मा माओवादी केन्द्रका श्रेष्ठले १३ हजार १ मत पाउँदा एमालेका रामकुमार पौडेलले नौ हजार ७८९ मत प्राप्त गर्नुभएको छ । उहाँले तीन हजार २१२ मतान्तरले पौडेललाई पराजित गर्नुभएको उहाँले बताउनुभयो ।

बाबुराम भट्टराईको समाजवादी पार्टीका उपाध्यक्ष रहनुभएका श्रेष्ठ माओवादीको चिन्हबाट प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिनुभएको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुलीको निर्वाचन क्षेत्र नं २ मा माओवादीबाट चुनाव लड्नु भएका श्रेष्ठले काँग्रेसका मोहन प्रसाद बरालसँग १ हजार ३ सय मतले पराजित हुनुभएको थियो ।

श्रेष्ठका प्रतिस्पर्धी पौडेल दुई महिनाअघिमात्र माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँ माओवादीमा हुँदा भूमि आयोगको जिल्ला अध्यक्षसमेत हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?