नेताको जितबाजीमा मतदातालाई हर्ष न बिस्मात

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 12 mins

सिन्धुली । आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी छ । मतगणनास्थलमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु परिणामको पर्खाइमा छन् । सामाजिक सञ्जाल विजयी र पराजयका मतले तातिएको छ ।

अनलाइनन्यूज पोर्टल र पत्रपत्रिकाहरु निर्वाचन बिशेष सामाग्री, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुको मत परिणाम र उम्मेदवारहरुका तस्वीरहरुले रंगिएका छन् । यो सबै देख्दा लाग्छ, संसारै चुनावमय भएको छ । उत्सव र उत्साहको सिमा छैन ।

तर, वास्तविकतामा स्वतन्त्र मतदाताहरुका लागि कागलाई बेल पाक्यो, ‘हर्ष न बिष्मात’ भनेझैँ भएको छ । आफूले मत प्रदान गरेका उम्मेदवार विजयी वा पराजय भएभन्ने कौतुहल्ता समेत भएको पाइँदैन । नेता, नेतृत्वप्रति भरोसा लाग्न छोडेकोले जसले जितेपनि आफूलाई उत्साह नहुने दुधौली नगरपालिका–३ खुट्टेपानीकी श्याममाया थापाले बताउनुभयो ।

‘गाउँको विद्यालय भवनबाट पानी चुहिन्छ । बालबालिका चिसो भुइँमा पढ्न बाध्य छन् । गाउँले गाँस, बाँस र कपासको अभावमा छट्पटिरहन्छन् । ऋणले सबैजसो पिरोलिएका छन् । गाउँमा रोजगारी छैन । समयसमयमा जंगली जनावर र खहरेखोलाले सास्ती दिइरहन्छ । यस्ता थुप्रै अभाव र समस्यामा जेलिएको यो ठाउँको लागि कसैले केही गरेनन्,’ उहाँले निरासाका कुण्ठा फुकाउनुभयो ।

हरेक चुनावमा भोट माग्न आउँदा आकाशको तारा ल्याइदिन्छु भन्नपछि नपर्ने तर जितेपछि गाउँमै नर्फकने नेताको प्रवृत्तिले उहाँहरुप्रति मतदाताको विश्वास घट्टै गएको उहाँको भनाइ छ । ‘जुन जोगी आएपनि कानै चिरेको, गाउँको दु:ख गाउँमै, आफ्नो दु:ख ठाउँमै,’ उहाँले भन्नुभयो ।
श्याममाया थापाले भन्नुभएजस्तै मतदातामा राजनीतिक दल, नेता र नेतृत्वप्रतिको विश्वास घट्टै गएको यसपटकको चुनावमा खसेको मतले पनि संकेत गरेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा दुईलाख ८ हजार ३६९ मतदाता थिए । यसमध्ये एकलाख १८ हजार ९६० मतमात्र खसेकोे निर्वाचन कार्यालयको तंथ्याकले जनाएको छ ।

२०४६ सालदेखि पटकपटक मतदान गर्नुभएका पारखी माइला कान्छाले जति पटक जसलाई भोट हालेर जिताएपनि नागरिकको जीवनस्थिति नबदलिएकाले मतदान गर्ने उत्साह पहिलाको जस्तो नभएको बताउनुभयो । ‘बहुदलीय व्यवस्था भएपछि पटकपटक भोट हाल्दै आएका छौँ । यतिका लामो समयसम्म पनि खासै परिर्वतन देख्न नपाएपछि किन मत हालेर नेतालाई जिताइरहने,’ उहाँले प्रश्न गर्नुभयो ।

तीनपाटन गाउँपालिकाकी स्थानीयबासी रीता बोगटीले स्थानीय तहको जस्तोउत्साहाजनक अवस्था प्रतिनिधिसभा र प्रदेशको चुनावमा नभएको बताउनुभयो । राजनीतिमा पुराना दलका पुराना नेताप्रति वितृष्णा बढ्दै गएको र नयाँ पार्टी तथा सक्षम युवाप्रति मतदाताको आर्कषण बढ्न थालेको उहाँको बुझाई छ ।

तीन पटकको चुनावमा मतदान गर्नुभएका तथा समाचार संकलन गरिसक्नु भएका नेपाल पत्रकार महासंघका कोषाध्यक्ष अनिल भण्डारीलाई यसअघिको चुनावको मतदान प्रक्रियामा सहभागी हूँदै गर्दा ठूलै चाडपर्व मनाउँदैछ भन्ने लाग्थ्यो । मतदानको दिन मतदानस्थलमा लागेको भिड प्रहरीलाई थेगिनसक्नु हुन्थ्यो ।

मतगणनाको परिणाम सुन्नको लागि मतदाता र कार्यकर्ता रातभर मतगणनास्थलमा भेटिन्थे । अहिले पार्टीका निकै कम कार्यकर्ता देखिन्थे । रातमा सुनसाना जस्तै देखिएको थियो । स्वतन्त्र मतदाता मतपरिणाम सुन्नेस्थलमा भेट्न विरलै पाइन्थ्यो । यसको कारण दलहरुले हामीलाई के गर्छन ? के गरे र अब के हुन्छर भन्ने खाल्को वितृष्णा मतदातामा देखिएको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार भुकम्पपछि बेरोजगारी बढेको छ । युवाहरु रोजगारीका लागि बाहिर गएका छन् । वैदेशिक रोजगारमा होस् वा देशभित्रका मुख्य सहरमा । उहाँहरु मतदान गर्न गाउँ फर्किएको देखिन । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतदानको दिन मतदाताको लाइनमा प्रायः महिला र जेष्ठनागरिकहरु मात्र देखिएको उहाँले सुनाउनुभयो ।

‘अहिले देशभरको मतपरिणामलाई हेर्दा नयाँ पाटी नयाँ उम्मेदवार वा स्वतन्त्र भइदिएदेखि केहि विकास हुन्थ्यो की भन्ने खाल्को आशा देखिएको पाइन्छ । सिन्धुलीको हकमा त्यो छैन,’ पत्रकार भण्डारीले भन्नुभयो, ‘नयाँ दलले पनि उम्मेदवारहरु सामाजिक क्षेत्रमा काम गरेको तथा चर्चा कमाएका उम्मेदवारहरु नदिएकाले पुरानै दलहरुलाई दोहोराउनु पार्ने बाध्यता देखियो । अहिले मतगणनाको खबर सुनिरहँदा र देशभरीको परिस्थितीलाई हेर्दा मतदाताहरुले नयाँ अनुहार नै रुचाएका होकी भन्ने लाग्छ ।’

सिद्धज्योती शिक्षा क्याम्पस सिन्धुलीका उपप्रधानाध्यापक नानीबाबु घिमिरे पनि पत्रकार भण्डारीको विचारलाई समर्थन गर्नुुहुन्छ । नागरिकलाई नेताप्रति वितृष्णा रहेको उहाँको बुझाई छ । अहिलेको निर्वाचनमा मतदान गर्न मतदाताको कम उपस्थिती देखियो । मतगणना स्थलमा पनि पहिलोको जस्तो भिडभाड छैन । यसको अर्को कारण गाउँका हरेक घरको एक जना प्रायः जसो विदेशमा छन् । विदेशमा गएका व्यक्ति लोकतन्त्रप्रति, नेताहरुको लोकतान्त्रिक विश्वास वा व्यवहार, आचारणप्रति वितृश्रित छन् । त्यो सन्देश परिवारमा पठाएका छन् ।

परिवारमा पनि लोकतानित्रक आन्दोलन गरियो । लोकतन्त्र आयो । तर हामीले जुन हिसाबले विकास पाउनु पर्ने, त्यो भएन । सेवासुविधा प्राप्त भएन, स्वदेशमा रोजगार प्राप्त भएन । यो लोकतन्त्र जनताको लागि होइन नेता नेतृत्वको लागि आएको मात्र हो । स्वार्थ, पदको लागि मात्र आएको रहेछ । पाटीपाटी मिल्ने गठबन्धन बनाउने आपसी समझदारी गरेर एक खालको स्वार्थ पुरा गर्ने मात्र भयो । जनताको लागि भएन भन्ने बुझाई आमरुपमा विकास हुँदै गएकाले मतदानमा मतदाताको संख्या घटेको मतदातासँग गरिएको कुराकानीमा आफूले पाएको उहाँले प्रष्ट्याउनुभयो ।

विदेशमा भएका मतदाता आउने कुरा रहेन । बाहिरी सहरमा कमाउन गएका मतदाता आएनन् । घरमा बिरामी, अलिकति अशक्त भएका मतदातालाई मतदानस्थलसम्म ल्याउने जाँगर सक्रिय कार्यकर्तामाहरुमा पनि देखिन । ल्याएर के हुन्छ र, यिनै नेताहरुले आफ्नो स्वार्थ पूरा गर्ने हुन्, आफ्नो परिवारको निम्ति केही गर्ने हुन्, जनताको निमित्त केही गर्दैनन्, भन्ने बुझाई आममतदातामा रहेको उहाँको भनाई छ ।

नेताहरुले जितेर पनि हाम्रा लागि के गर्छन् र भन्ने निरासाका कारण मतगणनास्थलमा पनि पहिलाको जस्तो उत्साह थिएन । नेताले जितेपछि जनताको लागि केही गर्छनकी भन्ने आशा र विश्वास कम हुँदै गएकाले यो परिस्थिती सिर्जना हुँदै गएको उहाँले बताउनुभयो । सूचना प्रविधिको कारण सूचना लिनदिन सजिलो भएकाले पनि मतगणनास्थलमा पहिलाको जस्तो दिनभर, रातभर बसेर यस्ले जित्छ, उस्ले जित्छ भन्ने खालको विश्लेषण, चर्चा कम हुँदै गएको हुनसक्ने उहाँको धारणा छ ।

नेकपा एमाले सिन्धुलीका प्रचारप्रसार विभागका संयोजक संञ्जयकुमार दाहाल चुनावमा जुन हिसाबले मतदातामा उत्साह हुनु पर्ने थियो, त्यो पहिलाको तुलनामा नदेखिएको स्वीकार्नु हुन्छ । पुराना राजनीतिक दलहरुप्रति विस्तारै जनताको आकर्षण घटेको अहिलेको निर्वाचनले देखाएको उहाँले बताउनुभयो । ‘यसको कारण, राजनीतिक दलहरुले जनताको अपेक्षाअनुसार काम गर्न नसक्नु नै देखिन्छ । नयाँ पुस्तामा राजनीतिक दलप्रति आर्कषणभन्दा बढी विर्कषण बढेको हो की,’ उहाँले भन्नुभयो ।

अहिले काँग्रेस, माओवादीका कार्यकर्ताहरुले नै पनि नचाहेको गठबन्धन जबरजस्ती भएको र यसको विद्रोहस्वरुप काँग्रेस, माओवादीकै शुवेच्छुकहरुले एमालेलाई मत दिनुभएको उहाँले बताउनुभयो । गठबन्धन नचाहने सबै मतदाताहरुको एमालेलाई साथ दिएको उहाँको जिकिर छ ।
‘मतदाताले काँग्रेस र माओवादीबीचको गठबन्धन रुचाएका छैनन् । एमाले र माओवादीबीच भएको गठबन्धनभन्दा अहिलेको गठबन्धन फरक छ । हिजो कम्युनिष्टहरु एक गर्ने र भागबन्डा गरेर पछि पार्टी एकीकरण हुने विषयले गठबन्धन भएको थियो । आजको गठबन्धन मात्र सत्ता बाँडफाँट र कुर्सीको लागि गरिएको गठबन्धन हो । यसमा जनता, कार्यकर्तामा चाहाना नभएको र त्यो खालको उत्साह पनि नभएको मतदाताहरुको प्रक्रिया छ,’ उहाँले सुनाउनुभयो ।

काम र पढाईको शिलशिलामा बाहिर गएका मतदाताहरुलाई मतदान गर्न ल्याउनको लागि राजनीतिक दलहरुबाटै त्यति पहल पनि नभएको उहाँले स्वीकार्नुभयो । उहाँकाअनुसार बाहिर भएका मतदाताहरु आफँै आउन पनि अनिच्छुक भएको पाइन्छ । केही मतदान गर्नु मेरो अधिकार हो भन्ने बुझेर आउनु भयो । कतिपय हामीले जिताए पनि केनै हुन्छ र भनेर आउनु भएन ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?