युनाइटेडसँग रोनाल्डोको सम्झौता रद्द

Read Time = 3 mins

लण्डन । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीचको सम्झौता रद्द भएको छ । क्लब र खेलाडीले आपसी समझदारीमा सम्झौता रद्द गरेका हुन् । युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको जनाएको छ । प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा गत वर्षमात्रै क्लबमा आबद्ध हुनुभएका रोनाल्डो रुष्ट बन्नुभएको थियो । उहाँलाई प्रशिक्षक हागले अधिकांश समय बेञ्चमै राख्नुभएको थियो ।

केही दिनअघिमात्रै रोनाल्डोले दिएको एक अन्तर्वार्ता पनि विवादित बनेको थियो । उहाँले क्लबमा सम्मान नै नभएको बताउनुभएको थियो ।
‘उहाँको योगदानका लागि क्लब एकदमै धन्यवाद दिन चाहन्छ । उहाँ र उहाँको परिवारको उज्वल भविष्यको कामना गर्दछौँ,’ युनाइटेडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार विश्वकपको पहिलो खेलमा घानाविरुद्ध खेल्नुअघि रोनाल्डोको यो खबर सार्वजनिक भएको हो । रोनाल्डो पोर्चुगलको कप्तानी गर्दै विश्वकपका लागि तम्तयार हुनुहुन्छ । विश्वकपअघि पनि उहाँले आफूले आवश्यक परेका बेला क्लबका विषयमा बोल्ने बताउनुभएको थियो ।

युनाइटेडका लागि ३४६ खेलमा रोनाल्डोले १४५ गोल गर्नुभएको छ । युनाइटेडमा पुनः आबद्ध हुन अघिल्लो वर्ष उहाँले युभेन्ट्स छोड्नुभएको थियो । ११ वर्षअघि पनि उहाँ युनाइटेडमा आबद्ध हुनुहुन्थ्यो ।

युनाइटेडमा उहाँको अझै सात महिनाको सम्झौता बाँकी थियो । उहाँले महिनाको पाँच लाख पाउण्ड पाउँदै आउनुभएको थियो । ‘म्यानचेस्टर युनाइटेडसँगको कुराकानीपश्चात् हामी आपसी समझदारीमा सम्झौता रद्द गर्न सहमत भएका छौँ,’ रोनाल्डोले लेख्नुभएको छ, ‘म म्यानचेस्टर युनाइटेड र उसका समर्थकलाई धेरै माया गर्छु । उहाँहरूप्रतिको मायामा कहिल्यै कमी हुनेछैन । यो समय मेरा लागि नयाँ चुनौती सामना गर्नुपर्ने हो । म क्लबको आगामी यात्राका लागि शुभकामना दिन चाहन्छु ।’ एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?