Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

यू-१९ क्रिकेट : बागमतीसँग गण्डकी हार्‍यो

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश बागमती प्रदेशसँग ७४ रनले पराजित भएको छ । जितका लागि २९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको गण्डकी ४५.४ ओभरमा २१९ रनमा अल आउट भयो । गण्डकीका ओपनर अर्जुन कुमालले ११९ बलमा नौ चौका र एक छक्कासहित सर्वाधिक ९८ रन बनाउनुभयो । ओपनर सोहेल कुँवर र अर्जुनले पहिलो विकेटका लागि ८.३ ओभरमा ४८ रनको साझेदारी गर्दै गण्डकीलाई राम्रो सुरुवात दिलाउनुभएको थियो । कुँवर २५ बलमा एक चौकासहित नौ रनमा आउट हुनुभयो ।

यस्तै, गण्डकीका गोविन्द विक १३, दीपक डुम्रे तीन र चिब्रिन श्रेष्ठले २१ जोड्नुभयो । चौथो विकेटका लागि चिब्रिन र अर्जुनले ५२ रनको साझेदारी गर्नुभएको थियो । पाँचौँ विकेटका लागि करण पंगेनीसँग ३४ रनको साझेदारी गर्नुभयो ।

बागमतीका अशोक पौडेलले १० ओभरमा ६४ रन खर्चेर तीन विकेट लिनुभयो । सक्रिय कार्की, ओमकार यादव र प्रतीक श्रेष्ठले दुई-दुई विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८.१ ओभरमा २९३ रनमा अल आउट भयो । बागमतीका उत्तम थापाले ७० बलमा १० चौका र तीन छक्कासहित ८७ रन बनाउनुभयो ।

यस्तै, योगेश भाटले ४२ बलमा पाँच चौका र तीन छक्कासहित ५२ रन जोड्नुभयो । पाँचौँ विकेटका लागि योगेश र उत्तमले ५८ बलमा ७७ रनको आक्रामक साझेदारी गर्नुभएको थियो । सक्षम बस्ताकोटी ३० बलमा तीन चौकासहित १८ र लक्की कठायत १२ रनमा आउट हुनुभयो ।
अभिषेक कोइराला १४ बलमा दुई चौका र तीन छक्कासहित ३२ तथा ओमकार यादवले २० बलमा चार चौका र एक छक्कासहित ३७ र अथर्भ पौडेलले २१ रन जोड्नुभयो । गण्डकी प्रदेशका सुदीप अर्याल र निर्तेश गिरीले समान तीन विकेट लिनुभयो । सुवास भण्डारी, अर्जुन कुमाल र चिब्रिन श्रेष्ठले एक-एक विकेट लिनुभयो ।

प्रतियोगितामा सात प्रदेशका टोलीमध्ये सिंगल राउण्ड रोविनका आधारमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल मंसिर १९ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?