अनेक रूपका बदर मत !

रासस
Read Time = 6 mins

बलेवा । सानो मत पत्र, चुनाव चिन्ह थोरै । एउटा मत पत्रमा एक संकेत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घरघरमा स्वयंसेविका खटाएर दिइएको मतदाता शिक्षा । उम्मेदवार तथा दलहरूले आ-आफ्नो चिन्हमा मत राख्नका लागि सञ्चालन गरेको मतदाता शिक्षा ।
मतदानको दुई दिन पहिलेसम्मका यी सबै क्रियाकलाप हेर्दा लाग्थ्यो- योपटक बदर मत निकै कम आउँछ । स्थानीय निर्वाचनमा बदर मत धेरै देखिएपछि यसपटक मतदाता शिक्षा पनि दिइएको हो । महिला स्वास्थ्य स्वयंसेविकालाई खटाएर पनि यस्तो शिक्षा दिइयो भने अर्कातर्फ राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले पनि घरघर पुग्ने अभियानमा पनि मत हाल्न सिकाएकै थिए । तर, शिक्षा र सचेतनाको कमी भनौँ या दल या उम्मेदवारहरू प्रतिको वितृष्णा । धेरै र अनेक तरहका बदर मत भेटिएका छन् बागलुङमा ।

मतगणना जारी रहेको बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभामा ६ वटा चुनाव चिन्ह छन् । मत संकेत गर्न निकै सहज मतपत्र हुँदाहुँदै पनि मतदाताले भने एउटा मात्रै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्नेमा ६ वटै चिन्हमा छाप लगाएका छन् । यस्तो बदर मतको संख्या गन्ने हो भने उल्लेख्य छ । मतपत्रमा रहेका कुनै पनि चिन्हमा छाप नलगाएका मतपत्रको संख्यामा पनि कमी छैन । नेपालको संविधानले नो–भोटको व्यवस्था गरेको छैन । त्यसैले मतपत्रमा नो भोटको विकल्प राखिएको छैन । सायद यसैको प्रतिफल पो हो कि ? मानिसहरूले नो भोटको स्वरूपमा मत बदर गराइरहेको देखिँदै छ ।

केही बदर भएका मतपत्र यस्ता छन् जहाँ नो भोट लेखेर छाप नलगाई छोडेको पाइयो । बागलुङ क्षेत्र नं १ मा १४ हजार एक हजार २३ मतगणना हुँदा ४५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सूचनामा उल्लेख छ । बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाइएका मत छन् भन्ने स्पष्ट देखिने गणनामा बसिरहेका अधिकारीहरू बताउँछन् । ‘कैयौँ मत खाली छन्, सायदै कसैले नजानेर खाली खसालेको होस्’, मत गणनामा सहभागी एक कर्मचारीले भन्नुभयो, ‘कतिपय मतपत्रमा नो भोट लेखेको भेटेका छौँ भने कुनै मतपत्रमा चाहिँ सबै चिन्हमा छाप लगाइएको पनि छ’, दलहरू तथा उम्मेदवारहरू प्रतिको वितृष्णा मतदाताले मतपत्रमा पोखेको भेटेको ती कर्मचारीले बताउनुभयो । बागलुङ क्षेत्र नं १ प्रदेशसभा (१)मा १५ हजार ९०३ मतगणना हुँदा ३५२ र प्रदेशसभा (२)मा १५ हजार १६५ मतगणना हुँदा ३९१ मत बदर भएका छन् । ‘वृद्धवृद्धा र अशक्तहरूका मत वारेसमार्फत खसेका हुन्, एकाघरको व्यक्तिलाई वारेस बस्न दिइएकाले बदर कम हुनुपर्ने हो’, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य खगेन्द्र पौडेलले भन्नुभयो, ‘सबै चिन्हमा लगाउने, खाली मत खसाल्ने गतिविधि नजानेरभन्दा जानेरै गरेको हुनुपर्छ ।’

दलहरूले बदर मत, विगतका निर्वाचनमा भन्दा फरक नतिजा आउनेगरी खसेको मत र मत जाहेर गर्दा मतदातामा देखिएको वितृष्णा किन उत्पन्न भइरहेको छ भन्ने विषयको अब खोजी हुनुपर्ने बागलुङ नगरपालिका-२ का युवा मनीष रायमाझी बताउनुहुन्छ । ‘एक मतदाताले भने मैले मत दिएँ तर मन लागेर दिएको होइन । आफ्नो अधिकार प्रयोग गरौँ भनेर गएँ तर सबैमा लगाइदिएँ’, बागलुङ नगरपालिका-२ का एक मतदाताले भन्नुभयो, ‘निर्वाचन हारजितको खेल मात्रै भयो, जितेकाले जनतालाई फर्केर हेरेनन्, न त उनीहरू चुनाव जितेर गएपछि जनताका दुःख के छन् ? भनेर हाम्रो घरमा फर्केर आएनन्, त्यसैले मलाई मत दिनै मन लागेन ।’

स्थानीय तहको निर्वाचनको समयमा एउटै मतपत्रमा धेरै ठाउँमा छाप लगाउनुपथ्र्याे त्यसैले भूलवश या नजानेर पनि मत बदर हुने सम्भवाना धेरै थियो । तर, अहिले त्यस्तो छैन । सानो मतपत्र, थोरै उम्मेदवार र स्पष्ट र थोरै चिन्हहरू । तर, पनि यो निर्वाचनमा बदर मत धेरै अनि विभिन्न स्वरुप र तरहमा आएका छन् । त्यसैले आगामी निर्वाचनहरूमा समृद्ध व्यक्ति र निकायले यस विषयमा सोच विचार गर्नुपर्ने देखिन्छ । रासस ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?