काठमाडौंमा नयाँ अनुहारको प्रवेश

एमालेलाई धक्का, कांग्रेसले जोगायो विरासत, राष्ट्रिय स्वतन्त्र पार्टीको जबरजस्त उदय

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । मुलुकको केन्द्रीय राजधानी रहेको काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभाको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको मत परिणामअनुसार काठमाडौंका पाँचवटा निर्वाचन क्षेत्रमा कांग्रेस, चार वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमाले उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगनकुमार थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसी कांग्रेसबाट निर्वाचित हुनुभएको छ । त्यस्तै, काठमाडौं २, ६, ७ र ८ मा क्रमशः स्वतन्त्र पार्टीका सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ क्षेत्र नम्बर ९ बाट विजयी हुनुभयो ।

काठमाडौंमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ भने गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनपछि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी अप्रत्याशित रूपमा अगाडि आएको छ । २०७४ को निर्वाचनमा काठमाडौंको ६ वटा निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए । तत्कालीन वाम गठबन्धन हुँदा कांग्रेसले चारवटा क्षेत्रमा मात्रै जित हासिल गरेको थियो ।

तर, एमालेलाई २०७९ सालको निर्वाचनमा गम्भीर धक्का लागेको छ । यो निर्वाचनमा एमाले काठमाडौंका एक सिटमा मात्रै चित्त बुझाउन बाध्य भयो । नेकपा एमाले काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ बाहेक अन्यमा जीतविहीन भएको छ । अघिल्लो निर्वाचनमा काठमाडौं–३ मा एमालेका कृष्णकुमार राई विजयी हुनुभएको थियो । क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका डा.प्रकाशशरण महतलाई झण्डै दोब्बर मतान्तरले ईश्वर पोखरेल विजयी हुनुभएको थियो । क्षेत्र नम्बर ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्ण गोपाल श्रेष्ठ विजयी हुनुभएको थियो । यस्तै, क्षेत्र नम्बर २ मा माधवकुमार नेपाल विजयी हुनुभएको थियो । तर, यो निर्वाचनमा क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठले जित जोगाउन सके पनि अन्यमा भने एमालेका उम्मेदवार पराजित भएका छन् ।

२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले एमालेका मणिराम फुँयाललाई पराजित गर्नुभयो । क्षेत्र नम्बर २ मा हाल एकीकृत समाजवादी पार्टीमा रहनुभएका माधवकुमार नेपालले अघिल्लो निर्वाचन जित्नुभएको थियो । नेपालले अर्को पार्टी खोलेपछि एमालेले सो क्षेत्रमा मणिराम फुँयाललाई उठाएको थियो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले जित हासिल गर्नुभयो । सोविताले १५ हजार २२९ मत पाउँदा एमालेका मणिराम ११ हजार ५५५ मतमा खुम्चिनुभयो । यस्तै, क्षेत्र नम्बर ३ मा एमालेको सिट खोस्दै कांग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मतका साथ विजयी हुनुभयो । यसअघिका विजेता कृष्ण राई ११ हजार १९६ मत पाएर पराजित बन्न पुग्नुभयो । ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित हुनुभयो । पौडेलले १५ हजार २३७ मत हासिल गर्दा पोखरेल १० हजार १७५ मत पाएर दोस्रो हुनुभयो ।

क्षेत्र नम्बर ७ मा पनि एमालेले नै आफ्नो सिट गुमाएको छ । एमालेले यसअघि विजयी हुनुभएका रामवीर मानन्धरलाई टिकट नदिएर श्यामकुमार घिमिरेलाई टिकट दियो । यस्तै, मानन्धरले बागी उम्मेदवारी दिनुभयो । सो क्षेत्रमा एमालेभित्रको अन्तरविरोध तथा नयाँ पार्टीको पक्षमा देखिएको लहरले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी हुनुभयो । पराजुलीले आठ हजार ७४३ मत पाउँदा एमालेका घिमिरेले ६८ सय मत पाएर दोस्रो हुनुभयो । यस्तै, राजनीतिमा आशा गरिएकी माओवादी केन्द्रकी मानुषी यमी भट्टराई पनि अनुमोदित हुन सक्नुभएन । भट्टराई ६ हजार ६३ मतका साथ तेस्रो हुन पुग्नुभयो ।

यता, काठमाडौं ८ मा पनि एमालेको कमजोर उपस्थिति रह्यो । यसअघिको निर्वाचनमा एमालेबाट विजयी हुनुभएका जीवनराम श्रेष्ठ एकीकृत समाजवादीबाट चुनाव लडे पनि पराजित बन्न पुग्नुभयो । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी हुनुभयो । विराजले १० हजार १०५ मत ल्याउँदा जीवनरामले चार हजार ८७७ मत पाएर तेस्रो स्थानमा चित्त बुझाउन बाध्य हुनुभयो । काठमाडौं ९ मा भने कृष्णगोपाल श्रेष्ठ जितलाई जोगाउन सफल हुनुभयो । श्रेष्ठले ११ हजार ९५६ मतका साथ विजय हासिल गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १० हजार ९६१ मतका साथ दोस्रो स्थानमा चित्त बुझाउन पुग्नुभयो ।

दुई क्षेत्रमा हृयाट्रिकसहित कांग्रेस पाँच क्षेत्रमा विजयी

काठमाडौंमा एमालेले धक्का बेहोर्दा नेपाली कांग्रेस भने काठमाडौंमा विरासत जोगाउन सफल भएको छ । वाम गठबन्धनसँग एक्लै लड्दा पनि कांग्रेसले अघिल्लो निर्वाचनमा काठमाडौं १,४,६ र १० गरी चार प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गर्न सफल भएको थियो । यसपटक कांग्रेसले एक सिट बढाएको छ । कांग्रेसले यसपटक काठमाडौं १,३,४,५ र १० निर्वाचन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पुनः विजयी हुनुभएको छ । सिंह यो क्षेत्रबाट लगातार चारपटक निर्वाचित हुनुभएको छ ।

अघिल्लोपटक एमालेले जितेको क्षेत्र नम्बर ३ यसपटक खोस्न सफल भएको छ । कांग्रेसका सन्तोष चालिसे अघिल्लो निर्वाचनका विजेता कृष्णकुमार राईलाई पराजित गर्न सफल हुनुभएको छ । काठमाडौं ४ मा गगन थापाले आफ्नो जितलाई कायम राख्नुभएको छ । क्षेत्र नम्बर ४ मा विजयी गगनले २१ हजार ३०२ मत पाउँदा एमालेका राजन भट्टराई १३ हजार ८५५ मत ल्याएर पराजित हुनपुग्नुभयो ।

कांग्रेस महामन्त्रीसमेत रहनुभएका थापाले यही क्षेत्रबाट जितमा हृयाट्रिक गर्नुभएको छ । थापा यसअघि २०७० र २०७४ मा पनि निर्वाचित हुनुभएको थियो । काठमाडौं ६ मा भने कांग्रेसले सिट गुमाउन पुगेको छ । कांग्रेसका भीमसेनदास प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग फराकिलो मतान्तरले पराजित हुनुभएको छ । अघिल्लो निर्वाचनमा प्रधानले वाम गठबन्धनका साझा उम्मेदवार झक्कु सुवेदीलाई पराजित गर्नुभएको थियो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार (राजन) केसीले जितमा हृयाट्रिक गर्नुभएको छ । एमालेका उम्मेदवार हिमेश केसीलाई ठूलो मतान्तरले पराजित गर्दै केसीले जितलाई निरन्तरता दिनुभएको हो । राजनले १४ हजार ४५८ मत पाउँदा हिमेशले ११ हजार ७८६ मतमा सीमित हुनुभयो । संविधानसभा निर्वाचन २०७० सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेर संसदीय यात्रा सुरु गर्नुभएका केसीले २०७४ सालमा वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पारजित गर्नुभएको थियो ।

युवा र नयाँलाई काठमाडौंवासीको स्वागत
काठमाडौंका मतदाताले समग्रमा यो निर्वाचनमा नयाँ पार्टी र युवा उम्मेदवारलाई जिताएका छन् । काठमाडौं २,६,७ र ८ मा नयाँ पार्टी राष्ट्रिय स्वतन्त्रका उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं २ मा सोविता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ पुराना र स्थापित राजनीतिक दलका हेभिवेट उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । यस्तै, काठमाडौं ४ र ५ मा कांग्रेसका आशा गरिएका युवा उम्मेदवारहरू गगन थापा र प्रदीप पौडेल विजयी हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?