नेपाली राजनीतिको अनौठो परिदृश्य

नेपाली कांग्रेस नेपालको पुरानो राज्यशक्ति मानिएको छ । यसपटकको निर्वाचनमा पुराना शक्तिहरूलाई विस्थापित गर्ने प्रयास भएकै हो । नाराहरू पनि लागेका हुन् पुरानालाई हटाएर युवाहरूलाई अगाडि बढाऔँ भनेर । नेपाली कांग्रेस नेपालका विद्यमान पार्टीहरूमा सबैभन्दा पुरानो पार्टी हो र जे भनिए तापनि अझै नेपालको राजनीतिको मियो बनेर यो पार्टी रहन सकेको छ । अहिलेको परिणामले समेत यस्तै देखाइरहेको छ । यसका विरुद्धमा अनेक अभियान चलाइए तर यो पार्टी नै नेपालको पहिलो पार्टी हुने संकेत देखिइसकेका छन् । तर, यसो भन्दैमा नेपालमा नेपाली कांग्रेसमात्र सर्वोपरी हो भन्ने होइन । नेकपा एमाले पनि नेपालको एउटा बलियो राज्यशक्ति हो भन्ने पनि देखिन आएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका त्यसबेलाका गलत व्यवहारले अन्य पार्टीहरू एक ठाउँ उभिन बाध्य भएका थिए र तिनको गठबन्धनबाट बनेको सरकार हालसम्म पनि कायमै छ । यही सरकारले निर्वाचनसमेत गरायो । त्यसपछि पनि गठबन्धन कायमै रहेको छ । आफ्नो बचाउका लागि नेकपा एमालेले पनि केही साना दलहरूसँग गठबन्धन त ग¥यो तर त्यो सत्तरुढ दलहरू जति मजबुत थिएन । तैपनि एमाले नेपालको दोस्रो ठूलो राजनीतिक शक्तिका रूपमा अगाडि अइरहेको छ । यसबाट यो दलको सामथ्र्यलाई कम आकलन गर्न मिल्दैन भन्ने देखिन आएको छ । परिणामहरू प्ररम्भिक चरणमा छन् तर यसबाट पनि केही अन्दाज गर्न सकिन्छ ।

अरू प्रमुख पार्टीहरू एकातिर हुँदा पनि एमाले दोस्रो शक्तिका रूपमा आउन सफल हुनुभनेको उसको वर्चस्वको मानक स्थिति हो । माओवादी नेपाली राजनीतिक मञ्चमा पछि उदाएको पार्टी हो । हिंसाबाट आएको पार्टी भएका कारण सुरुका दिनमा जनतामा भएको त्रास र आस दुवै कारणले यो पार्टी अगाडि आउन सफल भयो तर त्यसपछि भने यो पार्टी क्रमशः क्षीण हुँदै गएको छ । यो पार्टी जसरी आयो त्यसरी नै पछाडि धकेलिँदै गएको अवस्थामा देखियो । शान्तिकामी नेपालीहरूले हिंसाबाट आएको पार्टीलाई मन नपराएको ठहर अहिले हुँदै आएको छ । त्यसैले यो नेपाली कांग्रेसको संरक्षणबाट आफ्नो अस्तित्व जोगाउन गठबन्धन गरी निर्वाचनमा गएको थियो तर अब यसलाई आफ्नो साख जोगाउनसमेत मुस्किल हुने देखिँदैछ ।

यो निश्चित छ अब यस पार्टीले आफ्नो कमजोरी लुकाउन र पराजयको पीडा बिर्सनसमेत नेपाली कांग्रेसलाई दोषको भागी बनाउनेछ । यस पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल प्रयोग गरेर नेपाली कांग्रेसलाई गाली गर्न सुरु गरिसकेका छन् तर पार्टीको आधिकारिक धारणा भने आएको छैन । निर्वाचन परिणाम आइसकेपछि पार्टीले पनि यस्तै आक्षेप कांग्रेसलाई लगाउनेछ भन्ने अड्कलबाजीहरू हुन थालिसकेका छन् । नेकपा एकीकृत समाजवादीको अवस्था त माओवादीको भन्दा कमजोर पहिलेदेखि नै थियो र अहिले पनि त्यस्तै देखिँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीहरू अब नेपाली राजनीतिमा भित्रिँदैछन् ।

नेपालको राष्ट्रिय राजनीतिमा केही परिवर्तीत परिदृश्यहरू देखिँदैछन् भने केही पुरानै पार्टीको परम्पराको नियमितता कायम रहने स्थितिसमेत छ । केही राजनीतिक विश्लेषकहरूले आमनिर्वाचन हुनुपूर्व नै आगामी राजनीतिक शक्ति भनेका नेपाली कांग्रेस र एमाले नै हुन् भनेको थिए । अहिले त्यस्तै देखिन आएको छ । राजनीतिमा कोही स्थायी मित्र र कोही पनि स्थायी शत्रु हुँदैन भनिन्छ । के थाहा भोलिको समीकरण नेपाली कांग्रेस र एमालेका बीचमा नबन्ला भन्ने छैन । तर, अहिले नै यसोभन्दा त्यो छिटो हुनसक्छ भन्ने भय रहला । यसो भन्दैमा नयाँ उदाइरहेका र पछि पर्दै गएका पुराना पार्टीहरूको शक्ति र सामथ्र्यलाई पनि सम्मान गर्नैपर्ने हुन्छ । त्यसको विश्लेषण भने सबैतिरको निर्वाचन परिणाम आइसकेपछि मात्र गर्दा उचित होला ।

तर, सकेसम्म सबै राजनीतिक विचार लिएका सबै पार्टीहरूका बीचमा विकास निर्माणका काममा एक मन गरी अगाडि बढ्न सके भरखर प्राप्त लोकतान्त्रिक संघीय गणतन्त्र चिरस्थायी हुनसक्ने थियो । राजनीतिक विचार र सिद्धान्त फरक-फरक भएका पार्टीहरूबीच एकता कायम हुन नसके तापनि हाल प्रकारान्तरले भए पनि मित्रशक्ति देखिन आएका गठबन्धनका पार्टीहरूले आफ्नो विजय परराजयलाई आत्मसात गर्दै अर्को पार्टीलाई दोष नदिई आफ्नै कारणले यस्तो भएको हो भनेर यथार्थ विश्लेषणसहित पुनः सहकार्य गर्दै अगाडि बढ्नु राष्ट्रका लागि हितकर हुन आउँछ । आपूm स्थापित बन्न अर्काको अस्तित्वलाई पनि स्वीकार गर्न सक्नुपर्छ । यसतर्फ सबै पार्टी उदार हुनु नितान्त आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?