गुल्मी– २ का सबै क्षेत्रमा एमाले विजयी

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा यहाँ नेकपा (एमाले) का सबै उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यका लागि यहाँ नेकपा एमालेका उम्मेदवार र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिनिधि सभामा नेकपा एमालेका केन्द्रीय सचिव गोकर्णराज विष्ट विजयी हुनुभएको छ । उहाँले २८ हजार ४७६ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्रीलाई दुई हजार ३५ मतको अन्तरले पराजित गर्दै विष्ट विजयी हुनुभएको हो । झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नुभएको छ ।

सोही क्षेत्रको दुवै प्रदेश सभामा नेकपा (एमाले) का उम्मेदवार नै विजयी भएका छन् । प्रदेश सभा (क) मा नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य डिल्लीराज भुसाल विजयी हुनुभएको छ । उहाँले १४ हजार २८५ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठलाई एक हजार ४९ मतको अन्तरले पराजित गर्दै भुसाल प्रदेश सभामा विजयी हुनुभएको हो । श्रेष्ठले १३ हजार २३६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, प्रदेश सभा (ख) मा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिनेश पन्थी विजयी हुनुभएको छ । उहाँले १३ हजार ९२९ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) गुल्मी जिल्ला संयोजक बुद्धि जिसीलाई ११० मतको अन्तरले पराजित गर्दै प्रदेश सभामा विजयी हुनुभएको हो । जिसीले १३ हजार ८१९ मत प्राप्त गर्नुभएको छ ।

एक लाख ४ हजार ३२७ कुल मतदाता रहेका यस निर्वाचन क्षेत्रमा ५८ हजार ७७३ मत खसेको थियो । सोमबार साँझदेखि सुरु गरिएको मतगणना बुधबार सकिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?