भोजपुरको प्रदेश (क)मा मुख्यमन्त्री राई र (ख) मा बान्तवाको जित

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा गठवन्धन दलका उम्मेदवार बिजयी भएका छन । प्रदेशसभा (क) तर्फ प्रदेश नम्वर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र प्रदेश (ख) बाट नेपाली कांग्रेसका जिल्ला सभापति बिनोद बान्तवा निर्वाचित हुनु भएको हो ।

एमालेका उम्मेदवारलाई पछि पार्दे राई र बान्तवाले बिजय हासिल गर्नु भएको छ । प्रदेशसभा (क) मा मुख्यमन्त्री राईले १६ हजार एक सय १० मत प्राप्त गर्नु भएको छ भने प्रतिस्पर्धी एमालेका हरि बहादुर राईले १२ हजार दुई सय २३ मत प्राप्त गर्नु भयो । प्रदेश (क) मा ६४ हजार दुई सय ३६ कुल मतदाता रहँदा ३२ हजार तीन सय ३२ मत खसेको छ भने ३० हजार नौ सय ९२ सदर र एक हजार तीन सय ४० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको बिवरणमा उल्लेख गरिएको छ ।

यता प्रदेशसभा (ख) तर्फ बान्तवाले १३ हजार पाँच सय ७९ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका खडगबहादुर कार्कीले १२ हजार आठ सय २८ मत पाउनु भएको थियो । दुवै बिचको अन्तर सात सय ५१ हो । सो क्षेत्रमा कुल ५९ हजार एक सय ४३ मतदाता रहेकोमा २९ हजार चार सय ७४ मत खसेको थियो । जसमा २८ हजार तीन सय २५ सदर र एक हजार एक सय ४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको बिवरणमा उल्लेख गरिएको छ ।

समानुपातिकको मत पेटिकामा केही मत परेको हुन सक्ने भएकाले सो गणना भन्दा अगाडी औपचारिक घोषणा भने नगरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा तर्फ भने मतगणना जारी रहेको छ । सो मतगणना पनि चाडै सक्ने गरी गणना भई रहेको मुख्य निर्वाचन अधिकृत मणीराम न्यौपानेले बताउनुभयो ।

भोजपुरमा १ लाख २३ हजार ३ सय ७९ कुल मतदाता रहेकोमा ६२ हजार एक सय ८१ मत खसेको थियो । जुन ५० दशमलव ३९ प्रतिशत हो । भोजपुरमा प्रतिनिधिसभा तर्फ १२, प्रदेशसभा (क) मा ७ र (ख) मा ६ जना गरी २५ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?