Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

एनआरएनएले पोखरामा ब्लड कोल्ड रुम बनाउने

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुम स्थापना हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा पोखराको निर्माणाधीन भवनमा २० लाख रुपैयाँ लगानीमा ब्लड कोल्ड रुम निर्माण हुने भएको हो ।

बिरामीका लागि संकलित ब्लडको ल्याब टेस्टपछि निश्चित समयसम्मको माइनस ४६ डिग्रीसम्मको कोल्ड रुममा अनिवार्यरूपमा राख्नुपर्ने भएकाले कोल्डस्टोरको आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ ।

सोही अवसरमा गैरआवासीय नेपाली संघ(एनआरएनए)की अध्यक्ष रविना थापाको एनआरएनए जापान र रेडक्रस सोसाइटी कास्की शाखा पोखराबीच गत साता एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एनआरएनए अध्यक्ष थापाले एनआरएनएले सातवटै प्रदेशमा ब्लड बैंक स्थापना गर्न लागेको जानकारी दिनुभयो । उहाँले एनआरएनए रेडक्रस जस्ता अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताउनुभयो ।

रेडक्रस सोसाइटी कास्कीले पोखरा, चितवन, काठमाडौंलगायत देशका विभिन्न शहरमा बिरामीलाई ब्लड उपलब्ध गराउँदै आएको रेडक्रस सोसाइटीका सचिव धर्मराज अधिकारीले जानकारी दिनुभयो । एनआरएनएका अनुसार कार्यक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानका अध्यक्ष शिवप्रसाद पौडेल, आइसिसी सदस्य लक्ष्मण बानियाँ, एनआरएनए अभियन्ता नारायण थापालगायतको उपस्थिति रहेको थियो ।

नेपाल आउने र फर्केका पर्यटकबीच अन्तरक्रिया
एनआरएनएअन्तर्गतको पर्यटन प्रवद्र्धन समिति र युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम (इएनसिसिटी) ले संयुक्तरूपमा आगामी वर्ष नेपाल आउने पर्यटकका लागि आवश्यक जानकारी दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरेका छन् ।

समितिका संयोजक तथा संघका प्रवक्ता सोम सापकोटाका अनुसार गत साता भर्चुअल कार्यक्रममा नेपाल भ्रमण गरिसकेका र आगामी वर्ष भ्रमणको तयारी गरेका पर्यटकबीच छलफल भएको थियो । कार्यक्रममा इएनसिसिटीका अध्यक्ष दीपेशमान शाक्य र एनआरएनए पर्यटन प्रवद्र्धन समितिमा सदस्य कमल भट्टले संयुक्तरूपमा पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मल्टा, आयरल्याण्ड, युके र स्वीट्जरल्याण्डबाट नेपाल गएर फर्किएका पर्यटक र आगामी वर्ष जाने योजनामा रहेका पर्यटकबीच छलफल भएको संघका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा बेल्जियम, मलेसिया, जर्मन, चीन, इटाली, मल्टा, आयरल्याण्ड, युके, स्वीट्जरल्याण्डलगायत १३ देशका पर्यटकको सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?