अबको संसद् र कस्तो सरकार ?

कुनै दलको स्पष्ट बहुमत नआउने संकेत, गठबन्धन गर्नेबारे प्रमुख दलका शीर्ष नेताहरू नै मौन

यज्ञराज पाण्डे
Read Time = 9 mins

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । १६५ निर्वाचन क्षेत्रमध्ये बिहीबार अबेरसम्म ८३ सिटको परिणाम आइसकेको छ । मतगणना भएका १६२ मध्ये ७८ को नतिजा आइसकेको छ । तीन निर्वाचन क्षेत्रमा मतगणना नै हुन सकेको छैन । अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने स्पष्ट देखिइसकेको छ । त्यसैले समानुपातिक मतगणना भई सिट बाँडफाँड नभएसम्म नयाँ सरकारको स्वरूपबारे अनुमान गर्न निकै कठिन छ । त्यसैले पनि अहिलेसम्म प्रमुख वा विपक्षमा रहेका कुनै पनि दलले नयाँ सरकारको भविष्यबारे केही बोलेका छैनन् ।

सरकार बनाउन दलहरूबीच गठबन्धन गर्नैपर्ने
बिहीबार राति सम्मको अंकगणित हेर्दा नेपाली कांग्रेसले ३२ स्थानमा जितेको छ भने २१ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । यसरी प्रत्यक्षतर्फ नेपाली कंग्रेसको ५० देखि ५५ सम्म सिट जित्ने देखिन्छ । त्यसैगरी, नेकपा (एमाले)ले २० सिट जितेको छ भने २७ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । यसरी एमालेको कुल सिट संख्या ४० देखि ४५ प्राप्त गर्ने देखिन्छ । त्यस्तै, माओवादी नौवटा स्थानमा जितेको छ भने आठ स्थानमा अग्रता लिएको छ । यसरी माओवादीले पनि १५ सिट जति प्राप्त गर्ने देखिन्छ । त्यस्तै, समाजवादी पार्टीको १० वटा जति र राष्ट्रिय स्वतन्त्र पार्टीको पनि सात सिट जति प्राप्त गर्ने देखिन्छ । बाँकी सिट अन्य दलले जित्दै छन् । यसरी विभिन्न पार्टीहरूको मतलाई हेर्ने हो भने स्पष्ट बहुमत कुनै पार्टीको आउने देखिँदैन ।

प्रत्यक्षतर्फ १६५ सिट रहने प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको मतको मूल्यांकन हो यो । तर, ११० सिट भने समानुपातिक मतका आधारमा पार्टीलाई जान्छ । अहिले खसेको कुल मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूले मोटामोटी समानुपातिकतर्फ करिब ८६ हजार मत प्राप्त गर्दा एउटा सिट प्राप्त हुने देखिन्छ । तर, दलहरूले अहिले प्राप्त गरिरहेको समानुपातिक मत संख्यालाई आधार मान्ने हो भने पनि कुनै दलको बहुमत पुग्ने देखिँदैन । यसर्थ सरकार गठनका लागि संसद्मा दुई वा सोभन्दा बढी दल मिलेर बनाउनुपर्ने देखिन्छ ।

के भन्छ संविधान ?
सरकार कसरी बन्छ भन्ने विषयमा संविधानको धारा ७६ ले व्यवस्था गरेको छ । धारा ७६ को पहिलो उपधारामा कुनै पनि दलको स्पष्ट बहुमत आएमा सो दलको संसदीय दलको नेता प्रधानमन्त्रीमा राष्ट्रपतिले नियुक्त गर्ने र सो प्रधानमन्त्रीले क्याबिनेट गठन गर्ने प्रावधान छ । तर, संसद्मा कुनै दलको स्पष्ट बहुमत नआएपछि यसरी सरकार बन्ने प्रक्रिया टुंगिन्छ । त्यसपछि उपधारा ७६ लागू हुन्छ । यो उपधारामा संसद्मा उपस्थित दुई अथवा त्योभन्दा बढी दल मिलेर स्पष्ट बहुमत पुर्‍याएमा सरकार बन्छ । संविधानको यो व्यवस्था नै यस पटकको सरकार गठनमा लागू हुने देखिन्छ । प्रतिनिधिसभामा कुल २७५ जना सदस्य हुने व्यवस्था संविधानले गरेको छ । सरकार बन्नका लागि स्पष्ट बहुमत अर्थात् १३८ जना सांसदहरूको समर्थन आवश्यक पर्छ ।

गठबन्धनबाट सरकार बन्ने न्यून सम्भावना, निर्णायक देखिँदै राष्ट्रिय स्वतन्त्र पार्टी
बहुमत स्थापना गर्न अहिलेको गठबन्धनमा भएका दलहरूका सांसद्हरूको समर्थनमा मात्रै पनि बहुमत स्थापना हुने देखिँदैन । कांग्रेस माओवादीलगायत दलहरूको कुल १३८ सिट पुग्ने देखिँदैन । यसर्थ संसद्बाट सरकार बनाउनका लागि अन्य विकल्प संसद्मा देखिने सम्भावना बढेको छ । यदि कांग्रेसले सरकार बनाउने हो भने स्वतन्त्र पार्टीलाई समेतको समर्थन लिनुपर्ने हुन्छ । तर, स्वतन्त्र पार्टीले कांग्रेसलाई समर्थन दिन्छ या दिँदैन त्यो अहिल्यै भन्न सकिँदैन । नेकपा एमालेले पनि सरकार बनाउने सम्भावनाको बाटो पनि खुल्लै छ । एमालेले माओवादी, एकीकृत समाजवादी तथा स्वतन्त्र पार्टीको सहयोग प्राप्त गरेमा सरकार बनाउने बाटो खुल्छ । यसर्थ दलहरूले सरकार गठनका लागि कस्तो समीकरण बनाउँछन् त्यो भने समानुपातिक मत परिणामको पनि अन्तिम नतिजा आएपछि प्रक्रिया अघि बढ्ने देखिन्छ ।

सार्वजनिक छैन दलहरूको आधिकारिक धारणा
सरकार कसरी बन्छ ? र कोसँग कुन दलको समीकरण हुन्छ भन्नेबारे अहिले प्रमुख दलका कुनै पनि नेताले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । बिहीबार निर्वाचित जनप्रतिनिधिको प्रमाणपत्र बुझ्न झापा पुग्नुभएका एमाले अध्यक्ष केपी ओलीले समेत नयाँ सरकारबारे केही बोल्नुभएन । बरु उहाँले वर्तमान सरकारकै आलोचना गर्नुभयो । उहाँले निर्वाचन शान्तिपूर्ण नगराएको, धाँधली गरेको, बुथ क्याप्चर गराएको भन्दै सरकारको आलोचना गर्नुभयो । निर्वाचनमा जनताले नयाँ शक्तिलाई रोज्नुबारे उहाँ गम्भीर देखिनुभएन । बरु मिडियाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको, त्यसले केही फरक नपार्ने दाबी गर्नुभयो ।

रौतहट १ बाट चुनाव जित्नुभएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नयाँ सरकारको भविष्यबारे अहिलेसम्म केही नसोचेको बताउनुभयो । चुनाव जितिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले निर्वाचनमा पार्टीले ल्याएको नतिजाबारे समीक्षा गर्ने भन्दै अब बन्ने सरकारबारे अहिले केही नबोल्ने बताउनुभयो ।

नेपाली कांग्रेसका शीर्ष नेता पनि नयाँ सरकार गठनको विषयलाई लिएर मौन छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केही अभिव्यक्ति दिनुभएको छैन । बरु कांग्रेस महामन्त्री गगन थापाले चुनाव जितेलगत्तै कांग्रेस संसदीय दलको नेतामा चुनाव लडेर प्रधानमन्त्रीको दाबी गर्ने बताउँदै आउनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै सार्वजनिक हुनुभएको छैन । निर्वाचनको दिन मतदान गरेपछि उहाँ घरमै आराम गरेर बसिरहनु भएको छ । पार्टीले अपेक्षित सफलता प्राप्त नगरेकाले पनि उहाँ बाहिर खुल्न चाहिरहनु भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?