स्पष्ट बन्दै नेपाली राजनीतिको रेखाचित्र

आमनिर्वाचन सम्पन्न भएको छ दिन बितिसिकेको छ । यस बेलासम्म विभिन्न ठाउँबाट नतिजा आइसकेका छन् र केही आउने क्रममा छन् । यत्तिले मात्र समग्र परिणामको आकलन गरिहाल्दा हतार गरेको मानिनेछ, तर यत्तिले मात्र पनि केही दृश्य अगाडि ल्याइसकेको छ भन्न सकिन्छ । नेपालका केही राजनीतिक शक्तिहरू परम्परागत हुन् र केहीपछि थपिँदै गएका छन् । प्रचण्ड गोरखा पहिलो राजनीतिक पार्टी थियो र राणाशासकविरुद्धका कार्य गर्ने लक्षका साथ भूमिगत रूपमा घोषणा गरिएको भए तापनि यसले कुनै काम गर्न पाएन । पछिलगत्तै गठन भएको प्रजापरिषद्ले चाहिँ राणा शासकविरुद्ध धेरै नै काम गरेको थियो । पछि यही पार्टीका अध्यक्ष टंकप्रसाद आचार्य छोटो अवधिकै लागि भए पनि नेपालको प्रधानमन्त्री बनेका थिए तर यस पार्टीको अस्तित्व हालसम्म रहन नै सकेन ।

त्यसपछिको पार्टी राष्ट्रिय कांग्रेस हाल नेपाली कांग्रेस पार्टीका नामबाट राजनीतिक वृत्तमा सक्रिय छ र यो प्रमुख राष्ट्रिय पार्टीका रूपमा अगाडि बढिरहेको छ । भरखरै सम्पन्न आमनिर्वाचनको अहिलेसम्मको नतिजाले पनि यस्तै देखाएको छ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय कांग्रेस सँगसँगै जस्तो स्थापना भएको हो तर यसले आफूमाथिको प्रतिबन्धका कारण सुरुका दिनमा आफ्नो गतिविधि देखाउन पाएन । २०२८ सालबाट उदाएको माले नै पछिल्लोपटक २०४६ सालको प्रजातन्त्र स्थापनापछि माक्र्सवादीसँग एकता गरेर एमाले बन्न पुगेको हो । यस पार्टीमा पनि अनेक खालका उतारचढाव आए, हालको निर्वाचनसम्म आइपुग्दा दोस्रो राजनीतिक शक्तिका रूपमा आपूmलाई उभ्याउन सकेको देखियो । शान्तिप्रक्रियामा आएपछि राष्ट्रको पहिलो राजनीतिक शक्तिका रूपमा देखापरेको माओवादी पार्टी पहिलोबाट तेस्रो हुँदै हाल चौथो शक्तिका रूपमा आफ्नो अस्तित्व बचाउने क्रममा छ ।

चिनियाँ दार्शनिक ‘कन्फ्युसियसले नरम वस्तु लामो समयसम्म टिकिरहन सक्छ तर कडा कुरा छिटै असफल बन्छ’ भनेझैँ एकाएक निकै कडा स्वभाव देखाउँदै आएका राजनीतिक शक्तिहरू छिटै पछाडि धकेलिँदै गएका जस्ता देखिएका छन् । ‘कन्फ्युसियसले जन्मिदै मुखमा भएको जिब्रो मरुन्जेल रहन्छ तर पछि आएका दाँत पहिले नै फुक्लिन्छन्’ भन्ने दृष्टान्त दिएका थिए । राजनीतिमा पनि यो सूत्र लागू हुन्छ भन्ने देखिँदै छ । आफ्नो कमजोरी ढाक्न अर्कालाई दोष दिने पनि गरिएला तर आफ्ना मतदातालाई प्रभाव पार्न त सोही राजनीतिक पार्टीले सक्नुपर्ने हुन्छ । कमजोरी सबैका छन् । प्रजातन्त्रको संबाहक पार्टी नेपाली कांग्रेस जो महामानव विश्वेश्वरप्रसाद कोइरालाद्वारा स्थापना भएको थियो ।

त्यही पार्टीमा समेत अनगिन्ती कमजोरी छन् र तिनको चाङमाथि बसेर नेताहरूले आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छन् । आफूमाथि भ्रष्टाचारको आरोप लागेका नेताहरूले जोगी हुन राजनीति गरेको होइन पनि भनेका थिए । ठूला, अग्रपंक्तिका, स्थापित पार्टीहरूका यस्तै व्यवहार र प्रतिक्रियाका कारण नै हालका वैकल्पित शक्तिहरू अगाडि आएका हुन् । जुट्ने, फुट्ने र पुनः जुट्ने अनि फेरि फुट्ने गर्दै गरेका कारण तराईका पुराना पार्टीहरू हाल पछाडि धकेलिन पुगेका छन्, नयाँ शक्ति उदाउन थालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको नियति पनि यसरी नै गुज्रिरहेको छ, नत्र कांग्रेस र एमालेको विकल्पमा यसलाई जनताले रोज्नसक्थे भन्न सकिन्छ । परम्परागत राजनीतिक शक्तिको विकल्प जनताले पाएका छैनन् ।

त्यसैले मन नलागेर पनि तिनैलाई मतदान गर्नुपर्ने तिनको बाध्यता थियो । अहिले एकाएक नेपाली राजनीतिको पर्दामा देखिन आएका केही नयाँ शक्तिहरू नेपाललाई विकासको बाटोमा अग्रसर गराउने स्पष्ट योजना, लक्ष र त्यस्तो विकासको खाका भएका कारण अगाडि आएका होइनन्, पुराना राजनीतिक पार्टीहरूको विकल्प खोज्ने क्रममा जनताले आफ्नो अभिमत त्यसरी प्रकट गरेका मात्र हुन् भन्दा अन्यथा हुनेछैन । समाचारहरूमा आइरहेको कुरा हो, जनताले मतपत्र खाली छोड्ने, सबै चिहृनमा छाप लगाउने, कलमले मतपत्रमा ‘नो भोट’ भनेर लेख्ने गरेका मतपत्र पाइनाले यो पुरानो नेतृत्वप्रतिको वितृष्णा र आक्रोस हो भन्ने देखिन्छ ।

यतिमात्र होइन मतदाताको यस्तो कार्य पुरानाप्रतिको अविश्वास हो भने तिनले नयाँलाई भारी मत दिनुपर्ने थियो, त्यसो हुन सकेन । नयाँलाई दिएका छन् र केही शक्तिलाई अघि बढाएका छन्, तर त्यतिमात्र होइनन् तिनका मत । त्यसैले मतदाताहरूले नयाँप्रति झट्ट विश्वास गर्न सकिहालेका छैनन् । तिनको मतले संकेत गरेको यही हो, तर पुराना दलले सतर्कता पूर्वक सोचविचारका साथ काम नगर्ने र नयाँले पुराना दलहरूको शैली अपनाएर काम गरेका खण्डमा भने भोलिका दिनमा यी दुवैले आफूलाई जोगाउन सक्लान् भन्ने कुरामा शंकै गर्नुपर्ने हुन्छ । दुवैले सही गोरेटो पहिल्याएर अघि बढ्नु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?