✍️ शम्भु कोइराला
नमागिएको सल्लाह :
आमनिर्वाचन-२०७९ को संघ र प्रदेशको निर्वाचनको परिणामहरू आउनेक्रम जारी छ । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको अप्रत्याशित उपलब्धि र फुटबलको विश्वकप फाइनलमा साउदीअरबको अर्जेन्टिनामाथि र जापानको जर्मनीमाथिको विजयलाई तुलना गरेर सामाजिक सञ्जालमा हँस्यौली पनि गरिएको छ । विश्वकपमा फुटबलका दुई पावर हाउस अर्जेन्टिना र जर्मनीलाई कमजोर ठानिएका एशियाली राष्ट्रले पराजित गरेर स्तब्ध बनाए जस्तै नेपालको राजनीतिका प्रमुख शक्ति केन्द्र नेपाली कांग्रेस एमाले र माओवादी केन्द्रलाई उदीयमान शक्तिहरूले स्तब्ध बनाएका छन् ।
यो निर्वाचनको नतिजा मूलधारका पार्टीहरूले अनुमान गरेको भन्दा नितान्त भिन्न आएको छ । पत्रकार, बुद्धिजीवी, नागरिक समाज, विश्लेषकहरूले अनुमान गरेभन्दा फरक आएको छ । जनताको अभिमतलाई यान्त्रिकरूपको आउँछ भन्ने विश्वास गर्ने कांग्रेस ससभापति देउवालगायत गठबन्धनका नेताहरूको विश्वास, चुनावको प्रारम्भिक रुझान् आउनेबित्तिकै डग्मगाउन थालेको देखिन्छ ।
नेपाली मतदाताको व्यक्त अभिमतले नेतृत्वमा परिवर्तन खोजेको छ । अकर्मण्य र सेवाप्रवाहमा असक्षम आत्मकेन्द्रित बुढो पुस्ताको विकल्प खोजेको छ । व्यक्त जनअभिमतले युवाको ऊर्जा र पाकाहरूको अनुभव खोजेको छ । यो जनादेशलाई शिरोपर गर्नुभन्दा अझ पनि युवालाई रोकेर आफैँ हावी हुन सकिन्छ कि भनेर अस्वीकृत नेतृत्वले तानाबाना बुन्न लागेको संकेत देखापरेको छ ।
यो चुनावको नतिजा कांग्रेसका लागि धेरै प्रतिकूल नभए तापनि घण्टीको उदय गराउने मुख्य तत्वहरू कांग्रेस र एमालेका मतदाताहरू नै हुन् । देउवाहरूले कांग्रेसका मतदाताको हात रूख चिहृनमा छाप लगाउनुको सट्टा घण्टीतिर किन बढ्यो भन्ने विश्लेषण गर्नु आवश्यक छ ।
प्रधानमन्त्री देउवा अझै आफ्नो बुढ्यौलीले गलेको शरीरले देश हाँक्न सक्दैन, आफ्नै कमजोर प्रस्तुतिको कारण जनताले मिनिविद्रोह गरेका छन् भन्ने बुझ्न अझै तयार देखिँदैनन् । कांग्रेस सबैभन्दा ठूलो पार्टी बनाएको छु भनेर बुढो पुस्ता आत्मरतिमा रमायो भने पछिल्लो पुस्ताकाले ठूलो जनताको ज्वारभाटाको सामना गर्नुपर्नेछ । जसले पुराना पार्टीको सुदृढ भनेको संगठनलाई पनि उडाइदिएको छ ।
युवा पुस्ताले र नेपाली जनमानसले आशाको दियोका रूपमा देखेको गगन थापाले पार्टीगत अंकगणितलाई चुनौती दिँदै पपुलर मतको आधारमा सानदार विजय हासिल गरेर संसदीय दलको नेताको चुनाव लड्ने घोषणा गरेका छन् । सांगठनिक रूपमा मत नभएको क्षेत्रमा सानदार जित हासिल गरेका अर्का महासचिव विश्वप्रकाश शर्माले समर्थन गरेपछि झिनो मतान्तरले जितेका प्रकाशमान सिंह, रामचन्द्र पौडेललगायत नेताहरू अतालिएका छन् । आफ्नो पक्षबाट एकमात्र उम्मेदवार हुनुपर्ने भन्दै देउवापछि आफूहरूले मौका पाउनुपर्ने र देउवाको साथ सहयोग आफूलाई हुनपर्ने भनेर दौडधुप गरिरहेका समाचार बाहिरिएका छन् ।
जनमतलाई कदर गर्ने हो भने अहिलेको अवस्थामा देउवा स्वयंले संसदीय दलको नेताको रूपमा गगन थापालाई प्रस्ताव गरेर पुस्तान्तरणको प्रक्रिया अगाडि बढाउनुपर्ने हो तर नेपालको राजनीतिमा यस्तो हँुदैन । यहाँ बाध्यता नपरी कसैले कसैलाई पद हस्तान्तरण गर्दैन । त्यसमा पनि चुनावमा सधैंजसो हार व्यहोरेर ठूलो भाग खाउँला भनी पर्खेर बसेका बालुवाटार नजिकका लम्पटहरूले सभापति देउवालाई यस्तो निर्णय गर्न दिने सम्भावना अत्यन्त कम रहेको छ ।
यो चुनावको नतिजा कांग्रेसका लागि धेरै प्रतिकूल नभए तापनि घण्टीको उदय गराउने मुख्य तत्वहरू कांग्रेस र एमालेका मतदाताहरू नै हुन् । देउवाहरूले कांग्रेसका मतदाताको हात रूख चिहृनमा छाप लगाउनुको सट्टा घण्टीतिर किन बढ्यो भन्ने विश्लेषण नगरी पुनः गणितीय जोड घटाउमा लागे भने अहिलेको मिनी विद्रोहभन्दा जनताको अर्को ठूलो विद्रोह हुनेछ, जसमा देउवामात्र होइन गगन थापाहरू पनि समाप्त हुन बेर लाग्नेछैन । सार्वभौम जनताले शान्तिपूर्ण विद्रोहमार्फत त्यो हैसियत राख्दछ ।
मतदाता किन रिसाए ?
नेपालको राजनीतिक परिवर्तनमा होमिएर आफ्नो जीविकामा सुधार आउला भनेर जनताले अपेक्षा गरेका थिए । त्यही आशाको त्यान्द्रो समाएर विभिन्न चुनावमा आलोपालो गरेर मूलधारका पार्टीहरूलाई मौका दिए तर कुनै पनि पार्टीहरू जनचाहना पूरा गर्न आंशिक रूपमा पनि सफल भएनन् । सत्तासुन्दरीलाई आलोपालो बाँडिचुँडी भोग गर्नेबाहेक कुनै दूरदृष्टि देखिएन । बहुमत, अल्पमत, दुहाइ-तिहाइ नजिकका सबै सरकारहरू नेपाली जनताले व्यहोरे तर जनजीविका झन्झन् कमजोर बन्दै गयो । मुलुकमा रोजगारीको अवसर छैन । मूल्य वृद्धिले आकाश छोएको छ । कोरोना, डेंगी जस्ता महामारीले सताएको छ, उपचारमा सहज पहुँच छैन ।
सरकारी शिक्षाको गुणस्तर दिनप्रतिदिन खस्कँदो छ । शिक्षा क्षेत्रमा लगानी बढ्दो छ तर सामुदायिक विद्यालयहरूमा गुणस्तर खस्कँदो छ । अभिभावकको विश्वासको कमीको कारण विद्यार्थीभन्दा शिक्षक बढिरहेको अवस्था छ । ती विद्यालयमा पठाउने शिक्षकहरू पनि कुनै न कुनै राजनीतिक दलका कार्यकर्ता छन् । सरकारी कार्यालयमा जाँदा अतिरिक्त रकम खर्च नगरी सेवा पाउन असम्भव जस्तो छ । भौतिक पूर्वाधारको अवस्था अरू देशको तुलनामा लाजमर्दो छ । यी सबै कारणले जनतामा व्यापक निराशाको अवस्था विद्यमान छ ।
यस्तो निराशामा जनताले आशाको खोजी गरिरहेको हुन्छ । यस्ता सत्ता परिवर्तन गर्ने आवधिक चुनावहरू पनि जनतामा आशा जगाउने र भविष्यप्रति आश्वस्त पार्ने अवसर हुन् । यस्ता चुनावमा अधिकांश मतदाताले पार्टीका घोषणा पढ्दैनन् न त पार्टीले जनताले पढ्लान् भनेर घोषणापत्र जारी गरेका हुन्छन् । नेपालको परिवेशमा यो चुनावको बेलामा गर्नुपर्ने सामान्य कर्मकाण्ड हो । जनताले मतदानको समयमा भविष्यमा मुलुक हाँक्ने मैले मन पराएको मेरो नेता यो मानिस हो भनेर एउटा धारणा बनाएको हुन्छ । यसपटकको चुनावमा अधिकांश मानिसको धारणा फेरि शेरबहादुर देउवा नै प्रधानमन्त्री हो भन्ने धारणा बन्यो । पार्टीले निर्णय नगरे तापनि लम्पटहरूको समय÷समयको अभिव्यक्तिको कारण यो जबर्जस्त धारणा बन्यो ।
पुष्पकमल दाहाल र देउवा आलोपालो प्रधानमन्त्री हुने भन्ने सहमति बाहिरियो । जसलाई मतदाताले मन पराएको पाइएन । झन् चुनावको समयमा लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी आएको बेलाको फोटो सामाजिक सञ्जालमा व्याप्त भएपछि त मानिसमा वैराग्य नै उत्पन्न भयो । एक अनलाइन पत्रिकाले गरेको भनिएको चुनावी सर्भेक्षणमा परम्परागत रूपमा कांग्रेसलाई मत दिँदैआएका धेरै मतदातालाई किन घन्टीलाई मतदान गरेको भनिएकोमा देउवाको मोदीसँग बसेको ¥याल काडेको फोटो सम्झेर रूखमा हात नै गएन भन्ने जवाफ आएको भनिएको छ । हो पनि, मतदान गर्ने समयमा अब यो मुलुक हाँक्ने मैले चाहेको गतिशील नेता यो हो भन्ने अवस्था बनेन भने मतदान निराशाजनक हुन्छ । त्यो निराशा जेजसो गरेर भए पनि बाहिर निस्कन खोज्दछ । यसलाई मिनी विद्रोहभन्दा पनि हुन्छ । यसपालिको चुनावमा भएको यही हो ।
नवोदित वैकल्पिक शक्तिको परीक्षा :
काठमाडौं, चितवन जस्ता सचेत शहरीक्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उनीहरू स्वयंले अपेक्षा गरेको भन्दा राम्रो अभिमत पायो । समानुपातिक मतमा समातेको लयलाई दृष्टिगत गर्दा यो पार्टीको घण्टी चुनाव चिहृनले देशभरि नै सन्देश प्रवाह गरेको पाइयो । गत असारको पहिलो साता गठन भएको पार्टीका नेता कार्यकर्ताहरू एक आपसमा परिचित पनि हुनसम्म नपाएको अवस्था छ । संगठन निर्माण भएको छैन । यस्तो अवस्थामा पाएको रास्वपाको अभिमतलाई मतदाताको मिनी विद्रोहभन्दा फरक पर्दैन ।
तराई मधेसमा उपेन्द्र-महन्थको वर्चस्व लगभग समाप्त भएको छ । कोशी किनारमा सिके राउतको जनमत पार्टीको उदय भएको छ भने कर्णाली नदी आसपास थारू विद्रोबाट जन्मेको नागरिक उन्मुक्ति पार्टीको उदय भएको छ । यसरी संघीय राजधानी र यसको आसपास, कोशी र कर्णाली नदी किनारमा नयाँ शक्तिको उदय भएको छ । समय गतिशील छ । समाज परिवर्तनशील छ । समय र परिवर्तनको गतिलाई बुझेर आफूलाई अध्यावधिक गर्न सक्नेहरू टिकाउ हुन्छन् भने नसक्नेहरू प्रकृतिको नियमबमोजिम समाप्त हुन्छन् । मतदाताको परिवर्तित मनलाई यी नयाँ शक्तिहरूले कसरी सम्बोधन गर्छन् र देशको इतिहास भूगोललाई बुझेर कति परिपक्व र जिम्मेवार व्यवहार गर्दछन् उनीहरूको भविष्य पनि त्यसैमा निर्भर गर्दछ ।
पत्रकारिता पृष्ठभूमिका नवोदित नेता रवि लामिछानेले समाजमा भएका विकृति र सामान्य मानिसका समस्यालाई सम्बोधन गरेर जनतामा जोडिएका कारण जनताको मन जित्न सकेका हुन् । ठूला पार्टीको कर्मबाट वाक्क भएका जनताका लागि उनी आशाको केन्द्र बने र छोटो समयमा वैकल्पिक शक्ति बन्ने दुर्लभ अवसर पाए । उनको यो सफलता चुनौतीरहित भने छैन । कुनै टिभी च्यानलको कक्षमा बसेर अभावै अभाव भएको देशमा जनता उकास्न, असन्तुष्ट र विद्रोही बनाउन सजिलो छ तर शासनसत्तामा गएर उनीहरूको जनजीविकालाई सम्बोधन गर्न सजिलो छैन । नेपाली राजनीतिक दलका नेताको समस्या व्यवस्थापकीय समस्या हो ।
अपरिचित र महत्वाकांक्षी युवाहरूको समूह छ । सामान्य आचारसंहिता र विधान पनि बनेको अवस्था छैन । एउटाको आकांक्षा र भावना बुझ्ने त टाढाको विषय हो । यस्तो अवस्थामा यो पार्टीको एकता कति टिकाउ हुन्छ भन्ने प्रश्न छँदैछ । विवेकशील साझा पार्टीको विघटनले सबैलाई झस्काइदिएको छ । जिम्मेवारीमा गएपछि उत्तेजनाको काम रहँदैन । आवेग र उत्तेजनाले जो कोहीलाई पनि समाप्त गरिदिन्छ । सधैँ पपुलिजमको पछि लागियो भने भड्कारोमा पर्न बेर लाग्दैन । जनताको आवाजको पछि लाग्नुपर्छ । भीडको पछि होइन । भारत र अमेरिकालाई सधैँ नकारात्मक रूपले हेर्ने र चाइना र रसियालाई घृणा गर्ने अतिवादीको पछि लागियो भने जेलेनेस्की बन्न बेर लाग्दैन ।
अतिराष्ट्रवादीको नजरमा जेलेन्स्की मसिहा होलान् तर युक्रेन राष्ट्र तहसनहस भयो । लाखौं जनता विस्थापित भए । अरू जनता सबै अत्यावश्यकीय पूर्वाधार नष्ट भएको खण्डहरमा त्रसित मानसिकतामा बाँचिरहनु परेको छ । धरातलीय यथार्थलाई बुझ्न सकिएन र भावनामा बगियो भने सर्वनाश हुन बेर लाग्दैन । तराईमा जन्मेका दुई शक्तिमध्ये कोशी किनारको शक्तिको परीक्षण हुन बाँकी छ । नेता राउतको उच्च बौद्धिक स्तर, आध्यात्मिक चेत र विदेशको प्रतिस्पर्धी बजारमा पनि काबिल बन्ने क्षमतालाई नियाल्दा उनीबाट आशा गर्न सकिन्छ । मधेसको मात्र होइन उनी देशकै वैकल्पिक शक्ति बन्न सक्दछन् । तर, उनी पनि सत्तासुन्दरीकै सम्मोहनमा फसे भने ‘गेल भैंस पानीमे’ भन्ने अवस्था आउन सक्दछ ।
तराईमा जन्मेका दुई शक्तिमध्ये कोशी किनारको शक्तिको परीक्षण हुन बाँकी छ । नेता राउतको उच्च बौद्धिक स्तर, आध्यात्मिक चेत र विदेशको प्रतिस्पर्धी बजारमा पनि काबिल बन्ने क्षमतालाई नियाल्दा उनीबाट आशा गर्न सकिन्छ । उनी देशकै वैकल्पिक शक्ति बन्न सक्दछन् ।
कर्णाली किनारको वैकल्पिक शक्तिले यो चुनावबाट थप शक्ति आर्जन गरेको छ । यो पार्टीको केही परीक्षण पनि भइसकेको छ । नातावादलाई प्रश्रय दिएको भनेर असन्तुष्टिका आवाज सुनिएका छन् । कर्णालीमा पानी बग्दै जाँदा यसका नेताहरूले पनि कोशी किनारबाट ओझेलमा परेका नेता उपेन्द्र यादवको नियति भोग्नु नपर्ला भन्न सकिँदैन । यो निर्वाचनमा देउवाको गठबन्धनका प्रमुख नेताको इशारामा मतदाताले मतदान गर्छन् भन्ने सोचलाई अस्वीकृत गरेका छन् । जनमत नेताले सोचे जस्तो यान्त्रिक हुँदैन भनेर जवाफ फर्काएका छन् ।
चुनाव परिचालनका लागि गरिने आमसभामा देउवालगायत नेताहरू जति-जति भाषण गर्न उपस्थित हुन्थे जनतामा उति उति असन्तुष्टि बढ्दो थियो । नेतृत्वमा हावी होलान् भनेर जनपरिचालन गर्न क्षमता राख्ने गगन-विश्वप्रकाश जस्ता नेतालाई हेला गरियो । गठबन्धनका अरू नेतामा पनि यस्तै भाव देखिएको थियो । देउवा, ओली र पुष्पकमलहरूको ‘एकोऽहं द्वितीयो नास्ति’ भन्ने भावले आजको अवस्था आइपुगेको हो भन्नलाई अल्मलिनुपर्ने अवस्था छैन ।
अकर्मण्यता, आत्मकेन्द्रितपना र जनतासँगको संवादहीनताले सृजना गरेको यो परिस्थितिमा प्राविधिक रूपमा सत्तामा टाँसिएर समयमै जनताले सुध्रिनका लागि बजाएको घण्टीको आवाजलाई सुन्न सकिएन भने मतदाताले असन्तुष्टि व्यक्त गर्नेमात्र होइन विद्रोह नै गर्नेछन् । अहिले बजेको घण्टीको आवाज रवि लामिछानेको पार्टीको मात्र होइन । ठूला भनिएका पार्टीमा मतदान गर्दै आएका मतदाताको हो । नेताज्यू ! अब जनताको घण्टीको आवाज सुन्न ढिलो नगरौँ है ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका