सुदूरपश्चिमको लगातार दोस्रो जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुदूरपश्चिम प्रदेशले वाईवाई यु-१९ राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा सुदूरले साविक विजेता लुम्बिनी प्रदेशलाई १०० रनको फराकिलो अन्तरले हरायो । जितको लागि १८१ रनको विजयी लक्ष्य पछ्याएकोे लुम्बिनी २१ ओभरमा ८० रनमै समेटियो । लुम्बिनीका ओपनर आकाश त्रिपाठीले २३ बलमा चार चौकासहित २२ रन बनाउनुभयो । देव खनाल १८ बलमा दुई चौकासहित १३ रनमा आउट हुनुभयो ।

एक समय लुम्बिनी ५.५ ओभरमा ३६-१ को अवस्थामा थियो । कैलाश ऐरको बलमा देव क्याच आउट हुनुभएपछि लुम्बिनीका कुनै पनि ब्याटर क्रिजमा टिक्न सकेनन् । कप्तान विशाल विक्रम केसी नौ र मनोज मगर ११ रनमा आउट हुनुभयो । विशाल भुसाल, प्रज्ज्वल थापा र नर सार्कीले खाता खोल्न सक्नुभएन ।

सुदूरपश्चिमका आकाश चन्दले तीन ओभरमा १३ रन खर्चेर पाँच विकेट लिनुभयो । हेमन्त धामीले आठ ओभरमा ३७ रन खर्चेर तीन विकेट तथा कैलाश ऐरले एक विकेट लिनुभयो ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले ४९.५ ओभरमा १८० रन बनाएको थियो । सुदूरका दीपक बोहराले ७३ बलमा आठ चौकासहित सर्वाधिक ५४ रन बनाउनुभयो । ओपनर दीपक बोहरा भने २४ बलमा चार चौकासहित १७, विशाल ऐर १६, अनुराग सिंह ९, मिलन बोहरा एक र गजेन्द्र बोहरा १९ रनमा आउट हुनुभयो ।

नरेन साउद १७, हेमन्त धामी १५, सुनिल चन्द र आकाश चन्दले सात–सात रन बनाउनुभयो । विशाल विक्रम केसी ६ ओभरमा एक मेडनसहित २० रन खर्चेर तीन विकेट लिनुभयो । नर सार्की र निर्मल गुरुङले दुई विकेट लिनुभयो । निर्मलले १० ओभरमा पाँच मेडन राख्दै २० रन खर्चनुभएको थियो ।

यसअघि पहिलो खेलमा सुदूरले कर्णालीलाई पाँच विकेटले हराएको थियो । सुदूर चार अंकका साथ शीर्ष स्थानमा छ । सुदूरले आइतबार गण्डकी प्रदेशसँग खेल्नेछ । लुम्बिनीको भने यो पहिलो खेल हो । लुम्बिनीले शनिबार कर्णालीसँग खेल्नेछ । सात प्रदेश सहभागी प्रतियोगितामा सिंगल राउण्ड रोविनको आधारमा शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?