पाँच विश्वकपका गोल गर्ने एक्ला रोनाल्डो

Read Time = 4 mins

दोहा । क्रिस्टियानो रोनाल्डो पाँच विश्वकपमा गोल गर्ने एक्ला खेलाडी बन्नुभएको छ । कतारमा जारी विश्वकप फुटबलमा बिहीबार राति पोर्चुगलले घानालाई तीन-दुई गोलअन्तरले पराजित गर्दा उहाँले उक्त कीर्तिमान राख्नुभएको हो । गत हप्ता विवादास्पद अन्तर्वार्ता दिएसँगैँ म्यानचेस्टर युनाइटेडसँग उहाँको सम्झौता भंग भएको थियो ।

त्यसपछि लगातार मिडियाको हेडलाइन बनिरहनुभएका रोनाल्डोले खेलेको यो पहिलो खेलमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । उक्त अन्तर्वातामा म्यानचेस्टर युनाइटेडले आफूलाई धोका दिएको रोनाल्डोले बताउँदै आउनुभएको थियो । त्यस अन्तर्वार्ताबाट बेखुश युनाइटेडले लगत्तै उहाँसँगको सम्झौता रद्द गर्‍यो । यद्यपि उक्त सम्झौता आपसी समझदारीमा रद्द भएको बताइएको थियो ।

घानाविरुद्ध गोल गरेसँगै उहाँले पेले, उहाँ सेलर, मिरोस्लोभ क्लोसले लगातार चार विश्वकपमा गरेको कीर्तिमान भंग गर्नुभयो । त्यसबाहेक देशका लागि यो उहाँको ११८औं गोलसमेत हो । विश्व फुटबलमा उहाँ सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीसमेत हुनुहुन्छ । जसमध्ये विश्वकपको समूहचरणमा मात्रै उहाँले आठ गोल गर्नुभएको छ ।

पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न नसके पनि मध्यान्तरपछि खेलको ६५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुवाति अग्रता दिलाउनुभएको थियो । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेर लडाएपछि पोर्चुगलले पाएको पेनाल्टीमा उहाँले गोल गर्नुभएको हो । रोनाल्डोको यो पाँचौं विश्वकपसमेत हो । रोनाल्डोले यसअघि सन् २००६, २०१९, २०१४ र २०१८ मा भएको विश्वकप फुटबल प्रतियोगिता पनि खेल्नुभएको थियो ।

यस्तै, खेलको ७३औं मिनेटमा घानाका आन्द्रे एयुले गोल गर्दै खेललाई एक-एकको बराबरीमा पुर्‍याउनुभयो । लगत्तै खेलको ७७औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई दुई-एकको अग्रता दिलाउनुभयो । खेलको ७९औं मिनेटमा राफायल लियोले गोल गर्दै पोर्चुगललाई तीन-एकको अवस्थामा पु¥याउनुभयो ।

यसैगरी खेलको ८९औं मिनेटमा घानाका ओस्मान बुकारीले गोल गर्दै पोर्चुगलमाथि दबाब सिर्जना गर्नुभयो । घानाले अन्तिम समयसम्म बराबरीको प्रयास गरे पनि पोर्चुगललाई हराउन भने असफल भयो । पोर्चुगलले तीन-दुई गोलका साथ खेल आफ्नो पक्षमा पार्‍यो । जितसँगै समूह ‘एच’मा रहेको पोर्चुगलले तीन अंक जोडेको छ । पोर्चुगल आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?