कला क्षेत्रको समृद्धिका लागि नै म पूर्णरूपमा समर्पित छु : रसाल

Read Time = 13 mins

म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफीमा आफ्ना अब्बल क्रियसनमार्फत् दर्शकको मन जित्न सफल हुनुहुन्छ कृष्ण रसाल । रौतहट स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाउनुभएका रसालले ललितकला क्याम्पसमा संगीत विषय पढ्नुभएको हो । उहाँले बिजुलीबजारमा रहेको डायमण्ड एक्टिङ डान्स सेन्टरमा नृत्य प्रशिक्षणका साथै वरिष्ठ नृत्य निर्देशक कमल राई, नवीन राई, अच्युत घिमिरे लगायतसँग प्रशिक्षण लिएर यो क्षेत्रमा होमिनुभएको हो । उहाँले नृत्यकारका रूपमा तीन सयभन्दा बढी गीतमा अभिनय तथा नृत्य गर्नुभएको छ । उहाँले पछिल्लो समय नृत्य निर्देशकका रूपमा आफूलाई अब्बलरूपमा प्रस्तुत गर्दै आउनुभएको छ । नेपाली गीतका भिडियोमा मात्र नभएर नेपालबाहिर बलिउड र वेस्ट बंगालमा समेत उहाँले आफ्नो प्रस्तुति दिनुभएको छ भने नेपालबाहिर चीन, मलेसिया, सिंगापुर, दुबईलगायतका देशमा पुगेर नेपाली कला-संस्कृति प्रस्तुत गर्नुभएको छ । कुशल निर्देशन तथा कोरियोग्राफीबाट धेरैको प्रशंसा बटुल्न उहाँ सफल हुनुहुन्छ । नेपाली कला क्षेत्रको समृद्धिका लागि नै आफू पूर्णरूपमा समर्पित रहेको बताउनुहुने कृष्ण रसालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
कला क्षेत्रका विभिन्न कर्ममा आफूलाई समर्पित गर्दै आएको छु । आफ्ना केही व्यावसायिक काम, केही घरायसी काम र सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु । यस्तै गरी दिनचर्या चल्दै छ ।

यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानैदेखिको चाहना र मैले आफैंले निर्णय गरेर यो क्षेत्रमा आएको हुँ । सानैदेखिको लगावले यो क्षेत्रमा आएँ । ज्ञात-अज्ञात प्रेरणाले विस्तारै कलाकारितामा मलाई धकेल्यो । कला क्षेत्रको सानैदेखिको विशेष लगावका कारण नै म यस क्षेत्रमा विस्तारै हेलिँदै आएँ ।

तपाईं आफूलाई सफल निर्देशक मान्नुहुन्छ ?
मैले आफैंले आफैंलाई सफल असफल भन्ने भन्दा पनि मैले निर्देशन गरेका धेरै क्रियसन सफल भए भन्ने कुराले यसको पुष्टि गर्दछ । म आफैंले आफैंलाई सफल भन्दा पनि राम्रो काम गर्ने अर्थात् राम्रो प्रस्तुति पेश गर्ने कोसिस गरेको हुन्छु । मैले निर्देशन गरेका धेरै प्रस्तुतिलाई दर्शकले औधी मन पराएका छन् । केही प्रस्तुतिले अवार्डहरू पनि दिलाउन सफल भएका छन् । सफल असफल भन्ने जिम्मा दर्शककै हो भन्ने मलाई लाग्छ ।

एक्सन कट कत्तिको गाह्रो काम हो ?
आफ्नो काम हो, त्यस्तो गाह्रो लाग्दैन मलाई । आफ्नो पेशा हो, काम हो, पूजा हो । सुरुका दिनहरूमा अलिक अप्ठ्यारो लाग्थ्यो तर काम गर्दै जाँदा सिकिन्छ, सिक्दै जाने कुरा हो ।

निर्देशन क्षेत्र कत्तिको सहज छ ?
निर्देशन भन्नेबित्तिकै एकदमै गाह्रो क्षेत्र हो । किनभने सामाजिक र राष्ट्रप्रतिको जिम्मेवारी निर्देशकको काँधमा आएको हुन्छ । मैले निर्माण गरेको प्रस्तुतिबाट दर्शकलाई कस्तो प्रभाव पर्छ भन्ने बुझ्नुपर्ने हुन्छ । हाम्रा प्रस्तुति सामाजिक दायित्व बोकेको पाटो भएकाले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन ।

मनोरञ्जनमार्फत् दर्शकमा उत्साह, खुशी र कर्तव्य बोध हुनुपर्छ भन्ने सन्देश छर्न चाहन्छु । राम्रो काम गरेपछि पैसा अवश्य कमाउँछौँ । तर, पैसाभन्दा ठूलो कुरा इज्जत, प्रतिष्ठा र सम्मान महत्वपूर्ण हुन्छ । अर्को कुरा हामी समाजका संवाहक पनि हौँ । हामीले समाजलाई डोर्‍याउन सक्नुपर्छ ।

निर्देशन के हो ?
निर्देशन आविष्कार हो, क्रियसन हो, नयाँ खोज हो । यसमा आफ्नो माटोको सुगन्ध हुनु जरुरी ठान्छु म । कुनै पनि सिर्जनालाई भन्न खोजेको कुरालाई चित्रण गर्ने नै निर्देशन हो । त्यसमा आफ्नोपन सबैभन्दा महत्वपूर्ण पाटो हो भन्ने लाग्छ ।
प्रस्तुति कस्तो बनाउने भन्ने मुख्य कुरा निर्देशकमा नै भर पर्छ । त्यसमा हाम्रो प्रस्तुतिको थिमले के भन्न खोजेको छ मुख्य कुरा त्यसमा ध्यान पुर्‍याउनु आवश्यक छ । फेरि एक्लैले केही हुने होइन, यो सबै ग्रुपको काम हो । सबैले उत्कृृष्ट दिन सकेमात्र राम्रो बन्छ । कलाकार र सम्पू्र्ण युनिटबाट उत्कृष्ट काम निकाल्ने खुबी निर्देशकमा हुनु जरुरी छ । मेकिङमा जानुभन्दा पहिला युनिटसँग विस्तृत छलफलका साथै राम्रो होमवर्क भयो भने रिजल्ट राम्रो आउँछ ।

यस क्षेत्रमा लाग्न घरपरिवारबाट कत्तिको सपोर्ट पाउनुभयो ?
मलाई यस क्षेत्रमा लाग्न घरपरिवारबाट प्रेरणा, साथ र सहयोग मिल्यो । तर पनि मभित्र नै नेपाली कला क्षेत्रको बेजोडको मोह रहेका कारण यस क्षेत्रमा होमिएँ । म स्कुलमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिएँ । त्यही सुरुवाती दिनहरू नै मेरो अहिलेको समय हो ।

कत्तिको संघर्ष गर्नुभयो आजको दिनसम्म आउनका लागि ?
हरेक मानिसले सफलताका लागि संघर्ष गरेको हुन्छ । मेरोमा पनि त्यो लागू हुन्छ । फेरि मलाई के लाग्छ भने हरेक मानिसका संघर्षका परिभाषा छुट्टाछुट्टै हुन्छन् । मेरा पनि संघर्षका थुप्रै सिँढीहरू छन् । कति पार गरेँ, कति अझै बाँकी छन् होला । मलाई के लाग्छ भने संघर्षलाई सिक्ने अवसरका रूपमा लिइयो भने त्यो सहज हुन जान्छ ।

विभिन्न संघसंस्थामा रहेर पनि कार्य गर्दै आउनुभएको छ होइन ?
हो, मैले विभिन्न संघसंस्थामा आबद्ध भएर काम गर्दै आएको छु । मैले सोसियो नेपालमा रहेर सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु भने चलचित्र नृत्य संघ, नृत्य निर्देशक संघ, नेपाल मोडल एसोसिएसन, लोकदोहोरी प्रतिष्ठानलगायतका संघसंस्थामा पनि आबद्ध भएर कार्य सम्पादन गर्दै आएको छु । यसका अतिरिक्त यही क्षेत्रको विकास र प्रवद्र्धनको अभियानमा पनि सक्रिय छु । विभिन्न अवार्ड समारोहमा निर्णायक समितिको सदस्यका रूपमा पनि जाने गरेको छु । २१औँ शताब्दीको यो दौडमा समयसँगै र सबैसँगै हिँड्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछु । कला क्षेत्रबाट बचेको समय समाजको कुनै न कुनै कुनामा पुगेको हुन्छु ।

यो क्षेत्रमा आएर के प्राप्त गरे जस्तो लाग्छ ?
मनोरञ्जनमार्फत् दर्शकमा उत्साह, खुशी र कर्तव्य बोध हुनुपर्छ भन्ने सन्देश छर्न चाहन्छु । राम्रो काम गरेपछि पैसा अवश्य कमाउँछाँै । तर, पैसाभन्दा ठूलो कुरा इज्जत, प्रतिष्ठा र सम्मान महत्वपूर्ण हुन्छ । अर्को कुरा हामी समाजका संवाहक पनि हौँ । हामीले समाजलाई डो¥याउन सक्नुपर्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई निःशर्त मजबुत बनाउन मद्दत गर्नुपर्दछ भन्ने लाग्छ । त्यही भएर मैले टेक्ने धर्तीको रक्षा र स्वाभिमानका लागि काम गर्ने गरेको छु । त्यहीअनुसार देश, समाज र परिवारबाट माया र सद्भाव पनि प्राप्त गरेको छु ।

यहाँले यो क्षेत्रमा प्राप्त गर्नुभएको सफलतालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
सफलताभन्दा पनि यही पेशालाई निरन्तरता दिन सकिएको छ । यो क्षेत्रमा बहुसंख्यक व्यक्तिहरूको चासो र सरोकार रहने हुँदा यो क्षेत्रमा आफूलाई स्थापित गर्नु ठूलो चुनौती हो । त्यो चुनौतीलाई स्वीकार गर्दै अघि बढ्ने आत्मविश्वास मभित्र भएकाले यसलाई छुन सके जस्तो लाग्छ । तर, आजको सफलता नै दीर्घकालीन प्राप्ति हो जस्तो लाग्दैन मलाई, त्यसैले दिनदिनै संघर्ष गर्नुपर्दछ । अनिमात्रै अरूभन्दा फरक हुन सकिन्छ । म अझै पनि संघर्ष गर्दै सिक्दै, जानेको सिकाउँदै छु एउटा इमानदार विद्यार्थीझैँ ।

तपाईंका शुभचिन्तक र दर्शकलाई के भन्न चाहनुहुन्छ ?
मलाई माया दर्शाउने, मेरो कर्मलाई उत्साह र प्रेरणा प्रदान गर्ने दर्शक तथा शुभचिन्तकहरूमा आभार व्यक्त गर्दछु । मनोरञ्जनसँगै राष्ट्रिय दायित्वलाई पूरा गरौँ भन्न चाहन्छु । नेपाली समाजको रूपान्तरण र आर्थिक समुन्नतिका लागि नेपाललाई कला पर्यटनको केन्द्र बनाउन हातेमालो गरौँ भन्न चाहन्छु । किनकि भौगोलिक विविधतासँगै पुरातात्विक सम्पदालगायतका विशिष्ट क्षेत्रहरू विश्वका कलाकर्मीका लागि नवीन र कौतुहलपूर्ण विषय हुन् । यसको प्रवद्र्धनसँगै यहाँहरूको माया र सद्भावप्रति ऋणी रहँदै भोलिका दिनमा अझ विशिष्ट कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

अबको लक्ष्य ?
म यही क्षेत्रका लागि जन्मिएको मान्छे हुँ जस्तो लाग्छ । यो क्षेत्रबाहेक मैले अन्य सोचेको छैन । यहीे क्षेत्रको समृद्धिका लागि नै म पूर्णरूपमा समर्पित छु ।

यो क्षेत्रमा आउँदै गरेका नवप्रतिभालाई के-कस्तो सल्लाह दिन चाहनुहुन्छ ?
कला क्षेत्र भनेको आफूमा रहेको प्रतिभा देखाउने क्षेत्र हो । तपाईंमा प्रतिभा छ भने आफूलाई अझ निखारेर यो क्षेत्रमा आउनुहोस् । लहलहैमा र रहरको भरमा नआउनुहोस् भन्न चाहन्छु । ०००

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?