एनसेलले पनि इ-सिम वितरण गर्ने

Read Time = 3 mins

काठमाडौं । एनसेल आजियाटाले ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । एनसेलका ग्राहकले अब आफ्नो सिम इ–सिममा अपग्रेड गर्न सक्नेछन् । इ-सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम इ-सिम सपोर्ट गर्ने मोबाइल वा उपकरणभित्र सानो चिपमा हुन्छ र त्यसैबाट दूरसञ्चार सेवा लिन सकिन्छ । इ-सिम भौतिकरूपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि इ-सिम मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।

एनसेलका ग्राहकले एसएमएसमार्फत् अनुरोध पठाई सजिलै प्रयोग भइरहेको सिम इ-सिममा अपग्रेड गर्न सक्छन् । जसका लागि नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनुपर्नेछ । इ-सिम सुचारु गर्नुअघि ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्छन् । एसएमएस पठाउन र सिम अपग्रेड गर्न शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि सिम इ-सिममा अपग्रेड गर्न सक्छन् । नयाँ ग्राहकहरूले पनि कुनै पनि एनसेल सेन्टरबाट आफूले चाहेको स्टार्टर प्याकसाथ आवश्यक प्रक्रियापुरागरी इ-सिम लिन सक्छन् । तर, इ-सिम सुविधा लिन इ-सिम सपोर्ट गर्ने मोबाइल आवश्यक हुन्छ । आफ्नो मोबाइल इ-सिम चल्ने/नचल्ने थाहा पाउन ८०६३ डायल गर्नुपर्छ । इम्बेडेड आइडेन्टिटी डकुमेन्ट (इआइडी) सहितको विवरण डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा इ-सिम चल्छ ।

कम्पनीका अनुसार आइफोनका पछिल्ला मोडल आइफोन एक्स एस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा इ-सिमको सुविधा रहेको छ भने सामसुङ ग्यालेक्सी ए २१ सिरिज, ग्यालेक्सी ए २२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि इ-सिम चल्ने सुविधा रहेको हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?