मकवानपुरबाट तीन हेभिवेट नेता एकैपटक पराजित

हिमालय टाइम्स
Read Time = 13 mins

श्रीराम अर्जुन/हिटा
हेटौंडा । आमनिर्वाचन २०७९ मा धेरै हेभिवेट नेताहरू मतदाताबाट अस्वीकृत भए । पटक-पटक निर्वाचित हुँदै सांसद बन्दै देश हाँक्ने मन्त्रीहरू यस वर्षको निर्वाचनमा किन पराजित भए ? भन्ने सबैमा कौतुहलता बढेको छ । किन, कसरी र के कारणले पराजित भए भन्ने कुरा कुनै दलसँग ठोस कारण छैन । यो निर्वाचनमा कतिपय सत्तारूढ गठबन्धनका उम्मेदवार पराजित भए भने नेकपा एमाले राप्रपालगायत अन्य दलहरूबीच भएको तालमेलका उम्मेदवारहरू पनि पराजित हुन पुगे । यस्तै, अवस्था योपटक मकवानपुर जिल्लामा पनि देखिएको छ ।

मकवानपुरमा पनि योपटक राष्ट्रिय नेताहरू एकैपटक पराजित भए । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय अध्यक्ष कमल थापा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य विरोध खतिवडाले यहाँबाट हार व्यहोर्नुपर्‍यो ।

खतिवडा भए पराजित
मकवानपुरको क्षेत्र १ मा आफ्नै चेलासँग विरोध खतिवडा पराजित हुनुभयो । गठबन्धनबाट उम्मेदवार बन्नुभएका खतिवडालाई नेकपा एमालेका बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले चार हजार ५२० मतअन्तरले पराजित गर्नुभएको हो । ३१ वर्षदेखि निरन्तर विजयी हुँदै आउनुभएका खतिवडा पाँचौँ पटकमा पराजित हुनुभएको हो । विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा प्रवेश गर्नुभएका उहाँले पहिलोपटक आफ्नै राजनीतिक गुरुलाई पराजित गर्दै सांसदको यात्रा तय गर्नुभएको हो ।

२०७४ मा खतिवडालाई चुनाव जिताउन बर्तौला आफैँ चुनावी मैदानमा उत्रनुभएको थियो । तर, त्यसको ठिक पाँच वर्षपछि गुरु-चेला नै एकअर्काको प्रतिस्पर्धीको रूपमा मैदानमा हुनुहुन्थ्यो । उहाँहरू छुट्टिनुमा पार्टी विभाजन प्रमुख कारक थियो । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीमा लागेपछि खतिवडा ३० वर्षको राजनीतिमा पहिलोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत बन्नुभएको थियो ।

पार्टी फुटेपछि मन्त्री बने पनि खतिवडाले पाँचौँ चुनावी प्रतिस्पर्धा आफ्नो पक्षमा पार्न सक्नुभएन । खतिवडा पहिलोपटक २०४८ सालमा भएको आमनिर्वाचनमा विजयी हुनुभएको थियो । त्यसपछि २०७४ सम्म आइपुग्दा पनि खतिवडाले चुनाव जित्दै रहनुभएको थियो । उहाँले चुनाव मात्रै जित्दै आउनुभएको थिएन, उठेकामध्ये कुनै पनि निर्वाचन नहार्ने थोरै नेताहरूको रेकर्डमा नामसमेत दर्ज गर्नुभएको थियो । खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा गरी चारपटक चुनिनुभएको थियो । उहाँले २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा-व्यवस्थापिका संसद्को चुनावमा भने भाग लिनुभएको थिएन ।

सहमहामन्त्री नेत्री डिना पराजित
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) यस निर्वाचनमा पराजित हुनुभयो । २०७४ को निर्वाचनमा क्षेत्र २ मा विरोध खतिवडासँग पराजित हुनुभएकी डिना यस निर्वाचनमा क्षेत्र १ मा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहसँग पराजित हुनुभएको हो । गठबन्धनबाट उम्मेदवार बन्नुभएकी डिना दुई हजार ३८२ मतान्तरमा पराजित हुनुभएको हो । मतगणनाको सुरुवाती चरणमा डिनाले एमालेबाट उम्मेदवार रहनुभएका राप्रपा नेपाल अध्यक्ष कमल थापा र सिंहलाई पछाडि पार्दै अग्रता लिनुभएको थियो । तर, हेटौँडा उपमहानगरपालिकासहित अन्य वडाहरूको मतगणना हुँदा उहाँ पछाडि पर्दै जानुभएको थियो ।

पार्टी राजनीतिमा सफल देखिनुभएकी डिनालाई जनताबाट प्रत्यक्ष चुनिने र जनताबीच गरिने कामका सपनाहरू अधुरै रहने भएको छ । नेत्री डिना २०६४ को संविधानसभा निर्वाचनमा सामानुपातिक कोटाबाट संसद्मा प्रवेश गर्नुभएको थियो । समानुपातिक सांसद भएकै बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाँ जलस्रोत राज्यमन्त्रीसमेत हुनुभयो ।

मकवानपुरमा उहाँले पटक-पटक कम्युनिष्ट नेताहरूसँगै पराजय भोग्नुभयो । २०४८ सालको आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्नुभएकी उहाँ नेकपा एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडासँग पराजित बन्नुभयो । २०५१ सालको मध्यावधि निर्वाचनमा पनि डिनाले फेरि खतिवडासँगै हार व्यहोर्नुभयो ।

२०५६ मा भएको आम निर्वाचनमा उहाँले उम्मेदवारी दिनुभएन । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा डिना पुनः उम्मेदवार बन्नुभयो । तर, पाँच वर्षअघिको प्रत्यक्ष निर्वाचनमा पनि डिनाका लागि खतिवडा नै तगारो बन्नुभएको थियो । परम्परागत प्रतिस्पर्धी खतिवडा (हाल नेकपा एकीकृत समाजवादी) र डिनाले यस निर्वाचनमा निर्वाचन क्षेत्र बाँडेर लडे पनि खतिवडा र डिनाले एकै निर्वाचनमा पराजित भोग्नु परेको छ । डिनाले पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण हारेको भनी सामाजिक सञ्जाल तथा चोक चौतारामा कुरा भएका छन् । पटक–पटक चुनाव हार्नु, कति मतदाताले उहाँलाई नचिन्नु र नदेख्नु, स्थानीय निर्वाचनको जस्तो मत नखस्नु, स्थानीय निर्वाचनमा मेयरमा पराजित भई हेटौँडा क्षेत्रमा दीपकबहादुर सिंहको लोकप्रियता ह्वात्तै बढ्नु, जनतासँग जोडिएर अघिल्लो निर्वाचनपछि गाउँ सहर नजानु नै पराजितको कारण हुनसक्ने अनुमान गर्न सकिन्छ ।

थापा पटक-पटक पराजित
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भई पार्टी छाडेर राप्रपा नेपालका अध्यक्ष बन्नुभएका कमल थापालाई यस निर्वाचनमा भने मकवानपुरका जनताले पत्याएनन् । सँगैको सहपाठी साथीसँग उहाँले पराजय भोग्नुपर्‍यो । एमालेको सूर्य चिन्ह लिएर चुनावमा होमिनुभएका थापा निर्वाचनमा तेस्रो स्थानमा सीमित रहनुभयो । गएका निर्वाचनमा पटक-पटक एमालेले जित निकाल्दै आएको उक्त क्षेत्रमा यसवर्ष भने तेस्रो स्थान कायम भयो ।

पञ्चायत कालमा मकवानपुरमा एकछत्र राज गर्नुभएका थापालाई २०४६ सालको बहुदल स्थापनापछि मकवानपुरको निर्वाचनमा फलिफाप नभएको नतिजाले देखाउँछ । एमालेका कृष्णप्रसाद दाहालसँग मात्रै उहाँ चारपटक पराजित हुनुभएको थियो । संविधान जारी भएपछि २०७२ मा संविधानविरुद्ध आन्दोलन भएका थिए । त्यो समयमा मकवानपुरमा एमालेको कडा आलोचक हुनुहुन्थ्यो थापा । जसकारण २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उहाँले कांग्रेससँग सहकार्य गर्नुभएको थियो । कांग्रेससँगको साथले पनि उहाँलाई संसद् प्रवेशको बाटो खुलेन उहाँ पराजित हुनुभएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई सूर्य चिन्हमै टिकट दिनुभयो । तर, उहाँलाई टिकट दिएको भन्दै एमाले मकवानपुरमा ठूलै परकम्पनसमेत गएको थियो । एमाले नेता रामेश्वर रानाले टिकट पाए पनि पछि थापालाई दिनुपरेको बाध्यता मकवानपुर एमालेमा रहेको थियो । गठबन्धनकी डिना र दीपकबहादुर सिंहसँग थापाले कडा प्रतिस्पर्धा गरे पनि क्रस मतका कारण उहाँले पराजय भोग्न बाध्य हुनुभयो ।
थापा २०५१ देखि हालसम्म नौ पटक मन्त्री बनिसक्नु भएको छ । २०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा पनि उहाँ हुनुहुन्थ्यो । राजतन्त्रदेखि गणतन्त्रसम्म आइसक्दा थापाले सत्तामोह भने छोड्नुभएको छैन । जहिल्यै शक्तिमा बस्न रुचाउने थापालाई भने आफ्नै जिल्लाका मतदाताले पाँचपटक उठेकोमा चारपटक हार चखाइदिएका छन् ।

चारैपटक एउटै व्यक्ति एमालेका कृष्णप्रसाद दाहालसँग उहाँ पराजित हुन पुग्नुभयो । पाँचौँपटक भने मकवानपुरमा राप्रपालाई जोगाइराख्ने सहकर्मी साथी सिंहले निर्वाचनमा बाजी मार्नुभएको छ । मतगणना हुन बाँकी हुँदा नै थापाले सामाजिक सञ्जालमा हार स्वीर्कादै ओलीलाई धन्यवाद दिनुभएको थियो ।

२८ वर्षपछि मकवानपुरमा राप्रपाको जित
२८ वर्षपछि मकवानपुरमा राप्रपाले जित निकालेको छ । बहुदल स्थापनापछि राजनीतिबाट छायामा परेको लामो समयपछि राप्रपाले मकवानपुरमा जित निकालेको हो । २०५१ सालपछि जित दिलाउने दीपकबहादुर सिंह बन्नुभएको छ । उहाँले दुई संसदीय निर्वाचन र दुई मेयर निर्वाचनमा पराजित भएपछि पाँचौँ पटकको प्रयासमा जित निकाल्नुभएको हो । संयोग मान्नुपर्छ पाँचौँपटक जित्नुभएका विरोध खतिवडा पराजित र पाँचौँ पटकमा राप्रपाका सिंहले जित एकै निर्वाचनमा भएको छ ।

पटक-पटक निर्वाचन हार्नु, जनताको सेवामा नलाग्नु, पार्टीभित्रको द्वन्द्व बढ्दै जानु, जनतामा पार्टी र पुराना नेताहरूसँग वितृष्णा जाग्नु, रवि लामिछानेको क्रेज देशभर बढ्नु, बालेन्द्र साहको जस्तो कामले जनतामा मत र मन परिवर्तन गर्नु जस्ता कारणले पनि चुनावमा राष्ट्रिय स्तरका नेताहरूले पराजित भोग्नुपरेको अवस्था सिर्जना भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?