को हुन् लुम्बिनीको मुख्यमन्त्रीका दावेदार राना ?

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 9 mins

पाल्पा । नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर राना लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदार हुनुहुन्छ । पाल्पा क्षेत्र नं. २ (१) बाट भारी मतका साथ निर्वाचित भएसँगै रानाको मुख्यमन्त्री बन्ने ढोका खुलेको छ ।

रानाको प्रदेश सांसद यात्रा
२०२२ साल जेठ १५ गते पाल्पाको बगनासकाली गाउँपालिका खानीगाउँमा बुबा टिकाराम राना र आमा गोमती रानाको गर्भबाट जन्मनुभएका रानाको यो दोस्रो सांसद यात्रा हो । उहाँ यसअघि समानुपातिक र अहिले प्रत्यक्षबाट निर्वाचित सांसद बन्नुभएको हो । २०७४ को प्रदेशसभा सदस्यमा समानुपातिकबाट निर्वाचित भएपछि उहाँ पहिलोपटक लुम्बिनी प्रदेशमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्नुभएको हो । पाल्पा र पाल्पावासीको समृद्धि र विकासमा अहोरात्र खट्नुभएका राना प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै कुलप्रसाद केसी नेतृत्वको गठबन्धन सरकारबाट मन्त्री बन्नुभएको थियो ।

२०४५ देखि राजनीतिक यात्रा सुरु गर्नुभएका राना तरुण दलदेखि नेपाली कांग्रेसको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पार्टी जिल्ला सहसचिव हुँदै जिल्ला सभापति हुनुभएको थियो । राना नेपाली कांग्रेसको १२औँ महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति र १३ औँ महाधिवेशनमा सर्वसम्मतरूपमा पुनः पार्टी सभापति हुनुभयो । २०७० सालको आमनिर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका राना तत्कालीन एमालेका सोमप्रसाद पाण्डेयसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । २०७४ को निर्वाचनमा भने उहाँ लुम्बिनी प्रदेशमा समानुपातिकतर्फबाट उम्मेदवारी दिई सांसद बन्नुभएको हो । सांसदको भूमिकामा रहेदेखि नै पाल्पा र पाल्पावासीको समृद्धि र विकासमा अहोरात्र खट्नुभएका राना अहिले भारी मतले प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभाबाट ब्याक
राना उम्मेदवारी दिनुुपूर्व पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस हुनुभएको थियो । रानाले आफ्नो चुनावी तयारीलाई सोहीअनुरूप अगाडि बढाउँदै हुनुहुन्थ्यो । अचानक सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको भागमा क्षेत्र नं. २ को टिकट सार्वजनिक भयो । प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्ने लक्ष्य बोक्नुभएका रानाका लागि गठबन्धनको निर्णय स्वाभाविकै रूपमा ‘अप्रिय’ हुनुपर्छ किनभने स्वतः उम्मेदवारी बन्ने बाटोमा समाजवादीका नेता तगारो बन्न आउने संशय उहाँलाई थियो । नभन्दै रानाको क्षेत्रमा समाजवादीका सोमप्रसाद पाण्डेयको उम्मेदवारी निश्चित भयो । त्यसो त पाण्डेयलाई एकीकृत समाजवादीले यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिस गरिसकेको थियो । केन्द्रबाटै आएको गठबन्धनको निर्णयलाई सहजै स्वीकार गर्दै राना प्रतिनिधिसभाबाट ब्याक भएर प्रदेशसभामा उम्मेदवारी दिनुभयो । रानालाई प्रतिनिधिसभामा पठाउन पाल्पाली नेता तथा नागरिकहरूको ठूलै समर्थन थियो तर गठबन्धनको निर्णय रानाका लागि बाध्यात्मक बन्यो । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार पाण्डेयलाई स्वीकार गरेर यही क्षेत्रको प्रदेशसभा १ बाट उम्मेदवार बनेर रानाले आफ्नो अभियान तीव्र पार्नुभयो । पाल्पाली नेता कार्यकतालाई साथमा लिएर चुनावी अभियानमा होमिनुभएका राना अन्ततः सफल हुनुभयो । प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले हराउँदै प्रदेशसभा प्रवेशको गतिलो साइत उहाँका लागि जु¥यो । मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले सार्वजनिक गरेको मत परिणामअनुसार रानाले १६ हजार ३९ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९६४ मत ल्याउनुभयो । प्राप्त मत परिणामअनुसार राना दुई हजार ७५ मतान्तरमा विजयी हुनुभयो । चुनावी परिणामले उहाँलाई प्रदेशसभा सदस्यका रूपमा मात्रै उभ्याइदिएन, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको सम्भावनाको नजिक समेत पुर्‍याइदिएको छ ।

अबको यात्रा
राना उम्मेदवार बन्नुअघिदेखि नै प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा चलेको हो । उहाँ प्रदेश सांसद होस् वा मन्त्री हुँदा नै प्रदेशको विकास र समृद्धिका लागि सक्रियरूपमा लागेका कारण पनि उहाँलाई धेरैले अबको मुख्यमन्त्रीका रूपमा देख्न चाहेका छन् । यसकारण पनि उहाँको विजयको सुरुवात मुख्यमन्त्री बन्ने संकेतका रूपमा धैरेले लिएका छन् । उहाँ आफू पनि अबको मुख्यमन्त्रीका लागि प्रमुख दावेदार हुनुुहुन्छ । रानाले विगतदेखि नै पाल्पालाई समृद्धि र उज्यालो बनाउने अठोट लिँदै आउनुभएको थियो । मन्त्री बनेको छोटो समयमै उहाँले पाल्पा र समग्र प्रदेशको विकासमा उल्लेखनीय काम गर्नुभएको छ । यसका कारण पनि उहाँले मुख्यमन्त्रीको दाबी गर्दै आउनुएको छ । निर्वाचित भएपछि उहाँले हिटासँग कुरा गर्दै भन्नुभयो, ‘चुनावी परिणामको उत्साहमात्रै हैन, प्रदेशको नेतृत्वकर्ताको जिम्मेवारी पनि आजैबाट बोकेको छु ।’ रानाले यो प्रदेशको समृद्धिको रेखांकनसमेत कोर्न थालिसकेको बताउनुभयो । ‘यो निर्वाचनको परिणाम हेर्दा नेपाली जनताले प्रदेशमा स्थिर सरकारमात्रै खोजेका होइन, अब प्रदेशलाई हाँक्ने नयाँ नेतृत्व पनि खोजिरहेका छन् । त्यस्तो नयाँ नेतृत्व आजको दिनमा कसैले दिन सक्दछ भने त्यो नेपाली कांग्रेसले मात्रै दिन सक्छ,’ रानाले भन्नुभयो । उहाँले सुरुवातदेखि नै आफूलाई मुख्यमन्त्रीका रूपमा दाबी गरेका कारण पनि पाएको मतको एउटा आधार त्यसलाई पनि मान्न सकिन्छ । मतको सम्मान गर्न पनि रानाका सामु अर्को चुनौती आइपरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?