पुस्तक : ‘भमरकोटका नवरङ्ग’ एउटा स्तरीय पुस्तक

✍️ सुशीला घिमिरे

एउटा भीमकाय पुस्तक छ अहिले मेरा हातमा र यस पुस्तकको शीर्षक छ ‘भमरकोटका नवरङ्ग’ । तिलकप्रसाद लुइँटेलले सम्पादन गर्नु भएको यस पुस्तकको संयोजक तेजप्रकाश बानियाँ र दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ रहनु भएको छ । पुस्तको पहिलो संस्करणका रूपमा २०७९ साल असोज महिनामा पुस्तक सार्वजनिक भएको छ र यो पुस्तक पाँच सयप्रति छापिएको छ भन्ने यस पुस्तकमा उल्लेख भएको छ । भमरकोट प्रकाशन प्रकाशक रहेको पुस्तकको सर्वाधिकार पनि प्रकाशकमै रहेको छ । यसको आवरण र लेआउट अस्मिता कडेलले तयार गर्नुभएको छ । गौरी पब्लिक रिलेसन एन पब्लिकेसनमा मुद्रण भएको छ यो पुस्तक ।

भमरकोट काभ्रेपलाञ्चोक जिल्लामा पर्ने एउटा गाउँ हो जहाँबाट राष्ट्रियस्तरमा पुग्न सफल बनेका केही व्यक्तिहरूको जीवनी केन्द्रित पुस्तक हो यो । यस ठाउँमा भमरकोट देवीको थान छ । त्यसकारण यस ठाउँलाई भमरकोट भनिएको हो । यही ठाउँका उच्च तह र पदमा पुग्न सफल व्यक्तिहरू यस पुस्तकमा समेटिनु भएको छ । पुस्तकको आवरण सुन्दर छ । माथि नीलो पृष्ठभूमिमा पुस्तकको शीर्षक ‘भमरकोटका नवरङ्ग’ भनेर ठूला अक्षरमा उल्लेख गरिएको छ भने त्यसमुनि इन्द्रेनी लागेको जस्तो देखाइएको छ । तल वनका बीचमा मन्दिर राखिएको छ जुन भमरकोट देवीको मन्दिर हुनसक्छ ।

आवरण पृष्ठको तल साना सेता अक्षरमा संयोजक द्वय तेजप्रकाश बानियाँ र दुर्गा अधिकारीको नाम उल्लेख भएको छ । यो पुस्तक डिएमआई आकारमा छ र छपाइ स्तरीय छ । अशुद्धिहरू कमै भेटिन्छन् । पुस्तकमा २४+४४८ गरी ४७२ पृष्ठ रहेका छन् र पुस्तकको मूल्य ६ सय रुपैयाँ रहेको छ । पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग गरिएको छ । यस पुस्तकको पृष्ठ आवरणमा ‘नौ भमरकोटे’ भनेर यस पुस्तकमा समटिएका नौजना व्यक्तिहरूको फोटो र नाम दिइएको छ । गोलाकार रूपमा उहाँहरूका फोटा र गोलाकारको भित्र भमरकोट देवीको मन्दिर दिइएको छ । यसै पृष्ठको तल पहेंला अक्षरमा प्रकाशक ‘भमरकोट प्रकाशन’ एकातिर भनिएको छ भने अर्कातिर बारकोड दिइएको छ ।

यस पुस्तकमा भमरकोट गाउँका उच्चस्तरीय प्रतिभाहरूलाई चिनाउने प्रयास भएको छ । साहित्यकार, प्राविधिक, विद्यावारिधि गरेका व्यक्तिहरू, सामाजिक अभियन्ता वा समाजसेवीहरू, शिक्षासेवीलगायत विभिन्न क्षेत्रका व्यक्ति यहाँ रहनु भएको छ । अगाडि आउन नसक्नुभएका कारणले नै हुनसक्छ महिलाहरू यसमा समेटिएको पाइएन ।

यस पुस्तकमा तेजप्रकाश बानियाँ, दुर्गा अधिकारी भमरकोटे, बलराम सापकोटा, शङ्कर काफ्ले, दोमोदर अधिकारी, डा.सुधार अधिकारी, डा.भरत लामिछाने, रामशरण लुइँटेल र नरेन्द्रजंग पिटर रहनुभएको छ ।

पुस्तक भूमिका खण्ड र पाठ्य खण्डमा विभाजित छ । भूमिका खण्डमा अगाडि नै कोटदेवीको स्तुति भनेर वसन्ततिलका छन्दमा एउटा ६ श्लोकको एउटा कविता दिइएको छ तर यो कविताका कविको नाम दिइएको छैन । यहाँ कविको नाम पनि दिएको भए रचनासँगै रचनाकार पनि चिनिन सक्नुहुन्थ्यो । यसपछि प्रकाशकीय रहेको छ । प्रकाशकीयपछि यस पुस्तकका सम्पादक तिलकप्रसाद लुइँटेलको ‘नौलोपनमा नौ रङ्ग’ रहेको छ । यस पुस्तकको सार खिचेर उहाँले लेख्नुभएको यस विचार लेखनमा उहाँले आफ्नो विचारसहितको सारसंक्षेप यहाँ अभिव्यक्त गर्नुभएको छ ।

यसपछि भूमिका शीर्षकअन्तर्गत यस पुस्तकमा समेटिएका सबै व्यक्तिबारे छोटकरीमा चिनारी दिने काम गरिएको छ । अनि विषयसूची दिइएको छ जसमा यस पुस्तका समेटिएका नौजनाको नामसहित उहाँहरूलाई चिनाउने प्रयास भएको छ । जसलाई नियाल्दा यी जीवनीपरक लेखनहरू सम्बन्धित व्यक्तिहरू आफैँले लेखेको जस्तो देखिन्छ । यहाँ कुनै लेखन आ-आफ्ना जीवनी केन्द्रित रहेका छन् भने कुनै उहाँहरूले गरेका कामकेन्द्रित छन् । अनि यसैगरी कुनै-कुनै लेखन चाहिँ स्थान र त्यहाँको भूगोल केन्द्रित पनि छन् । कुनै संस्मरणात्मक छन् र कुनै आफ्नै जीवनलाई विभिन्न कोणबाट हेर्ने, चिनाउने र विभिन्न कोणबाट मूल्यांकन गर्ने खालका छन् ।

यस पुस्तकमा उक्त गाउँका उच्चस्तरीय प्रतिभालाई चिनाउने प्रयास भएको छ । साहित्यकार, प्राविधिक, विद्यावारिधि गरेका व्यक्तिहरू, सामाजिक अभियन्ता वा समाजसेवीहरू, शिक्षासेवीलगायत विभिन्न क्षेत्रका व्यक्ति यहाँ रहनु भएको छ । अगाडि आउन नसक्नुभएका कारणले नै हुनसक्छ महिलाहरू यसमा समेटिएको पाइएन । यसको अगामी संस्करणहरूमा उहाँहरूलाई समेत समेट्ने प्रयास होस् भन्ने सुझाव दिनु अन्यथा नहोला । पुस्तक मोटो छ र एकैजनाको जीवनी वा परिचय निकै लामो छ ।

त्यसको सकारात्मक पाटो जो जो व्यक्ति यहाँ समेटिनु भएको छ उहाँहरूको प्रायः सबै पक्ष समेटिएको पाइन्छ भने पाठकहरूका लागि त्यति लामो पाठ्य सामग्री अरुचिकर होला कि भन्ने भय चाहिँ रहन्छ । तैपनि कोही कसैका बारेमा जान्न र उहाँहरूको व्यक्तित्व र कृतित्वमा रुचि राख्नेहरूका लागि यी सामग्री पूर्णरूपमा समेटिनुलाई लेखक, सम्पादक र प्रकाशक सबैको सत्प्रयास मान्नुपर्छ । यहाँहरूबाट यस्ता अरू प्रयास पनि हुनु आवश्यक छ ।

यसरी एउटा गाउँबाट विभिन्न संघर्ष गर्दै देशका उपल्लो स्तरमा पुग्न सफल व्यक्तिका बारेमा यसरी पुस्तकाकार गर्ने जमर्को उहाँहरूबाट भएको छ यो प्रशंसनीय कार्य हो । यस पुस्तकलाई यस रूपमा ल्याउने कार्यमा अग्रणी भूमिका खेल्ने भमरकोट प्रकाशनको सत्प्रयास प्रशंसनीय छ । यसका लागि यहाँ समेटिनु भएका सबैलाई धन्यवाद तथा बधाई छ । यस पुस्तकको सफलताको कामनाका साथै यस पुस्तकको अध्ययनबाट प्रेरणा लिई अन्य स्थानका यस्तै अनेकौं क्षेत्रमा सफल व्यक्तिले यस्तो प्रयास गर्नु उचित हुन आउँछ । यसका साथै भमरकोट प्रकाशनबाट यस्तै अन्यान्य पुस्तकहरू यसरी नै आइरहून्, हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?