हुमबहादुरले रोजेको इखलाग्दो बाटो !

A A- A+

✍️ डा. नारायण चालिसे

सतीसालको रूख भन्न मन पराउँछु म उसलाई । कहिल्यै गलेन ऊ, समयको निष्ठूर प्रहार अनेक पटक खपेर छाँटिएको निखरा मौलिक नेपाली नागरिक भएर बस्यो जहिले पनि । निर्दलमा बहुदलको समर्थक भएर डट्यो । बहुदलमा सत्य र न्यायको हिमायती भएर खट्यो । ऊ राजनीतिको कुशल खेलाडी पनि होइन, सत्ताको व्यापारी पनि होइन । एउटा सरकारी विद्यालयको पिउन थियो त्यो पनि अहिले रिटायर्ड भयो । त्यसभन्दा बढी ऊ सचेत नागरिक हो । सत्ताले खल्बल्याएको नागरिक सद्भावलाई जोडेर आत्मीयता बढाउन चाहने आम नेपालीको कोटीमा राख्नुपर्छ उसलाई देशले भोगेको पीडामा हिस्सेदार भएर पीडा भोग्नेमा ऊ पनि पर्छ उसलाई देश दुःखेको राम्ररी थाहा छ ।

ऊ अर्थात् हुमबहादर कँडेल । यस निबन्धको नायक उसैलाई बनाएको छु । बनाएको छु भन्नुभन्दा पनि ऊ यस निबन्धमा नायक बनेर आएको छ । नायक बन्न सक्ने योग्यताउसले बोक्न सक्छ । समाजको केन्द्रीयतामा उसलाई राखेर न्याय गर्ने मन भयो भनौँ यसपटकलाई । ऊ त्यसरी नै उभियो मेरा सामु जसरी ऊसँगको चिनजानको चालीस वर्षअगाडि उभिन्थ्यो हाम्रा सामु । उभिने र हाँस्नेक्रम उस्तै छ तर अहिले धेरै नै बुढो भइसकेछ । खप्टिएका खैरा दाँत र गिँजामा ज्यादै मिल्दो भन्न नसुहाउने भए पनि उसको अनुहार र हाँसो यसपालि मलाई राम्रो लाग्यो ।

हुमबहादुरले मप्रतिको बुझाइ र आफ्नो हैसियत यसरी एकैचोटी वर्षा गराउँछ । म आफ्नो प्रशंसाले भन्दा उसको योगदानको भारले बढी थिचिन्छु । यस क्षेत्रका प्रायः सबै विद्यालय, स्वास्थ्य संस्थाहरू क्लबहरू, सामाजिक संस्थाहरू सबैतिर आर्थिक सहयोग एवं श्रमदान गरेको छ उसले ।

मौका नपर्खी हाँस्ने र अवसर नबुझी बोल्ने उसलाई उहिले हामीले असहज भन्थ्यौँ तर यसपालि सुहाउँदिलो लाग्यो उसको बोली र व्यवहार पनि । गुरुका भतिजाहरू भनेर हामीलाई असाध्यै माया गर्ने र त्यत्तिकै सम्मान पनि गर्ने । बुढो भएको स्पष्टै बुझिने एक किसिमले शिथिल बन्दै गएको जिउ, धसिएका आँखाका कोश चाउरिएका, बटन खुलेको सर्ट र ज्वारीकोट, सेतै फुलेका दाह्रीले ढाकेको अनुहार, पुट्ट बाहिरिन आँटेको हो कि ? भन्न सकिने भुँडीलाई जसोतसो मिलाएको साधुजस्तो भनौँ वा मौलिक नेपाली नै हो ऊ पत्याउन मिल्ने ।

हो यही प्रमुख चरित्र मानेर उभिन आएको आदेश पर्खेजस्तो गरी । फरक थियो हिजो र आजमा । हिजो प्रभुत्वको अहं बोकेर कति कुरा उसले हामीलाई आदेश गथ्र्यो । उसलाई गाली गर्न, काम गराउन, उस्तै परे एकदुई थप्पड लगाउन पनि हक थियो उतिखेर । यीमध्ये कुनै सम्भावनामा उभिन्थ्यो तर हाम्रो एउटै बुझाइ थियो हामी उसँग डराउनुपर्छ किनकि हामी साना थियौँ । ऊ नारायण गुरुको प्रिय थियो । गुरु र ऊ उत्तिकै भय लाग्दा थिए हाम्रा लागि । आज पनि ऊ त्यसरी नै उभिएको हो । म सम्झन्छु उतिखेरका ती दिन । मनमा अझै ढुक्क उभिन नसकेको जस्तो लागिरहन्छ तर अहिले परिस्थिति त्यो होइन ।

उसको अनुहारमा कृतज्ञताको भाव, अलिकति आस्था, भरिएको खुल्ने गरी मेरा सामु आदेशको प्रतीक्षामा उभिएको झैँ गर्दा मलाई केही असजिलो पनि लाग्यो । हाम्रा लागि हुमबहादुर जहिले पनि ठूलै मानिस हो भन्ने पनि छ मनमा तर आज ऊ मेरो आदेश पर्खिरहेको जस्तो लाग्छ । हिजो उसको आदेश हामी मान्थ्यौँ आज ऊ मेरो आदेश मान्न उभिएको लाग्दैछ तर मैले अहिले पनि र कहिल्यै पनि आदेश गर्छु भन्ने मलाई लाग्दैलाग्दैन । म धेरै अग्लिएको हुँ वा उसले आफूलाई धेरै होचो ठानेको हो आ-आफ्नै बुझाइमा छन् यी कुरा ।

‘नारायण बाबु तपाईं त ठूलो मानिस बनिसक्नु भयो । कति पढ्नुभयो ? डिग्री पढ्नुभयो ? हेर्नुस् न तपाईंहरू कहाँ कहाँ पुग्नुभयो म भनेँ यहीँ बुढो भएँ । कपाल फुलिसक्यो, दाँत झर्न थाले सात सालको हुँ । पहिलेजस्तो काम गर्न सक्दिन । अझै पनि गाउँगाउँमा बोलाइरहन्छन् । हेर्नुस् त बाबु यिनीहरूले नबुझेका म अब पहिलेजस्तो पिउनमात्रै कहाँ हुँ र ? यस क्याम्पसको प्रधान चन्दादाता पो हुँ त ? अब त काम गराउन पनि लाज लाग्नुपर्ने होइन र ?’ फेरि उन्मुक्त हाँसो हाँस्छ हुमबहादुर ।

हुमबहादुरले मप्रतिको बुझाइ र आफ्नो हैसियत यसरी एकैचोटी वर्षा गराउँछ । म आफ्नो प्रशंसाले भन्दा उसको योगदानको भारले बढी थिचिन्छु । यस क्षेत्रका प्रायः सबै विद्यालय, स्वास्थ्य संस्थाहरू क्लबहरू, सामाजिक संस्थाहरू सबैतिर आर्थिक सहयोग एवं श्रमदान गरेको छ उसले । पिउनको जागिरबाट प्राप्त हुने सबै रकम मात्र होइन ज्यालामजदुरी गरेको रकम पनि उसले दान गर्छ । ‘हेर हुमबहादुर तिमीले बिउ रोपेको यो बिरुवा आज तिम्रै आँखा अगाडि सप्रिएको रुख बनेर उभिएको छ । यो स्कुलको इतिहास लेखिएछ भने तिम्रो नाउँ दोस्रो तेस्रो पंक्तिमा लेखिने छ ।’

मैले उसको योगदानको निष्पक्ष समीक्षा गरेँ । ऊ मेरा सामु उभिएकै छ । म आवश्यक मात्रामा औपचारिक बनेको अनुभव गर्छु । उसको आँखामा यति बिघ्न घनीभूत कृतज्ञता उठेर आएको मैले यसपटक देखेँ । यति गहिरो भाव उठ्ने गरी मैले उसलाई गुन लगाएको पनि होइनमात्र उसको योगदानको निष्पक्ष मूल्यांकन गरेको हुँ । सायद सत्य बोलेको बुझ्यो उसले र सत्य सुन्न पाएको खुसी हो यो उसको कृतज्ञता । सायद यसअघि यत्ति पनि कसैले उसको प्रशंसा गरेको थिएन । उसको योगदान निश्चय पनि मूल्यांकन भएको छैन । यस कारण यो कुरा बढी महत्वको लाग्यो ।

मझुवाको धैरेनी डाँडोलाई गैँचीले सम्याएर, कालीले पछारेका बगरका ढुंगा बोक्दा पिठ्युँका छाला खुइलिएको रक्ताम्ये काँध र गैँचीले उठाएका हत्केलाका ठेला हामीले देखेका हौँ उसका । यो समयका वरिपरि गाउँका सयौँले देखेका हुन् । उसको परिचय यहीँबाट थालिनुपर्छ । उसलाई चिन्नेले यहीँबाट चिन्नुपर्छ भन्छु म । यसकारण पनि मैले उसको आस्थाको भारी बोकेको छु । मेरो जस्तो अनुभव गर्ने धेरै होलान् तर मैले जस्ता कसैले आजसम्म लेखेको थिएन होला । आज उसको भाव मैले बोकेको छु, साँचेर राखेको छु ।

उसले दिएका धेरै कुरा छन् समाजमा । पिउनको जगिरले आर्जेको धन र बाहुको बलले जोरेको सबै कमाइ एकमुष्ट पारेर संमावि मैले पढेको र अनि उसले जागिर खाएको विद्यालयलाई बनाउन र त्यसैलाई उच्च मावि बनाउन एक लाख दिएको कुरा गरौँ कि ? फलेवास क्याम्पसलाई बिएसम्म पु¥याउन पच्चीस हजार चन्दा दिएको कुरा गरौँ ? वा जनकल्याण मावि रिठाबोटलाई बीस हजार दिएको कुरा गरौँ कि ? सरस्वती निमाविलाई बीस हजार सहयोग गरेको कुरा गरौँ ? गाउँमा हलो जोतेर धेरैका घरको खेती लगाइदिएका कुरा गरौँ ? वा बिरामीलाई डोकोमा बोकेर अस्पताल पु¥याएर बँचाएका कुरा गरौँ ? वा मर्दापर्दा चाहिने सहयोग र बलको काम गर्नु परे छिमेकी दश गाउँले हुमेलाई सम्झेका कुरा गरौँ ?

यी केही मैले मोटामोटी थाहा पाएका कुरा हुन् । यस्ता धेरै ठाउँमा उसको योगदान सजिएको छ । हुमे अतीत र वर्तमान भएर उभिएको हामीले देखेकै हौँ । आशा बनेर, गुन बनेर योगदान बनेर र बलिदान बनेर हुमे उभिएको हो । हुमबहादुरको अस्तित्वलाई समाजले स्वीकारेको कुरा गाउँ जाँदा बुझिन्छ । हुमेले इतिहास बनायो बेलबगरमा । उसको झडङ्गे स्वभावले उसको नजिक पर्न डराउनेहरू परोक्षमा उसको गुनले थिचिएका छन् । हैसियत बिर्सिन्छ हुमबहादुर बेलाबेलामा । मान अपमानको हेक्का रहँदैन उसलाई । आफ्नो र परको पनि बिर्सिन्छ घरिघरि उसले ।

जब उसलाई कसैले होच्याएर बोल्छ ऊ रिसले आगो पर्छ । कहिले अनाहकमा झगडा गर्न अघि सर्छ । कहिले अस्वाभाविक व्यवहार गर्न अघि सर्छ । यदाकदा रक्सीले मातेको दिन उसले हेडसर पनि भन्दैन । अरूलाई सस्यानो देख्छ र जथाभावी बोल्छ । तर, उसको त्यो बेलाको बोलीमा पनि केही सत्यता लुकेकै हुन्छ । उसका यस्ता केही बैगुन पनि छन् । तर उसको इतिहास बुझेकाहरू उसलाई एडजष्ट गर्छन् ।

बाग्लुङ बजातिरबाट आएको हुनाले र उसले नै म साहिँलो छोरो हुँ भनेकाले होला सायद उसलाई बाग्लुङे साइँलो पनि भन्थे । खासमा संमावि स्थापना गर्ने सिलसिलामा विद्यालयका संस्थापक प्रधानाध्यापक नारायण चालिसे गुरुले उसलाई कतै भेटेर त्यहाँ लिएर आउनुभएको हो । हातखुट्टाभरि मुसा भएका कारण कतिले उसलाई मुसे भनेर पनि नाम काढ्थे तर उसलाई यो सम्बोधन मन पर्दैनथ्यो र रिसाउँथ्यो । सानैमा घर छोडर हिँडेको उसलाई आफ्नो जात, थर, गोत्र पनि थाहा थिएन । जागिरमा नागरिकता चाहिएपछि ऊ आफ्नो जन्मघर, थर र गोत्र खोज्न हिँडेको थियो ऊ ।

उसले थाहा पायो ऊ बाग्लुङको उत्तरी भेगको कुनै गाउँमा जन्मिएको कँडेलको छोरा रहेछ क्षेत्रिनीपट्टिको । त्यसपछि बाग्लुङे साहिँलो हुमबहादुर कँडेल बन्यो । एउटा अनपढ नागरिक भएर यति सारो सचेत बन्न पुगेको उसको व्युत्पन्न बुद्धि प्रशंसा गर्न लायक छ । देशदेशावरका र समसामयिक राजनीतिका धेरै कुरा उसलाई राम्ररी थाहा हुन्छ । उसले उमेर ढल्केपछि राम्री केटी बिहे गर्‍यो तर फिरन्ते स्वभावको उसलाई स्वास्नीले पत्याइन । कुइरा आँखा भएकाले कुइरी पनि भन्थे उसलाई । बेलबगरमा मिल चलाउने भीमे अपरेटरले स्वास्नी जिप्ट्याइदियो ।

पछिसम्म हुमेले कुइरीका गुन, बैगुन गाउँदै रहृयो तर अनौठो के लाग्यो भने पछि ऊ धेरैपटक त्यही कुइरीका घरमा गएर उसैले पकाएर दिएको भात खायो । उसले नैतिक इज्जत पनि जोगाएर बस्यो । समाजसेवालाई लक्ष्य मान्ने हुमेको इतिहास इखलाग्दो उपन्यास बन्ने ढङ्गको छ तर हुमेलाई साहित्यमा उतारेर अहिलेसम्म कसैले कृति लेखेको छैन । अहिलेसम्म हुमेको इतिहास अलिखित छ र बेलबगरको वरपरमात्र सीमित रहेको छ । यति काम कुनै धनाड्य व्यक्ति वा राजनीतिक व्यक्तिले गरेको हुन्थ्यो भने ऊ चर्चाको शिखरमा हुन्थ्यो वा उसले राजनीतिको कुनै बाजी मारिसकेको हुन्थ्यो । यसपटक म घर गएको बेला एउटा झाँकी दृश्यमा आयो-

‘आँधीखोला उर्लेर आयो आउने थिइन मायाले बोलायो’ माथिको गीतको भाकामा सुम्साका दमाईंहरू नौमती बाजा बजाइरहेका थिए र अघिअघि जनशक्ति मावि अर्जेवाका छात्रछात्राहरूले विद्यालयको झण्डा लिएका, त्यसको बीचमा हुमबहादुर दौरा, सुरुवाल, ज्वारीकोट, जुत्ता र ढाकाको टोपी, अनुहारमा रातै अबीर, गलामा फूल र रुपैयाँको माला लगाई मख्ख पर्दै हिँडेको । पछिपछि बाजाको तालमा रमाइलो गर्दै मानिसहरू केही भद्रभलाद्मीको ताँती, हुमेको झोला बोकिदिने मानिस आउँदै गरेको घरको आँगनबाट देखेपछि लाग्यो हुमेले पक्कै पनि अर्को कुनै चमत्कार ग¥यो भन्ने लागेर बाटोमा निस्केँ ।

हुमबहादुरको योगदान अतुलनीय थियो अरू धेरै मै हुँ भन्ने जमिन्दार, जागिरे, व्यापारी, हामीजस्ता पढेलेखेकाहरू कसैले पनि गर्न नसकेको काम उसले गर्दै हिँडेको छ । र, यी सबैलाई फुच्चे तुल्याएर ऊ अग्लिएको छ । उमेरमा कमाएको सबै पैसा दानमै सिध्यायो उसले ।

हुमबहादुर आज खास किसिमले प्रफुल्लित देखिन्थ्यो तैपनि नम्र भई नमस्कार गर्‍यो र छोटो कुशलक्षेमपछि अगाडि बढ्यो । त्यो रहेछ उसको अभिनन्दन कार्यक्रमको पूर्वदृश्य । बेलबगरबाट अर्जेवाको निम्ति छुटेको । हालसालै जनशक्ति मावि अर्जेवाको भवन निर्माणार्थ रु. पचहत्तर हजार आर्थिक सहयोग गरेको उपलक्ष्यमा उसलाई अभिनन्दन गरिँदै रहेछ । यो दृश्य देखेर म गम्भीर भएँ । उसले कुनै भ्रष्टाचार गरेको छैन । लामो जागिरे जीवनमा कमाएको सबै पैसा संस्थाहरूलाई दान दिँदै हिँडेको छ ।

त्यो योगदान अतुलनीय थियो अरू धेरै मै हुँ भन्ने जमिन्दार, जागिरे, व्यापारी, हामीजस्ता पढेलेखेकाहरू कसैले पनि गर्न नसकेको काम उसले गर्दै हिँडेको छ । र, यी सबैलाई फुच्चे तुल्याएर ऊ अग्लिएको छ । उमेरमा कमाएको सबै पैसा दानमै सिध्यायो उसले । जब जागिरबाट अवकाश भयो साँझ कहाँ खाने ? बिहान कसकोमा जाने ? निधो छैन । बुढेसकालमा निकै दुःख हुँदैछ उसलाई भन्ने खबरले मन खिन्न भयो । जागिरे जीवनको यति लामो अवधिमा पनि कागजी प्रक्रियाले गर्दा उसले पेन्सन पनि पाएन भन्ने सुन्दा ज्यादै चित्त दुखेको थियो । हालसालै थाहा लाग्यो उसका कागजपत्र मिलेर उसले अब पेन्सन पाउने भयो अरे भन्ने सुनेर केही सन्तोष पनि लाग्यो ।

यसरी पनि त जीवन चलाउन सकिँदो रहेछ । जसले जे कुरा गरोस् गुन बैगुन सबैसँग छन् । तीभन्दा माथि उठेर अद्वितीय देनले नै मानिसले सायद उचाइलिने हो । एउटा पिउनले यो देशको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा यति धेरै योगदान गरेको छ । शारीरिक श्रमको त कुनै लेखाजोखा नै छैन । हुमबहादुरको गुन र योगदानलाई सम्झिएर भन्न मन लाग्यो समयले दिन सक्छ भने यो देशलाई हजारौँ, लाखौँ मनकारी र दानवीर हुमबहादुरहरू देओस् । प्रिय हुमबहादुर तिमीले अमर हुने बाटो रोजेका छौ जुन ज्यादै फराकिलो र इखलाग्दो छ !

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?