कैलालीमा नागरिक उन्मुक्ति पार्टी पहिलो दल

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका १० निर्वाचन क्षेत्र छन् । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

जिल्लामा नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ । नौ महिना पहिला स्थापना भएको नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टीलाई पछाडि पार्दै ठुलो दल बनेको हो । कैलालीमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रतिनिधि सभा सदस्यका ३ र प्रदेश सभा सदस्यका ५ निर्वाचन क्षेत्रमा विजयी भएका छन् । टीकापुर विद्रोहको जगमा २०७८ फागुन ३ गते नागरिक उन्मुक्तिको स्थापना भएको हो ।

स्थापनाको छोटो अवधिमै एक्लै चुनावी मैदानमा उत्रेको पार्टी कैलालीमा ठूलो शक्ति बनेर उदाएको छ । प्रतिनिधि सभाका पाँच निर्वाचन क्षेत्र रहेकोमा १ देखि ३ सम्म नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन् । जिल्लामा प्रदेश सभाका पनि पाँच निर्वाचन क्षेत्रमा ढकिया अङ्कित झन्डा फहराएको छ । ढकिया नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न हो ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्षसमेत रहनु भएकी रञ्जिता श्रेष्ठले कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनुभयाे । उहाँ नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् टीकापुर घटनाका बन्दी रेशम चौधरीको श्रीमती हुनुहुन्छ ।

जिल्लाको क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुन चौधरी निर्वाचित हुनुभएकाे छ । क्षेत्र नम्बर ३ मा गंगाराम चौधरी विजयी हुनुभएकाे छ । जिल्लाको क्षेत्र नम्बर १ र २ मा उक्त पार्टीले क्लिन स्विप गरेको छ । प्रदेश सभा सदस्यमा १ को (१) मा कैलाश चौधरी, (२) मा लक्ष्मणकिशोर चौधरी, २ को (२) मा रामेश्वर चौधरी र ३ को (१) मा घनश्याम चौधरी, (२) मा खुशीराम डंगौरा थारु निर्वाचित भएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको जिल्ला कैलालीका ४ र ५ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर ४ मा काँग्रेस सुदूरपश्चिम सभापति समेत रहेका पूर्वमन्त्री वीरबहादुर बलायर र ५ मा पूर्व प्रदेश सभा सदस्य डिल्लीराज पन्त विजयी भएका हुन् । काँग्रेसले जिल्लामा प्रदेश सभाका तीन क्षेत्र जितेको छ ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी) केन्द्रले प्रदेश सभा सदस्यतर्फ एक/एक क्षेत्र जितेका छन् । नेकपा (एस) का उम्मेदवार सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले जिल्लाको निर्वाचन क्षेत्र ४ (१) जित्नुभएकाे हाे । माओवादी केन्द्रका उम्मेदवार रमेश धामीले कैलालीको ५(१) निर्वाचन क्षेत्रमा जित्नुभएकाे छ ।

नेपाली काग्रेसले प्रदेश सभा तर्फ कैलाली क्षेत्र नम्बर २(१) मा कमल शाह, ४(२) मा प्रकास वम र ५(२) मा प्रकास देउवाले जितेका छन् । नेकपा (एमाले) भने कैलालीमा जितविहीन बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?