इंग्ल्याण्डले गुमाएको मौका

Read Time = 2 mins

दोहा । इंग्ल्याण्डले कतार विश्वकपको नकआउट चरणमा पुग्ने मौका गुमाएको छ । शुक्रबार राती अमेरिकामाथि जित हात पारे इंग्ल्याण्ड नकआउट चरणमा पुग्ने निश्चित थियो तर गोलरहित बराबरीमा रहेपछि उसले मौका गुमाएको हो । पहिलो खेलमा इरानलाई ६-२ ले पराजित गरेका कारण पनि इंग्ल्याण्डको सम्भावना बलियो थियो ।

तर, निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अल बायट रंगशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक/एक अंक बाँडेका छन् । समूह ‘बी’ मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायमै राखेका छन् ।

समूह ‘बी’मा इंग्ल्याण्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन् । समूहका हरेक टोलीले दुई/दुईवटा खेल खेलिसकेका छन् । अहिलेसम्म इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित र अमेरिकासँग गोलरहित बराबरी गरी चार अंक बनाएको छ ।

त्यस्तै, इरानले इंग्ल्याण्डसँग पराजय बेहोरे पनि वेल्सलाई २-० ले पराजित गरी तीन अंक बटुलेको छ भने अमेरिकाले वेल्ससँग एक/एक तथा इंग्ल्याण्डसँग गोलरहित बराबरी गरी दुई अंक बनाएको छ । वेल्सले भने इरानसँग हार र अमेरिकासँग बराबरी खेलेर एक अंकमात्र बनाउन सफल भएको छ ।

अब यही मंसिर १४ गते बुधबार इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीच हुने खेलले अन्तिम १६ मा पुग्ने दुई टोलीको निर्धारण हुनेछ । दुवै खेल एकै समय राती १२ः४५ मा हुनेछन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?