सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन

Read Time = 4 mins

म्याग्दी । १७ वर्ष भारतीय सेनामा बन्दुक बोकेर सेवा निवृत्त भई गाउँ फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका-२ फापरखेतका नवीन घिमिरेले सुरु गरेको कालिजपालन यस क्षेत्रकै रहरलाग्दो र रमाइलो व्यवसाय बनेको छ । रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रूपमा नै कालिजपालन सुरु गर्नुभएका घिमिरेले सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गर्नुभएको छैन नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बन्नुभएको छ ।

२१ लाखको लगानीबाट कालिज पालन सुरु गर्नुभएका घिमिरेको फर्ममा अहिले ६ सय कालिज हुर्कंदै छन् भने यस अवधिमा उहाँले ११० वटा कालिज बिक्री गरेको बताउनुभएको छ । लामो अध्ययनपछि उहाँले फापरखेतमा कालिज पाल्ने सोच बनाउनुभएको थियो । ‘भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिज पालन गरेको देखेर म लोभिएको थिएँ’ ३९ वर्षीय फरासिला घिमिरेले भन्नुभयो, ‘पाँच वर्ष पछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउँदा नेपाल सरकारले कालिज पालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिज पालन व्यवसाय सुरु गरेको हुँ ।’

घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाउनुभएको छ । त्यही खोरमा चार सय बढी ‘रिङनेट’ जातका कालिजहरू हुर्किरहेका छन् । अधिकांश कालिजहरू बिक्रीका लागि योग्य भएका घिमिरेले बताउनुभयो । कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा तीन हजार पाँच सयका दरले बिक्री हुने गरेका घिमिरेले जानकारी दिनुभयो ।

कालिजका लागि उहाँले रैथाने आहारा (मकै, गहुँ, कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गर्नुभएको छ । त्यसका साथै हरियो भुइँ तथा डालेघाँसबाट पनि उहाँले कालिजलाई दानाको व्यवस्थापन गरेको बताउनुहुन्छ । उहाँको फार्ममा स्थानीय तीनजना व्यक्तिले रोजगारीसमेत पाएका छन् ।

निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफैँ चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको संख्या बढाउने उहाँको योजना रहेको छ । पाँच महिनामा दुई किलोभन्दा बढी तौल हुने र ती कालिजको मासु खानका लागि योग्य हुने उहाँले जानकारी दिनुभयो । कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्तिहरू र सुत्केरी महिलाहरूका लागि हितकारक हुने उहाँले जानकारी दिनुभयो । पाँचदेखि सात महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रूपमा विस्तार गर्दै लैजाने सोच उहाँको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?