गृहमन्त्री बालकृष्ण खाँण राप्रपाका बोहरासँग पराजित

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 9 mins

बुटवल । रुपन्देही-३ बाट राप्रपाका वरिष्ठ नेता दीपक बोहरा विजयी हुनुभएको छ । गृहमन्त्री बालकृष्ण खाँणसहित २२ जना उम्मेदवार रहेका यो क्षेत्रमा ३६ हजार ७१७ मत ल्याई बोहरा विजयी हुनुभएको हो । खाँणको हारसँगै रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधिसभामा ‘क्लिन स्विप’ भएको छ । बहालवाला गृहमन्त्रीलाई पराजित गरेको भन्दै राप्रपामा बोहरा यतिबेला चर्चामा हुनुहुन्छ ।

रुपन्देहीको पाँच क्षेत्रमध्ये सबैभन्दा ढिलो यसै क्षेत्रको मतगणना भएको थियो । सबैको चासोको विषयमा रहेको यो क्षेत्रमा ९३ हजार ६६७ जनाले मतदान गरेका थिए । ३६ वटा वडा रहेको यस क्षेत्रमा सुरुवाती चरणबाटै खाँणले अग्रता कायम गरे पनि शुक्रबारदेखि उहाँ पछाडि पर्दै गइरहनु भएको थियो । ०७४ को चुनावमा कांग्रेससँगै तालमेल गरी उम्मेदवार बन्नुभएका बोहराले अहिले कांग्रेसकै उम्मेदवारलाई हराउनुभएको हो ।

रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उहाँ २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी हुनुभएको थियो । उहाँ २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०३८ सालमा पर्यटन राज्यमन्त्री र २०३८ मा पर्यटन सहायकमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बन्नुभएको थियो । बोहरा एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।

विद्यार्थी आन्दोलनबाट विभिन्न तहमा नेतृत्व गर्दै आउनुभएका खाँण २०४८ सालमा प्रतिनिधिसभा सदस्य हुनुभएको थियो । पहिलो र दोस्रो संविधानसभा सदस्य २०६४÷२०७०, सिँचाइ र रक्षामन्त्री हुनुभएको उहाँ हाल गृहमन्त्री रहनुभएको छ ।

किन हार्नुभयोे खाँण ?
राजनीतिक विश्लेषक ऋषि आजाद गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले चुनाव हार्नुको मुख्य कारण उहाँको पार्टी, सत्ताभन्दा पनि पारिवारिक कारण रहेको बताउनुहुन्छ । ‘मैले चुनावको पूर्व-सन्ध्यामा स्थानीय कांग्रेस कार्यकर्तासँग गरेको मत सर्वेक्षणमा उहाँलाई अफ्ठ्यारो देखेको थिएँ’, उहाँले भन्नुभयो । खाँणमा अहंकारको दम्भ बढेको स्थानीय कार्यकर्तामा नजाने उनीहरूको समस्या बुझ्न नखोज्ने पनि हारको कारण रहेको आजादले जिकिर गर्नुभयो ।

तिलोत्तमा नगरपालिकाको मेयरमा भाइ रामकृष्ण खाँणलाई उठाएर बालकृष्णले जितको आधार र पृष्ठभूमि तयार गर्न खोज्नुभएको कतिपयको टिप्पणी छ । तिलोत्तमामा आफ्नो भाइलाई उम्मेदवार बनाएकोमा कांग्रेसभित्र असन्तुष्टि थियो । त्यसैमाथि, पत्नीलाई समानुपातिकको बन्दसूचीमा राखेपछि खाँणको तीव्र आलोचना भएको थियो । कार्यकर्तालाई चिढ्याएर भाइ र श्रीमतीलाई व्यवस्थापन गर्न लागेको भनेर नेपाली कांग्रेसका स्थानीय कार्यकर्तामा व्यापक असन्तुष्टि थियो । फेरि निर्वाचनको अन्तिम समयमा बहुविवाहको उजुरी पर्नु पनि उहाँका लागि दुर्भाग्य भएको बताइन्छ ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम अगाडि छ । बालकृष्ण चुनाव हार्दा उहाँकी पत्नी संसद्मा आउने सम्भावना भने पक्कापक्की जस्तै छ । खाँण नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको अध्यक्ष भएर काम गरिसकेका नेता हुनुहुन्छ । संसद्मा पराजयसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको एउटा पिल्लर ढलेको विश्लेषण हुन थालेको छ ।

रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधिसभामा ‘क्लिन स्विप’
गृहमन्त्री बालकृष्ण खाँणको हारसँगै रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधिसभामा क्लिन स्विप भएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रुपन्देहीमा प्रतिनिधिसभामा कोही पनि निर्वाचित हुन सकेनन् । क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल, क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहरा, क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट एमालेकै वासुदेव घिमिरे निर्वाचित हुनुभएको छ ।

राप्रपासँग हारे दुई पूर्व-गृहमन्त्री, एक राज्यमन्त्री
प्रतिनिधिसभाको प्रत्यक्षमा दुई पूर्व, एक बहालवाला र एक गृहराज्यमन्त्री पराजित भएका छन् । यी चारजना नेपाली कांग्रेसका नेता राप्रपाका उम्मेदवारसँग पराजित भएका हुन् । कमल थापा, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, देवेन्द्रराज कँडेल राप्रपा उम्मेदवारसँग पराजित हुनुभएको हो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको छ । झापा ४ बाट उम्मेदवारी दिनुभएका पूर्वगृहमन्त्री सिटौला लिङ्देनसँग तीन हजार २७६ मतान्तरले पराजित हुनुभएको हो । लिङ्देनले ४० हजार ६६२ पाउँदा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गर्नुभयो । सिटौला लिङ्देनसँग दोस्रोपटक पराजित हुनुभएको हो । लिङ्देनले २०७४ मा पनि सिटौलालाई पराजित गर्नुभएको थियो ।

त्यस्तै, राप्रपा नेपालका अध्यक्ष एवं पूर्वगृहमन्त्री कमल थापा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहसँग पराजित हुनुभयो । एमालेका साथ पाउनुभएका थापा मकवानपुर १ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको थियो । सिंह २४ हजार १९५ मतसहित विजय हुनुभयो । थापा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा गृहमन्त्री हुनुहुन्थ्यो ।

यस्तै, राप्रपाका अर्का उम्मेदवार ध्रुवबहादुर प्रधानले पूर्व-गृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गर्नुभएको छ । प्रधानले कँडेलभन्दा करिब १५ हजार बढी मत प्राप्त गर्नुभयो । प्रधान नेपाल प्रहरीका पूर्वप्रमुख पनि हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?