प्रदेश मुख्यमन्त्रीको आमनिर्वाचन-२०७९

कोही दोहोरिए, कोही पराजित भए, कसैले टिकट नै पाएनन्

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । २०७४ को निर्वाचनमा मुख्यमन्त्री बन्नको लागि केन्द्रीय राजनीतिमा परिचित र प्रभाव जमाएका केही नेताहरू प्रदेशमा झरे । संविधान जारी भएपछि २०७४ सालमा भएको पहिलो आम निर्वाचनपछि उनीहरूले प्रदेशका संस्थापक मुख्यमन्त्री बन्ने अवसर पनि पाए । तर, पाँच वर्षपछि मंसिर ४ गते भएको निर्वाचनमा भने अघिल्लो निर्वाचनमा प्रदेशमा झरेका कतिपय नेताहरूले प्रतिनिधिसभा नै रोजे । केही नेता भने पुनः मुख्यमन्त्री बन्ने योजनाका साथ प्रतिनिधिसभा छोडेर प्रदेशमा पुगेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुग्दा मुख्यमन्त्री भइसकेका कोही प्रदेशमा नै दोहोरिएका छन् । कोही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए भने कोही पराजित हुन पुगेका छन् । केही बहालवाला र पूर्व-मख्यमन्त्रीहरू भने टिकट पाउनबाटै वञ्चित भएका छन् ।

प्रदेश १ का संस्थापक मुख्यमन्त्री राई पराजित
प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले यसपटक प्रतिनिधिसभा रोज्नुभयो । २०७४ को निर्वाचन अघि नै सञ्चारमन्त्री भइसक्नुभएका राईले मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभा रोज्नुभएको थियो । आफ्नो मिसनमा सफल हुँदै राई प्रदेश १ को संस्थापक मुख्यमन्त्री बन्न सफल पनि हुनुभयो । तर, यस पटकको निर्वाचनमा राईले प्रतिनिधिसभा रोज्नुभयो । पूर्व-मुख्यमन्त्री शेरधन राई भोजपुरबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बने पनि माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीसँग पराजित हुनुभएको छ । किराँती २८ हजार ५७८ मत ल्याएर निर्वाचित हुँदा राईले २६ हजार १९३ मत प्राप्त गर्नुभयो ।

प्रदेश-१ का बहालवाला मुख्यमन्त्री राजेन्द्र राई भने प्रदेशमा दोहोरिनुभएको छ । नेकपा एमाले फुटेर एकीकृत समाजवादी बनेपछि आफ्नै पूर्व-पार्टीबाट मुख्यमन्त्री रहनुभएका भीम आचार्यलाई विस्थापित गर्दै एकीकृत समाजवादीका सचिवसमेत रहनुभएका राई मुख्यमन्त्री बन्नुभएको थियो । यस पटकको निर्वाचनमा पनि प्रदेशमै दाहोरिनुभएका राई भोजपुर क्षेत्र नम्बर ‘क’ बाट निर्वाचित हुनुभएको हो । १६ हजार ११० मतसहित मुख्यमन्त्री राई निर्वाचित हुँदा एमालेका हरिबहादुर राईले १२ हजार २२३ मतमा सीमित हुनुभयो ।

पार्टी फुट्दा एमालेमै रहेको पुरस्कारस्वरूप मुख्यमन्त्री बन्नुभएका भीम आचार्यले यसपटक प्रतिनिधिसभा रोज्नुभयो । नेपाली कांग्रेसका उम्मेदवार सीताराम मेहतालाई पराजित गर्दै आचार्य सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो । आचार्यले २५ हजार ७७९ मत पाउँदा पराजित मेहताले २१ हजार ५९० मत प्राप्त गर्नुभयो ।

दोहोरिनुभयो मधेशमा राउत
मुख्यमन्त्रीको पूरै पाँच वर्षे कार्यकाल बिताउन सफल मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा दोहोरिनुभएको छ । पर्सा क्षेत्र नं. १ (ख) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार ५४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । राउतका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले ६ हजार २१२ मत मात्र पाउन सफल हुनुभयो ।

बहालवाला मुख्यमन्त्री पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित
नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी गठन भएपछि मुख्यमन्त्री बन्ने सौभाग्य पाउनुभएका बागमती प्रदेशका बहालवाला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहनुभएका पाण्डे आफ्नै पूर्वपार्टी नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल हुनुभएको छ । पाण्डे ३५ हजार ९३४ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका त्रिपाठीले २७ हजार ९५३ मत ल्याउनुभयो ।

महेन्द्र संघमा, जीवन प्रदेशमा
कर्णाली प्रदेशसभाका बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेशसभामा दोहोरिनुभएको छ । नेपाली कांग्रेसका नेता शाही एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै हुम्ला १ (ख) मा निर्वाचित हुनुभएको हो । शाहीले ६ हजार ८४४ मत ल्याउँदा अघिल्लोपटक प्रतिनिधिसभा सांसद निर्वाचित हुनुभएका लामाले दुई हजार ८२८ मत मात्र पाउनुभयो । कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रका नेता शाही कालीकोटबाट २३ हजार ७२७ मतसहित निर्वाचित हुनुभएको हो । शाहीका निकटतम् प्रतिस्पर्धी एमालेका नगिन्द्र शाहीले १६ हजार ७१८ मत पाउनुभयो ।

गण्डकीका संस्थापक मुख्यमन्त्री प्रतिनिधिसभामा
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेशसभामै जान चाहिरहनु भएको थियो । मुख्यमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्न नपाउनुभएका गुरुङ यसपटक पनि प्रदेशसभामा चुनिएर दोस्रोपटक मुख्यमन्त्री बन्ने तयारीमा रहनुभएको थियो । तर, नेकपा एमालेले स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई भावी मुख्यमन्त्री बनाउने गरी प्रदेशसभामा झारेपछि गुरुङ नचाहँदा नचाहँदै प्रतिनिधिसभा सदस्यको लागि चुनाव लड्न बाध्य हुनुभयो । अनिच्छा भए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुभएका गुरुङ माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गर्न सफल हुनुभयो । नेकपा एमालेका उपमहासचिवसमेत रहनुभएका पृथ्वीसुब्बा ३४ हजार ९८५ मत ल्याएर निर्वाचित हुँदा माओवादी केन्द्रका महासचिव गुरुङ ३१ हजार ७९१ मतमा सीमित हुनुभयो ।

लुम्बिनीका संस्थापक मुख्यमन्त्री पराजित
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्यमा पराजित हुनुभएको छ । केन्द्रीय नेताको हैसियत बनाइसक्नु भएका पोखरेल २०७४ सालको निर्वाचनमा मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभामा झर्नुभएको थियो । तत्कालीन वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका पोखरेल प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बन्न सफल हुनुभयो । पार्टी फुटेपछि पाँच वर्षे कार्यकाल पूरा गर्न असफल हुनुभएका पोखरेल यसपटक प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा होमिनुभएको थियो । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका पोखरेल नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित हुनुभयो । शर्माले २६ हजार ८८० मत पाउँदा पोखरेलको पक्षमा २६ हजार ६८७ मत खसेको थियो ।

बहालवाला र पूर्व-मुख्यमन्त्री : जसले टिकट नै पाएनन्
प्रदेश मुख्यमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनाव नै लड्न पाउनुभएन । तत्कालीन नेकपा विघटन, एमाले फुट र विभिन्न राजनीतिक गतिरोधबाट बचेर मुख्यमन्त्री पद टिकाइराख्न सफल नेकपा माओवादी केन्द्रका नेतासमेत रहनुभएका भट्टले टिकट नै पाउनुभएन । लुम्बिनी प्रदेशका बहालवाला मुख्यमन्त्री कुलप्रसाद केसी पनि टिकटबाटै वञ्चित हुनुभयो । नेकपा माओवादी केन्द्रका नेता केसी गठबन्धनको भागबण्डा मिलाउँदा चुनाव लड्नबाट वञ्चित हुनुभएको हो । यस्तै, गण्डकी प्रदेशका बहालवाला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि टिकटबाट वञ्चित हुनुभयो । प्रदेशसभा छाडेर प्रतिनिधिसभा सदस्यको लागि टिकटको आकांक्षा देखाए पनि मुख्यमन्त्री पोखरेलले टिकट नै पाउनुभएन । प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि पोखरेलले प्रदेशसभा चुनाव लड्न इच्छा नै देखाउनुभएन ।

बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणी पौडेल भने यो निर्वाचनमा चुनावी मैदानमै आउनुभएन । पार्टीबाट टिकट लिन खासै प्रयास गर्नुपर्ने अवस्था नरहे पनि पौडेलले युवा पुस्तालाई अवसर दिने भन्दै चुनावी दौडमा सहभागी हुन नै चाहनुभएन । पार्टी फुटको कारण आफ्नै पार्टी नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बन्नुभएका डोरमणीलाई विस्थापित गर्दै बागमतीको मुख्यमन्त्री बन्न सफल अष्टलक्ष्मी शाक्यले पनि चुनावमा भाग लिनुभएन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ वा कुनै पनि क्षेत्रबाट रोजेर टिकट लिन आग्रह गरे पनि शाक्यले चुनाव लड्न इच्छा गर्नुभएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?