१५१ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कांग्रेस ५१ स्थानमा विजयी हुँदा एमालेको ३९ ठाउँमा जित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये १५१ वटाको नतिजा सार्वजनिक भएको छ । शनिबार रातिसम्म प्राप्त नतिजाअनुसार कांग्रेस ५१, एमाले ३९, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सात/सात ठाउँमा विजयी भएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) र स्वतन्त्र उम्मेदवारले समान पाँच/पाँच ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चार ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् ।

यसैगरी प्रदेशसभातर्फ नेपाली कांग्रेसले सर्वाधिक १०३ सिटमा जित हासिल गरेको छ भने चार स्थानमा अग्रता कायम गरेको छ । यस्तै दोस्रो स्थानमा रहेको एमालेले ८४ स्थानमा जित हात पार्दा पाँच स्थानमा अग्रता लिइरहेको छ । माओवादी केन्द्र ५२ स्थानमा विजयी हुँदा एक स्थानमा अग्रता कायम गरिरहेको छ । एकीकृत समाजवादी १३ स्थानमा विजयी भएको छ । राप्रपाले ११, जसपाले नौ, लोसपाले नौ र नागरिक उन्मुक्ति पार्टीले पाँच स्थानमा जित हात पारेको छ ।

समानुपातिकमा ८० लाखभन्दा बढी मतगणना
प्रतिनिधि सभातर्फको जारी मतगणनामा शनिबार साँझसम्म समानुपातिकतर्फ ८० लाखभन्दा बढी सदर मतको गणना भएको छ । शनिबार रातिसम्म एमालेले २१ लाख ८० हजार मत पाएको छ भने कांग्रेसले २० हजार ९० हजार मत पाएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले नौ लाख २१ हजार मत ल्याएको छ । चौंथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आठ लाख ८६ हजार मत पाएको छ । पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ६८ हजार मत ल्याएको छ । छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले दुई लाख ५४ हजार मत पाएको छ । नेकपा (एकीकृत समाजवादी) ले भने राष्ट्रिय पार्टी बन्न चाहिने तीन प्रतिशतको थ्रेस होल्ड अहिलेसम्म कटाउन सकेको छैन । अहिलेसम्म उसले एक लाख ९८ हजार मत मात्र पाएको छ ।

आयोग अनिर्णित हुँदा केही स्थानमा मतगणनामा अन्योलता
निर्वाचन सम्पन्न भएको एक साता पुगिसक्दा पनि केही ठाउँको परिणाम आइसकेको छैन । केही स्थानमा शीर्ष नेता नै चुनाव धाँधली भएको भन्दै पुन मतदान गर्नुपर्ने मागमा उत्रिएका छन् भने कोही पुन मतगणनाको मागमा छन् । नेकपा एसका सम्मानित नेता झलनाथ खनालदेखि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीसम्म पुन मतगणनाको मागमा उत्रिनुभएको छ । उता इलाम २ मा पनि झन्डै साढे ६ सय मत मात्रै गन्न बाँकी हुँदा कांग्रेसका प्रतिनिधि मतदान अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएको भन्दै गणना स्थल छाडेर बाहिर निस्केपछि मतगणना रोकिएको छ । कांग्रेसका कार्यकर्ताले गणना स्थल परिसरमा नाराबाजी गरेपछि केहीबेर तनाव बढेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने हस्ताक्षरविनाका मतपत्र नभेटिएको बताएको छ । यसैगरी केही स्थानमा पुनः मतदानको माग गर्दै नेताहरु आन्दोलनमा छन् । स्याङ्जा २, दोलखामा एमालेका नेताहरुले कांग्रेस र माओवादीले बुथ क्याप्चर गरेको आरोप लगाउँदै पुनः मतदानको मागमा छन् । कांग्रेस नेताहरु भने तत्काल मतगणना गर्न माग गर्दै धर्ना कँसेर बसेका छन् ।

दोलखा-१ र स्याङजा-२ मा भने निर्वाचन आयोगको टोलीले अध्ययन गरिरहेको निर्वाचन आयोगले जनाएको छ । बाजुरामा विवादका कारण स्थगित भएको बुढीनन्दा नगरपालिका-५ मा शनिबार मतदान भएको छ । दोलखामा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले धाँधली भएको भन्दै आयोगमा उजुरी दिएपछि आयोगको एक टोलीले त्यसबारे अध्ययन गरिरहेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते आठ दिनभित्र सबै ठाउँको परिणाम आइसक्ने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?