हुम्लामा गठबन्धनको प्यानल नै निर्वाचित

हिमालय टाइम्स
Read Time = 9 mins
A A- A+

दाने बोहरा/हिटा
हुम्ला । एकमात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानलै विजय भएको छ । गएको आइतबार भएको निर्वाचनमा जिल्लामा शुक्रबार राती ११ बजे प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि मतगणना कार्य सम्पन्न भएको छ भने सबै प्यानलमा नै गठबन्धन विजयी भएको हो । हुम्लामा प्रदेश क र ख छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन) विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका दल रावलले पराजय बेहोर्नुभएको छ । लामाले १४ हजार ३७१ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले नौ हजार ५१६ मत ल्याएर पराजित हुनुभएको छ । राप्रपाका तेजबहादुर रावतले ३७८ मत ल्याउनुभएको छ । यस्तै, ५२४ मत बदर भएको थियोे ।

प्रदेशमा पनि गठबन्धन विजयी
हुम्ला प्रदेश (क) वाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी हुनुभएको छ । उहाँले कांग्रेसबाट विद्रोही उम्मेदवार मंगलबहादुर शाहीलाई एक हजार ८५१ मत अन्तरले पराजित गर्नुभएको हो । परियारले ६ हजार ४८१ मत प्राप्त गर्दा मंगलबहादुर शाहीले चार हजार ६३० मत प्राप्त गर्नुभएको हो । यस्तै, एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गर्नुभयो भने एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८४ मत प्राप्त गर्नुभयो ।

यस्तै, हुम्ला प्रदेश (ख) बाट वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गर्नुभएको हो ।

कांग्रेसका जीवनबहादुर शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका छक्कबहादुर लामाले दुई ९७९ मत प्राप्त गर्नुभएको हो । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नैनसिंह रावतले ९८ मत प्राप्त गर्नुभयो भने जनता समाजवादी (जसपा) का बलिराज शाहीले ४१ र तीर चुनाव चिहृनका सुमन रावतले २१ मत प्राप्त गर्नुभयो । यस्तै, ११९ मत बदर भएको छ । यसअघि प्रदेश ‘क’ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

यस्तो छ शाही र लामाको राजनीतिक यात्रा
५७ वर्षीय शाही कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एकमात्र सांसद हुनुहुन्छ । उहाँ हुम्ला (ख) बाट निर्वाचित हुनुभएको हो । उहाँले चार हजार ५१९ मत ल्याउनुभएको थियो । उहाँ २३ वर्षको उमेरमा नै पार्र्टीको हुम्ला जिल्ला सभापति हुनुभयो । २०४६ देखि २०६२ सालसम्म १६ वर्ष शाही पार्टी सभापति हुनुभएको थियो । पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्नुभएका उहाँ त्यसयता निरन्तर केन्द्रीय सदस्य रहनुभएको छ ।

२०५५ मा शाही जिल्ला विकास समिति हुम्लाको सभापतिमा समेत निर्वाचित हुनुभएको हो । उहाँ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । अमेरिकाबाट पाइलट कोर्स गर्नुभएका शाहीसँग पाइलट पेशाको अनुभव पनि छ । २०७३ सालमा उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र खानेपानी मन्त्रीसमेत बन्नुभएको थियो । शाही कर्णालीमा बौद्धिक छवि भएका नेताका रूपमा चिनिनुहुन्छ ।

यता, सबैलाई छक्क पार्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले ४७ मतको अन्तरले हुम्लाको प्रतिनिधिसभा सदस्यमा बाजी मार्नुभएको छ । वाम गठबन्धनको बागीका रूपमा स्वतन्त्र उम्मेदवारी दिनुभएका लामाले आफ्नो प्रतिद्वन्द्वी मंगलबहादुर शाहीलाई ४७ मतले अन्तर पार्दै आठ हजार ४९१ मत ल्याएर विजयी हुनुभएको हो । तत्कालीन जनमोर्चाका तर्फबाट उम्मेदवार भएर २०४८ सालमा काका चक्रबहादुर शाहीलाई आठ मतले पराजित गर्नुभएका लामाले २६ वर्षपछि उहाँका भतिजा मंगलबहादुर शाहीलाई ४७ मत अन्तरले पराजित गर्नुभएको हो । संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नुभएका लामा पार्टीभित्रकै असहयोगका कारण पूर्वमन्त्री जीवनबहादुर शाहीसँग पराजित हुनुभएको थियो । आफू ०७० को निर्वाचनमा पराजित भएकाले यसपटक प्रतिनिधिसभामा टिकट पाउनुपर्ने दौडमा रहनुभएका लामाले वाम गठबन्धनका तर्फबाट टिकट नपाएपछि स्वतन्त्ररूपमा उम्मेदवारी दिएर कलम चिहृनमा चुनाव लड्नुभएको थियो । उहाँको जन्म २०१६ साल वैशाख १२ गते बुबा टाक्पा छेदेन लामा र आमा नाक्दार्मा लामाको कोखबाट भएको हो ।
२०३१ सालबाट वाम राजनीति सुरु गर्नुभएका छक्कबहादुर ०३८ मा अखिल नेपालको छैटौँ केन्द्रीय सदस्य हुनुभएको थियो ।

विद्यार्थीकालदेखि नै वामपन्थी क्षेत्रमा संलग्न लामाले ०४२ सालमा नेकपा एकता केन्द्रको हुम्ला इन्चार्जको भूमिका निर्वाह गरेको पाइन्छ ।
२०४८ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य हुँदै आमनिर्वाचनबाटै सांसदमा आठ मतले विजयी बन्नुभएका लामाले माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धमा भूमिगत नभए पनि त्यसमा उहाँले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहयोग गर्नुभएको थियो । जनयुद्धमा आफ्नी छोरी शहीद भएपछि सार्वजनिकरूपमा अप्रत्यक्ष सहयोग गर्नुभएका लामाले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल २०६१ मा स्थानीय विकास सहायक राज्यमन्त्री र पछि भौतिक योजना तथा निर्माण राज्यमन्त्रीको समेत भूमिका निर्वाह गर्नुभएको थियो ।

भूमिगत नभएरै माओवादीलाई सहयोग गरेको आरोपमा पटक-पटक राज्य र सुरक्षा निकायबाट नजरबन्ददेखि अनेक पीडा खेप्नुपरेपछि सिमकोटमै भएका बेला राजा ज्ञानेन्द्रले सहायक राज्यमन्त्रीको जिम्मेवारी दिएपछि काठमाडौं पुग्नुभएका लामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पुनः वाम राजनीतिमै सक्रिय हुनुभएको हो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?