कैलालीमा नागरिक उन्मुक्ति पार्टी पहिलो दल

बिराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins
A A- A+

कैलाली । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्र छन् । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । जिल्लामा नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ । नौ महिना पहिला स्थापना भएको नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टीलाई पछाडि पार्दै ठूलो दल बनेको हो ।

कैलालीमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रतिनिधिसभा सदस्यका तीन र प्रदेशसभा सदस्यका पाँच निर्वाचन क्षेत्रमा विजयी भएका छन् । टीकापुर विद्रोहको जगमा २०७८ फागुन ३ गते नागरिक उन्मुक्तिको स्थापना भएको हो ।

स्थापनाको छोटो अवधिमै एक्लै चुनावी मैदानमा उत्रेको पार्टी कैलालीमा ठूलो शक्ति बनेर उदाएको छ । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेकोमा १ देखि ३ सम्म नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन् । जिल्लामा पार्टीले प्रदेशसभाका पाँच निर्वाचन क्षेत्रमा ढकिया अंकित झण्डा फहराएको छ । ढकिया नागरिक उन्मुक्ति पार्टीको चुनाव चिहृन हो ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्षसमेत रहनुभएकी रञ्जिता श्रेष्ठ कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनुभयो । उहाँ नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं टीकापुर घटनाका बन्दी रेशम चौधरीकी श्रीमती हुनुहुन्छ ।

जिल्लाको क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी निर्वाचित हुनुभएको छ । क्षेत्र नम्बर ३ मा गंगाराम चौधरी विजयी हुनुभएको छ । जिल्लाको क्षेत्र नम्बर १ र २ मा उक्त पार्टीले क्लिन स्विप गरेको छ । प्रदेशसभा सदस्यमा १ को (१) मा कैलाश चौधरी, (२) मा लक्ष्मणकिशोर चौधरी, २ को (२) मा रामेश्वर चौधरी र ३ को (१) मा घनश्याम चौधरी, (२) मा खुशीराम डंगौरा थारु निर्वाचित हुनुभएको छ ।

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीका ४ र ५ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर ४ मा कांग्रेस सुदूरपश्चिम सभापतिसमेत रहनुभएका पूर्वमन्त्री वीरबहादुर बलायर र ५ मा पूर्व प्रदेशसभा सदस्य डिल्लीराज पन्त विजयी हुनुभएको हो । कांग्रेसले जिल्लामा प्रदेशसभाका तीन क्षेत्र जितेको छ ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी) केन्द्रले प्रदेशसभा सदस्यतर्फ एक÷एक क्षेत्र जितेका छन् । नेकपा (एस) का उम्मेदवार सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले जिल्लाको निर्वाचन क्षेत्र ४ (१) बाट जित हासिल गर्नुभएको हो भने माओवादी केन्द्रका उम्मेदवार रमेश धामीले कैलालीको ५(१) निर्वाचन क्षेत्रबाट जित हात पार्नुभएको छ ।
नेपाली कांग्रेसले प्रदेशसभातर्फ कैलाली क्षेत्र नम्बर २(१) मा कमल शाह, ४(२) मा प्रकाश बम र ५(२) मा प्रकाश देउवाले जित्नुभएको छ । नेकपा (एमाले) भने कैलालीमा जितविहीन बनेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?