हार निश्चित भएपछि सञ्चारमन्त्रीले बखेडा झिकिरहनुभएकाे छ : एमाले उम्मेदवार कुसियत

हिमालय टाइम्स
Read Time = 3 mins

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका नेकपा (एमाले) का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाउनुभएको छ ।

मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उहाँको जिकिर थियो ।
सञ्चारमन्त्री कार्कीले हिजो अपरान्ह धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमति जुटाएर मतगणनाको कामलाई सुचारु गराउन आज सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखेपछि अझै मतगणना कार्य अघि बढ्न सकेको छैन । एमाले उम्मेदवार कुसियतले भने बाँकि रहेको मत गणना कार्य तत्काल शुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताउनु भयो ।

आफूहरुको सो अडान कानूनसम्मत भएको दाबी गर्दै उहाँले त्यसबाट पछि हट्न नसकिने पनि स्पष्ट पार्नुभयो ।

कुसियतले भन्नुभयो, ‘यहाँ हाम्रो भनाई के हो भने मतगणना जहाँ रोकिएको छ, त्यसलाई सुचारु गरौं । बाँकि रहेको मतगणना अविलम्व शुरु गरौं । तर माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूको भनाई के हो भने अहिले निर्वाचन आयोगले गरेको मतगणना र उसले जुन सूचना प्रकाशित गरेको छ । त्यसलाई क्यान्सिल गरेर रिमतगणना गराै‌ भनेर उहाँको जिकीर हो । त्यसैमा हाम्रो डिबेट चलिराखेको छ । एमालेको कानूनसम्मत अडान हो । हामीले कानूनलाई हातमा लिन खोजेका छैनौं । एमालेले स्पष्ट के भनेको छ भने कानूनमा के भन्छ ? जो मतगणना भयो । त्यसलाई छोडौं । बाँकि रहेको मतगणना शुरु गरौं । उहाँले सायद मानसिक रुपमा हार स्वीकार गरी सक्नुभएको छ । म हारिरहेको छु, त्यो हारलाई कसरी बचाउने भनेर उहाँले बखेडा झिक्नुभएको मात्रै हो ।’

यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारहरुबीच सहमति जुटाएर मतगणना कार्य सुचारु गराउन पहल भइरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?