एमाले हाकेका ओलीलाई सर्वाधिक मत, अन्य पार्टी हाक्ने निर्वाचित अध्यक्षहरूले कति मत पाए ?

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय निर्वाचन क्षेत्रमा भने मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । यस पटकको निर्वाचनबाट २७ वर्षीय युवादेखि ८० वर्षीय ज्येष्ठ नागरिकसम्म सांसद निर्वाचित भएका छन् ।

यसपटक प्रायः सबैजसो पार्टीका अध्यक्षहरू समेत उम्मेदवार रहेका थिए । जसमध्ये एक जनाबाहेक सबैले निर्वाचनमा जित हासिल गरेका छन् । यहाँ उम्मेदवार भएर जित हासिल गरेका पार्टी प्रमुखहरूबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यसपटक पनि डडेलधुराबाट उम्मेदवार हुनुहुन्थ्यो । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले चुनाव जित्नुभएको छ ।

सभापति देउवा २५ हजार ५३४ मतसहित डडेल्धुराबाट सातौंपटक निर्वाचन हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४१ मत ल्याउनु भयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुनुहुन्थ्यो । अध्यक्ष ओलीले यसपटक पनि झापा ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएको छ ।

अध्यक्ष ओलीले सर्वाधिक ५२ हजार ३१९ मत ल्याउनु भयो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाउनु भयो । झापा ५ मा कुल १ लाख ५४ हजार २८९ मतदाता रहेकोमा यसपटक प्रतिनिधि सभामा १ लाख २ हजार १५० मत खसेको थियो ।

एमाले अध्यक्ष ओलीले ०७४को निर्वाचनमा ५७ हजार १३९ मतका साथ विजयी भएर देशभर सबैभन्दा बढी मतले जित्ने उम्मेदवारसमेत हुनु भएको थियो । त्यसबेला पनि उहाँका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २७ हजार २५७ मत पाउनु भएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव जित्नुभएको छ । अध्यक्ष प्रचण्डले २६ हजार १०३ मत प्राप्त गर्नुभयो । उहाँका निकटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गर्नुभयो ।

यसैगरि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि विजयी हुनुभएको छ । रौतहट क्षेत्र नम्बर १ बाट  उम्मेदवारी दिनुभएका अध्यक्ष नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भयो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत ल्याउनु भयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनु भयो। अध्यक्ष केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित हुनु भएको हो । केसीले २१ हजार ४५१ मत ल्याउनु भयो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत ल्याउनु भयो ।

चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चुनाव जित्नुभयो। नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई हराउँदै लामिछाने निर्वाचित बन्नुभएको हो ।

अध्यक्ष लामिछानेले लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्नुभयो भने कांग्रेसका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी हुनु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि चुनाव जित्नुभयो । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई हराउँदै  ४० हजार ६ सय ४८ मतसहित अध्यक्ष लिङ्देन विजयी बन्नभएको हो । सिटौला यसपटक ३७ हजार ३ सय ७२ मतसहित दोस्रो बन्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट  निर्वाचित हुनु भयो । अध्यक्ष ठाकुरले १६ हजार ३७५ मत पाउनु भयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनु भयो ।

सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार रहनुभएका जनतम पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पनि चुनाव जित्नुभयो । उहाँले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै अध्यक्ष राउत निर्वाचित हुनुभयो। राउतले ३५ हजार ४२ मत प्राप्त गर्नुभयो ।पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याउनु भयो ।

नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ चौधरी पनि प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भयो।  नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार रहनुभएकी चौधरीले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गर्दै विजयी बन्नुभयो ।  श्रेष्ठले ३० हजार ४ सय ४ मत प्राप्त गर्नुभयो भने, उहाँका निकटतम प्रतिद्वन्द्वी चौधरीले १८ हजार ८९ मत प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?