दोहा । स्टार लियोनल मेस्सीको गोलसँगै कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ अन्तर्गतको अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलअन्तरले पराजित गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरको अप्रत्याशित हार बेहोरेको अर्जेन्टिनाले नकआउट चरणमा प्रवेशका लागि मेक्सिकोलाई जित्नैपर्ने थियो । त्यसमा मेस्सीले नायकीय भूमिका निर्वाह गर्नुभयो ।
लुसेल स्टेडियममा ८८ हजार ९६६ दर्शकका अघि विश्वकपको आशा जोगाउन अर्जेन्टिनालाई जितको विकल्प थिएन । पहिलो हाफमा अर्जेन्टिनाले गरेका हरेक प्रयासहरू विफल भएका थिए । ६४ मिनेटपछि मेस्सीले खेलको रूप नै परिवर्तन गरिदिनुभयो । उहाँले पास पाउनेबित्तिकै दायाँ खुट्टामा बल लिनुभयो र डिफेन्डरहरूको बीचबाट तल्लो भाग हुँदै प्रहार गर्नुभयो । २० यार्डबाट मेस्सीले गरेको प्रहार गोलपोस्टको तल्लो भाग हुँदै जाली चुम्यो । जुन खेलको निर्णायक क्षणसमेत थियो ।
इन्जो फर्नान्डेजले दोस्रो गोल गरेसँगै अर्जेन्टिनाको जित सुनिश्चित भयो । अब समूहको अन्तिम खेलमा पोल्याण्डविरुद्धको जितले अर्जेन्टिनालाई अन्तिम १६ मा पुर्याउनेछ ।
खेलको पहिलो १६ मिनेट भने मेस्सी अनि अर्जेन्टिनाका लागि सोचेजस्तो भएन । मेस्सीले गरेको दुईपटकको प्रयास सफल हुन सकेका थिएनन् । तर, मेस्सीको गोलसँगै स्टेडियम उहाँको नाममा गुञ्जायमान भएको थियो भने अर्जेन्टिनी टोलीको आत्मविश्वास पनि बढेको थियो ।
खेलपछि मेस्सीले आफूहरूसँग हारको गुञ्जायस नरहेको प्रतिक्रिया दिनुभयो । ‘हामीसँग अन्तिमसम्म हार मान्ने कुनै छुट थिएन । हामी फाइनल खेल्न चाहन्छौँ । हामी गल्ती पनि गर्न सक्दैनौँ । हामीले जित्नुपर्छ भन्ने हामीलाई थाहा छ । त्यो कसरी सम्भव गर्नुपर्छ भन्ने हामीलाई थाहा छ,’ मेस्सीले खेलपछि प्रतिक्रिया दिनुभयो ।
यो ३५ वर्षीय मेस्सीका लागि यो अन्तिम विश्वकप पनि हो । मेस्सीले जित्न बाँकी उपाधि पनि विश्वकपमात्रै हो । मेस्सीले आफ्नो फुटबल करिअरमा चार च्याम्पियन्स लिग, पाँचपटक बालोन डिओर, १० पटक लालिगाको उपाधि जितिसक्नुभएको छ । यस्तै, पिएसजीमा पुगेपछि उहाँले लिगा वानको उपाधि पनि जितिसक्नुभएको छ । २०१४ को विश्वकपमा उपाधि नजिक पुगेर पनि अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएको थियो । त्यसबेला विश्वकपकै सर्वोत्कृष्ट खेलाडी बने पनि मेस्सी एकदमै निराश बन्नुभएको थियो ।
अर्जेन्टिना रहेको समूह ‘सी’ मा दुई खेलको समाप्तिपछि पोल्याण्ड चार अंक जोड्दै शीर्षस्थानमा छ । अर्जेन्टिना र साउदी अरेबिया तीन अंक साथ क्रमशः दोस्रो र तेस्रोमा छन् । मेक्सिकोको एक अंकसहित पुछारमा छ ।
अन्तिम चरणको खेलमा अब अर्जेन्टिनाले पोल्याण्डसँग खेल्नेछ । त्यस्तै, मेक्सिकोले साउदी अरेबियाको सामना गर्नेछ । दुवै खेल मंसिर १३ गते मध्यरातमा हुनेछन् । अर्जेन्टिनाले अब अन्तिम खेलमा जित हासिल गरे समूहबाट नकआउट चरण प्रवेश गर्नेछ । यदि अर्जेन्टिना जितेर साउदी बराबरी वा हार बेहोरे अर्जेन्टिना समू
विजेता बन्नेछ । अर्जेन्टिना र साउदी दुवैले जित हासिल गरे गोल अन्तरले समूह विजेता र उपविजेता निर्णय हुनेछ ।
अर्जेन्टिना र पोल्याण्डको खेल बराबरीमा सकिएको अवस्थामा भने अर्जेन्टिना अघि बढ्न मेक्सिकोले जित वा बराबरी नतिजा निकाल्नुपर्नेछ । अर्जेन्टिना र पोल्याण्ड बराबरीमा रोकिएर साउदी र मेक्सिको पनि बराबरी भए अर्जेन्टिना गोल अन्तरमा अघि बढ्नेछ । त्यस्तै, अर्जेन्टिना बराबरी खेलेर साउदी जितेको अवस्थामा अर्जेन्टिनाको विश्वकप यात्रा समाप्त हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच