महिन्द्र राय यादव २०५१ देखि निरन्तर संसदीय यात्रामा

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 5 mins

सर्लाही । सर्लाही क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतोलाई दुई हजार ११ मतान्तरले हराउँदै यादव निर्वाचित हुनुभएको हो । यादवले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, नेकपा एमालेका राजनारायण साहले १४ हजार ८१९ र जनमत पार्टीका नरेशप्रसाद कुशवाहाले ६ हजार ५५४ मत प्राप्त गर्नुभएको छ । महिन्द्र राय यादव सर्लाही २ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ २०७० र २०७४ सालमा पनि यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यादव पहिलोपटक २०५१ मा संसद् छिर्नुभएको थियो । त्यसपछि उहाँ निरन्तर संसदीय यात्रामा हुनुहुन्छ । २०५१ र २०५६ मा सर्लाही १ बाट चुनाव जित्नुभएका यादवले त्यसपछि सर्लाही ४ बाट २०७० मा र त्यस क्षेत्र राज्यको पुनः संरचनासँगैै सर्लाही २ भएपछि २ बाट २०७४ र २०७९ मा संसद् यात्रा तय गर्नुभएको हो । यादवले पहिलो संविधानसभामा भने समानुपातिकबाट आफ्नो संसद् यात्रा तय गर्नुभएको थियो । यादव पटक-पटक संसद्मात्र नभएर मन्त्री हुने सूचीमा समेत पर्दै आउनुभएको छ ।

हाल डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध यादव माओवादी केन्द्रसँगको सहमतिअनुसार माओवादीको हँसिया हथौडा चुनाव चिहृन लिएर चुनावी प्रतिस्पर्धामा उत्रनुभएको थियो । सर्लाही २ मा मधेशका दुईजना शीर्षस्थ नेताबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको थियो । कडा प्रतिस्पर्धाका बीच तेस्रोपटक निर्वाचित भएर महिन्द्र राय यादवले यहाँ ‘हृयाट्रिक’ गर्नुभएको छ । २०७४ मा धनुषामा नेपाली कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधीलाई पराजित गर्नुभएका राजेन्द्र महतो यो पटक भने आफ्नै गृहजिल्ला सर्लाही आएर आफ्ना पूर्वसहकर्मी यादवसँग प्रतिस्पर्धामा उत्रनुभएको थियो । दुईजना उम्मेदवार भएपछि सत्ता गठबन्धनले यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयअनुसार महिन्द्र राय यादवसँग प्रदेशसभा सदस्यमा उठ्नुभएका कांग्रेसका कौशलकिशोर राय सर्लाही क्षेत्र नम्वर २ (ख) बाट विजयी हुनुभएको छ ।

राय १७९ मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । रायले नौ हजार ६२६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मेथुर चौधरीले नौ हजार ४४७ मत पाउनुभयो । चौधरी जिल्ला समन्वय समिति सर्लाहीका निवर्तमान सभापति हुनुहुन्छ । यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेशसभा सदस्य अशोककुमार यादव तेस्रो हुनुभयो । जनता समाजवादी पार्टी (जसपा) का यादवले आठ हजार ९४० मत प्राप्त गर्नुभयो । मतगणनाभर निकै कडा प्रतिस्पर्धाका बीच अन्तिममा कांग्रेसका राय १७९ मतको झिनो अन्तरले विजयी हुनुभयो ।

उता मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयअनुसार नै राजेन्द्र महतोसँग नेपाली कांग्रेसका उम्मेदवार जंगिलाल राय निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनिलकुमार साहले सात हजार २१४ मत ल्याउनुभयो । राय लोसपा वरिष्ठ नेता राजेन्द्र महतोको प्यानलमा हुनुहुन्थ्यो भने साह नेसपा अध्यक्ष महिन्द्र रायको प्यानलमा रहनुभएको थियो । रायलाई कांग्रेसले कारबाहीसमेत गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?