अचम्मको संयोग : प्रमुख तीन दलका जिल्ला प्रमुख नै यो निर्वाचनमा निर्वाचित

हिमालय टाइम्स
Read Time = 4 mins

नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मुगु जिल्लाबाट प्रमुख तीनवटै दलहरूका जिल्ला प्रमुखहरू निर्वाचित भएका छन् । नेपाली कांग्रेसका पार्टी सभापति ऐनबहादुर शाही प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । उहाँ गत असोजमा पार्टीको ९औँ जिल्ला अधिवेशनमा पार्टी सभापतिमा निर्वाचित हुनुभएको थियो ।

उहाँले तीन हजार ९९४ मतले एमालेका राजबहादुर कार्कीलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । शाहीले १४ हजार ७०२ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी कार्कीले १० हजार ७०८ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका जिल्ला अध्यक्ष जीतबहादुर मल्ल पनि प्रदेश-१ मा प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । गत वर्ष उहाँ पार्टीको जिल्ला अधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको थियो । मल्लले ६ हजार ६१८ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमले चार हजार ८८४ मत प्राप्त गरी पराजित हुनुभएको थियो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाही प्रदेश क्षेत्र-२ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ तीन वर्षअघि पार्टीको जिल्ला इन्चार्जमा चयन हुनुभएको थियो । शाहीले आठ हजार ४२९ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर मल्लले चार हजार ८८४ मत ल्याएर पराजित हुनुभयो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका शाहीले जिल्लाको शिक्षा, स्वास्थ्य र तथा पर्यटन विकासमा जोड दिनुका साथै बाढीपहिरोबाट पीडित परिवारलाई राहतका निम्ति सरकारसँग पहल गर्ने बताउनुभयो ।

जिल्लामा मतदान सम्पन्न भएको एक सातापछि आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट संघ प्रदेशको मत परिणाम घोषणा गरिएको थियो । जिल्लामा शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न पाउँदा आफूलाई निकै खुशी लागेको मुख्य निर्वाचन अधिकृत दिलकुमार वर्देवाले बताउनुभयो । जिल्लामा कुल मतदाता ३५ हजार ४८५ मध्ये २६ हजार ६१५ मत खसेको थियो ।

मुगुमा करिब २३ वर्षपछि प्रतिनिधिसभा सदस्यमा कांगे्रसले जितेको छ । २०४८ सालयता भएका संसदीय निर्वाचनको इतिहासलाई हेर्दा २०४८ र २०५१ सालमा नेपाली कांगे्रसका हस्तबहादुर मल्ल, २०५६ सालमा एमालेका चन्द्रबहादुर शाही, २०६४ सालमा नेकपा माओवादी केन्द्रका नवराज धामी, २०७० मा एमालेका मोहन बानियाँ र २०७४ मा एमालेकै गोपालबहादुर बम निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?