आज विवाह पञ्चमी, मधेश प्रदेशमा सार्वजनिक बिदा

विवाह समारोहमा नेपाल-भारतका लाखौँ श्रद्धालुको सहभागिता

हिमालय टाइम्स
Read Time = 5 mins

पुरन साह/हिटा
जनकपुरधाम । त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ । यसैगरी, मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विशेष विधिपूर्वक मनाइँदै छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभएको थियो । शिव धनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । सीतालाई छोरी-बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

मधेश प्रदेश सरकारले सीताराम विवाह पञ्चमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गर्दै आज सार्वजनिक बिदा दिएको जानकारी गराउनुभयो ।

त्रेता युगमा माता सीता र भगवान् श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्षजस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत आइतबार माता सीताको मटकोर विधिको तयारी गरिएको थियो । आइतबार ऐतिहासिक गंगासागर पोखरीमा सीताको मटकोर गरिएको थियो ।

विवाह महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्‍याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।

रंगभूमिमा स्वयंवर भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको डोला शोभा यात्रामा मिथिला क्षेत्रसँगै विभिन्न स्थानलगायत भारतीय श्रद्धालुहरू समेत सहभागी हुने गर्छन् । त्रेतायुगको झझल्को दिने उक्त विवाहमा नेपाल–भारतका लाखौँ श्रद्धालु सहभागी छन् ।

जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णव विवाह महोत्सवमा १० लाख श्रद्धालु सहभागी हुने दाबी गर्नुभयो । ‘कोरोनापछि पहिलोपटक आयोजना हुन लागेको विवाह महोत्सवमा देश-विदेशबाट १० लाख जति श्रद्धालु सहभागी हुने विश्वास गरेको छु’, उहाँले भन्नुभयो ।

बुधबार नगर दर्शनसँगै सुरु भएको साताव्यापी रामजानकी विवाह महोत्सवको दोस्रो दिन बिहीबार फूलबारी लीला भएको थियो भने शुक्रबार धनुष यज्ञ तथा शनिबार तिलकोत्सव आयोजना गरिएको थियो । महोत्सवको पाँचौँ दिन आइतबार सन्ध्या मटकोर गरिएको थियो भने आज अपराह्न सीता स्वयंवर तथा रात्रिमा राम र सीताबीच मिथिला परम्पराअनुसार विवाह हुनेछ । मंगलबार जन्तीहरूलाई भोज (रामकलेवा) खुवाएर महोत्सव सम्पन्न हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?