दोलखाका १० केन्द्रमा १५ गतेभित्र पुनः मतदान गर्ने आयोगको निर्णय, स्याङ्जाको विवादमा आयुक्तहरूबीच मतभेद

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ । बैतेश्वर, तामाकोसी, सैलुङ र मेलुङका १० वटा केन्द्रमा निर्वाचन निष्पक्ष नभएको प्रतिवेदन जाँचबुझ समितिले बुझाएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो । आयोगले १५ गतेभित्र मतदान गराउने भएको छ । जाँचबुझ समितिले सातवटा केन्द्रमा पुनः मतदान गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो । उता निर्वाचन अधिकृतको कार्यालयले भने आठवटा केन्द्रमा निर्वाचन निष्पक्ष नभएको रिपोर्ट आयोगलाई दिएको थियो । तर, आयोगले १० वटा केन्द्रमा मतदान गर्ने निर्णय गरेको हो ।

जाँचबुझ समितिले मतदान केन्द्र अनधिकृत कब्जा भएको निष्कर्ष निकालेको थियो । सहसचिव यज्ञप्रसाद भट्टराई नेतृत्वको समिति जाँचबुझका लागि दोलखा गएको थियो । समितिले निर्वाचन अधिकृत, राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र मतदातासँग छलफल गरेर टोलीले प्रतिवेदन तयार पारेको थियो ।

यसैबीच स्याङजा-२ को निर्वाचन विवादवारे अध्ययन गर्न स्थलगत टोली पठाउने कि नपठाउने भन्नेवारेमा निर्वाचन आयोगका पदाधिकारीहरुविच फरक मत देखिएको छ । गत बिहीबारको आयोगको बैठकमा सबै पदाधिकारीहरुको रायमा फरक मत राख्दै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले प्रक्रियासम्मत रुपमा नै कामकारबाही भएकाले स्थलगत टोली पठाउन आवश्यक नभएको भनी राय दिनुभएको हो । ‘चारजना आयुक्तले स्थलगत रुपमा टोली पठाएर प्रतिवेदन दिनुपर्छ भनी राय दिनुभयो, आयुक्त पौड्यालले सबै कामकारबाही प्रक्रियासम्मत रुपमा भएकाले टोली जान आवश्यक छैन भनी फरक मत राख्नुभएको हो’ आयोगस्रोतले भन्यो, ‘चारजना आयुक्तहरुको बहुमतको निर्णय कार्यान्वयन हुने भएकाले स्थलगत अध्ययन गर्न आयोगले टोली पठाइसकेको छ ।’ स्याङजा-२ मा कतिपय मतदानस्थलमा एमालेले बुथ क्याप्चर गरेको भनी कांग्रेसले उजुरी दिएको छ भने कांग्रेसले बुथ क्याप्चर गरेको भनी एमालेले पनि उजुरी दिएको छ । त्यो सूचना आयोगमा आएपछि आयोगले आन्तरिक रुपमा अध्ययन गरेको थियो । थप अध्ययनका लागि टोली पठाउने कि नपठाउने भन्नेवारेमा फरक मत देखिएको हो । उता बाजुरामा भने निर्वाचनमा धाँदली भएको भन्दै कांग्रेस र एमालेले उजुरी दिएपछि आयोगले स्थलगत अध्ययनको लागि जाँचबुझ टोली पठाइसकेको छ ।

पाँच स्थानको मतगणना जारी
मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ । आइतबार राति यो समाचार तयार पार्ने बेलासम्म १६५ क्षेत्रमध्ये १५७ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४२ स्थानमा जित हासिल गरेको छ । यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले चार स्थान जितेका छन् । नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा जित निकालेको छ । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक-एक सिट हासिल गरेका छन् भने स्वतन्त्र पाँच सिटमा विजयी भएका छन् । बाँकी रहेका क्षेत्रमध्ये दोलखा, स्याङ्जा-२ र बाजुराको मत गणना भने हुन बाँकी छ । पाँच क्षेत्रको मतगणना जारी छ । जसमा नेपाली कांग्रेसले दुई ठाउँमा अग्रता लिएको छ भने एमालेले दुई र जसपाले एक स्थानमा अग्रता लिएको छ ।

समानुपातिक मतगणना अन्तिमतिर
प्रतिनिधि सभातर्फको जारी मतगणनामा शनिबार साँझसम्म समानुपातिकतर्फ ९० लाखभन्दा बढी सदर मतको गणना भएको छ । शनिबार राति भएको मतगणनासम्म एमालेले २४ लाख ७७ हजार मत पाएको छ भने कांग्रेसले २३ हजार ५५ हजार मत पाएको छ ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार मत ल्याएको छ । चौंथो स्थानमा रहेकोे नेकपा (माओवादी केन्द्र) ले १० लाख ३६ हजार मत पाएको छ । पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ३७ हजार मत ल्याएको छ । छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले तीन लाख नौ हजार मत पाएको छ । नेकपा (एकीकृत समाजवादी) ले भने राष्ट्रिय पार्टी बन्न चाहिने तीन प्रतिशतको थ्रेस होल्ड अहिलेसम्म कटाउन सकेको छैन । अहिलेसम्म उसले दुई लाख ४१ हजार मत मात्र पाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?