भावी सत्ता समीकरणको गृहकार्य सुरु, एमाले अध्यक्ष ओली पर्ख र हेरको रणनीतिमा

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी छँदै राजनीतिक दलहरू सरकार गठनको गृहकार्यमा जुटेका छन् । विभिन्न तीन निर्वाचन क्षेत्रमा मतगणना सुरु नै हुन सकेको छैन । बाँकी निर्वाचन क्षेत्रको मतगणना भने अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले दोलखा, बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ बाहेक अन्य निर्वाचन क्षेत्रको मत परिणाम मंगलबारभित्र आइसक्ने दाबी गरेको छ । आइतबार सम्मको निर्वाचन परिणाम हेर्दा सत्तारूढ पाँच दलीय गठबन्धन सामान्य बहुमत उन्मुख देखिएको छ । तर, आगामी सरकार गठनको लागि सम्भावित समीकरणका विभिन्न अनुमान र विश्लेषण हुन थालेका छन् । सरकार निर्माणको लागि वर्तमान सत्ता गठबन्धन नै सामान्य बहुमततिर लम्कँदै गर्दा र सम्भावित भावी समीकरणबारे विभिन्न अनुमान भइरहेको बेला प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारूढ गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार देउवा र दाहालबीच पाँच दलीय गठबन्धनकै सरकार बनाउने तयारीस्वरूप छलफल भएको हो । प्रत्यक्ष र समानुपातिक रुझानबीच सत्ता गठबन्धनकै बहुमत पुग्ने निष्कर्षसहित गठबन्धनका शीर्ष दुई नेताबीच गठबन्धन बैठक बोलाउने सहमति भएको बताइएको छ ।

सत्ता गठबन्धनबीच देशभरी गठबन्धन भए पनि सोचेजस्तो मत ट्रान्सफर नभएको भन्दै गठबन्धनमा रहेका दल नेकपा एकीकृत समाजवादी र माओवादीका केही नेताले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । तर, गठबन्धनका कतिपय नेताहरूले भने सभापति देउवा र अध्यक्ष दाहालबीच शनिबार भएको छलफलपछि गठबन्धनको निरन्तरताबारे गरिएका आशंका हटेको दाबी गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शुक्रबार टेलिफोन वार्ता गर्नुभएको बताइएको छ । सभापति देउवा र अध्यक्ष दाहालबीच भएको छलफलबारे कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भन्नुभयो, ‘हामी सहजै बहुमतमा पुग्छौँ । सरकार निर्माणकै लागि अन्य दल जोडजाड गर्नुपर्ने देखिन्न ।

प्रधानमन्त्री र प्रचण्डजी बीचको छलफलमा पनि गठबन्धनसँगै जाने कुरा भएको छ । दायाँबायाँ हुने आशंका छैन ।’
कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डको मुख्य चासो भने पहिलो चरणमा को प्रधानमन्त्री बन्ने र राज्यशक्तिका मुख्य पदहरूको बाँडफाँट कसरी गर्ने भन्नेमा केन्द्रित रहेको गठबन्धन दलकै नेताहरूको जिकिर छ ।

गठबन्धनका दलहरूबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र प्रदेश मुख्यमन्त्री सहितका पदमा भागबण्डाको अनौपचारिक छलफल सुरु भएको कतिपय नेताहरूको जिकिर छ । कांग्रेसले प्रधानमन्त्री पद छाडे राष्ट्रपति र सभामुख पद लिने कांग्रेसका केही नेताको दाबी छ । त्यस्तै, माओवादी केन्द्रलाई प्रधानमन्त्री पद दिए गठबन्धनका अन्य दलहरूले कुन-कुन पद लिने भन्ने विषयले औपचारिक छलफलमा प्रवेश पाउन बाँकी रहेको नेताहरूको भनाइ छ ।

भावी सत्ता समीकरणको गृहकार्य भइरहेको बेला बाह्य चासोसमेत देखिन थालेको छ । प्रधानमन्त्री देउवासँग करिब एक घण्टा छलफल गरेर माओवादी अध्यक्ष दाहाल निस्किएलगत्तै भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । राजदूत श्रीवास्तवले देउवासँगको छलफलपछि माओवादी केन्द्रका अध्यक्ष दाहालसँग पनि छलफल गर्नुभएको छ । यता, सत्ता गठबन्धनबीच सरकार निर्माणको लागि गृहकार्य भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली पर्ख र हेरको स्थितिमा रहनुभएको छ । बिहीबार अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई टेलिफोन गरी सहकार्यमा जान सकिने सन्देश दिनुभएको छ ।

वरिष्ठ नेता पौडेलको दौडधुप तीव्र
भावी सरकारबारे निश्चित समीकरण नबन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने भावी प्रधानमन्त्रीको गृहकार्यमा जुट्नुभएको छ । तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थाल्नुभएको हो । पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरिसक्नु भएको छ ।

यस्तै, पौडेलले कांग्रेसका पूर्व-उपसभापति विमलेन्द्र निधिलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गर्नुभएको छ । नेताहरू सँगको भेटघाट र टेलिफोन कुराकानीमा पौडेलले भावी प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ । नेपाली कांग्रेसमा भावी प्रधानमन्त्रीका लागि सभापति देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला लगायतले प्रधानमन्त्रीको लागि आकांक्षा राखेका छन् । गठबन्धन र कांग्रेसका सांसदलाई आफ्नो पक्षमा उभ्याउन कांग्रेस नेताहरूको कसरत थालेका छन् । प्रधानमन्त्रीका लागि कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुपर्ने भएकाले कांग्रेसमा सांसदको जोडघटाउ सुरु भइसकेको छ ।

पाँच दलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाँण
भावी सत्ता समीकरणबारे विभिन्न अनुमान भइरहेको बेला गृहमन्त्री बालकृष्ण खाँणले अब पनि पाँच दलीय गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएको छ । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाँणले गठबन्धनको बहुमत पुग्ने दाबी गर्दै यस्तो जिकिर गर्नुभएको हो ।

गठबन्धन पाँच वर्षसम्म निरन्तर जाने र भावी प्रधानमन्त्री को बन्ने ? भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंगो लाग्ने दाबी गर्दै गृहमन्त्री खाँणले भन्नुभयो, ‘प्रधानमन्त्री को बन्ने ? भन्ने प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुंग्याउनुहुन्छ । पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’ रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहनुभएका खाँण राप्रपाका दीपक बोहरासँग पारजित हुनुभएको छ । आफूले निर्वाचनमा पराजय व्यहोरे पनि गठबन्धलाई टिकाइराख्न भरमग्दुर प्रयास गरिरहने गृहमन्त्री खाँणको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?