निर्वाचन परिणाम र कारणहरू

केही ठाउँमा मतगणना स्थगित भएर परिणाम आउन सकेको छैन । अहिलेसम्मको स्थितिमा अब परिणाम प्राप्त भइसकेको छ भन्दा फरक पर्दैन । किनभने केही स्थानको परिणाम बाँकी भए पनि त्यतिले पार्टीहरूको अबको स्थितिलाई विश्लेषण गर्न बाधा पार्दैन । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने नेकपा एमाले दोस्रो ठूलो दल बन्नपुगेको छ । तेस्रो ठूलो दल बनेर नेकपा माओवादी केन्द्रले आफ्नो साख जोगाएको छ । त्यसपछि मात्र अरू दलहरू देखापरेका छन् । यस पटकको निर्वाचनले पनि केही अप्रत्यासित परिणाम प्रस्तुत गरेको छ । दलहरू सबैले आफ्नो लक्षबमोजिकको स्थान प्राप्त गर्न नसकेको बताइरहेका छन् । यसमध्ये कतिले साँच्चि नै आफ्नो यथार्थ बताएका जस्तो देखिएको छ भने केहीले बाहिर देखावटी कुरा बताएका हुन् भन्ने देखिएको छ ।

सत्ता गठबन्धनमा रहेका पार्टीहरूले नै सोचेनुसारको स्थान प्राप्त गर्न सकेनन् । आफैँ सरकारमा बसेर निर्वाचन गराउँदा पनि गठबन्धनबाट बहुमत आउन नसक्नु आश्चर्यकै कुरा हो । हुन त २०७४ सालमा पनि सरकारमा रहेको नेपाली कांग्रेस निर्वाचनबाट दोस्रो स्थानमा धकेलिएको थियो तर त्यसबेला भएका जति कम्युनिष्ट पार्टीहरूको एकता थियो । अहिले भने सरकारी गठबन्धन बलियो छ तर सबैले प्राप्त गरेको संख्या जोड्दा पनि बहुमत पुगेन । सरकार बनाउन अन्यको केही स्थान लिन सक्नुपर्ने हुन्छ । नेकपा एमालेको अवस्था पनि यस्तै बन्नपुग्यो । दोस्रो ठूलो पार्टी त बन्यो तर सरकार बनाउन सक्ने सम्भावना उसको पनि छैन ।

त्यसैले सरकारी गठबन्धन कायम राखेर अरू केही स्वतन्त्र र साना पार्टीका सांसदहरूको समर्थन जुटाउन सक्ने हो भने चाहिँ सत्ता गठबन्धनले नै सजिलो गरी सरकार बनाउन सक्ने अवस्था देखिन आयो । एमालेभित्र विवादास्पद रूपमा चर्चामा आएका केही नेताहरू निर्वाचित बन्न सक्नुभएको छ । जग्गा खरिद प्रकरण, सेक्युरिटी प्रेस प्रकरण, छुचो अभ्यिव्यक्ति जस्ता अनेक कारणले चर्चामा रहेका व्यक्तिहरू विजयी बन्नुभएको छ । यसैगरी स्वतन्त्र रूपमा उम्मेदवारी दिएका प्रहरी प्रशानतर्फका पूर्वउच्चपदस्त व्यक्तिहरू तथा स्वतन्त्र रूपमा उम्मेदवार बनेका डाक्टर, इन्जिनियरहरूको कतै नामनिसाना आएन ।

अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका रूपमा उदाएको पार्टीले भने नसोचेको परिणाम प्राप्त गरेको छ । यो पार्टीको सफलतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । पहिलोपटक पाँच सिट जित्दा सरकारमा जानुपर्छ भनेर विजेता सांसदहरूले भन्दा पनि जानु हुँदैन भनेर प्रतिपक्षमा बसेर अर्को पटको निर्वाचनमा बहुमत ल्याएर सरकारमा जाने सिंगापुरका नेता लि क्वान युले सिंगापुरलाई विकसित राष्ट्र बनाएको उनको इतिहास विश्व चर्चित छ । नेपालमा यसपटक उदाएको र तुलनात्मक रूपमा सोचेभन्दा बढी सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्व गरिरहेका युवानेता रवि लामिछानेले के गर्नु होला त्यो अब छिटै देखिनेछ । तर, सरकार बनाउने प्रयासमा रहने पार्टीहरूले उहाँलाई सत्ताको कि प्वाइन्ट (साँचो) बनाउने प्रयास चाहिँ गर्ने नै छन् । लि क्वान यु बन्ने कि नबन्ने भन्ने चाहिँ उहाँको कुरा हो ।

यसैगरी यस निर्वाचनमा नेपाली कांग्रेसका सशक्त युवा नेता तथा गृहमन्त्री आफैँ पराजित बन्नुभएको छ । उहाँको पराजयको कारण अनेकौं हुन सक्लान् । श्रीमतीलाई समानुपातिको अग्र सूचीमा नाम राखिएको छ । यसैगरी प्रधानमन्त्री पत्नीको नाम पनि समानुपातिकको सूचीमा अगाडि छ । यसबाट नेताका श्रीमतीहरू जिताउन मत हालिँदैन भनेर आ–आफ्नो क्षेत्रका प्रत्यक्षलाई मात्र मत दिएर समानुपातिकमा मत नदिनेहरू धेरै पाइएको थियो । अग्रपंक्तिका कांग्रेस कार्यकर्ताबाटै यसो गरियो भने रूपन्देहीमा गृहमन्त्रीप्रतिको यस्तै बदलाको भावना अझै सशक्त रूपमा प्रकट भएन भन्न सकिँदैन । उहाँको पराजयको कारणमध्येको प्रमुख कारण यही हुनसक्छ ।

यस पटकको निर्वाचनमा राप्रपाले पनि आशातीत सफलता प्रप्त गरेको छ । गतवर्ष भएको पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि पराजित कमल थापा पार्टीबाट बाहिरिनु भएको थियो । अहिलेको पार्टीको उन्नतिको श्रेय लिङ्देनले पाइरहनु भएको छ । यसका साथै महिलाहरू कम विजयी बन्नु भएको छ तर सरकार बनाउने पार्टीबाट निर्वाचित बन्ने महिला नेतृहरू सरकारमा प्रतिनिधित्व गर्ने अवसरको भागी भने बन्नुभएको छ । अनेक उतारचढाव, सम्भाव्यताका बीच भएको निर्वाचन र आएको परिणामपछि अब सरकार बनाउने कार्यको थालनी होला । जसले सरकार बनाओस् तर त्यो एकल पार्टी सरकार बन्दैन, उक्त सरकार पूर्ववर्ती सरकारहरूकै जसरी परम्पराको निरन्तरताका लागि मात्र बन्नेभन्दा पनि देशहितमा केन्द्रित होस् भन्ने देशवासीको चाहना पूरा हुन सकोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?